१६ चैत्र २०८० शुक्रबार
अर्थ

बाढी–पहिरोबाट मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकका सहभागीहरु। तस्बिर: नागरिक

कर्णाली प्रदेश सरकारले बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। प्रदेश सरकारले बाढी–पहिरोका कारण घाइते भएकाहरुको निःशुल्क औषधि गर्ने निर्णय पनि गरेको छ। ‘बाढी–पहिरोका कारण मृत्यु भएका नागरिकका परिवारलाई विपद्जोखिम वीमाबाट दुई लाख रुपैयाँ तत्काल मृतकका परिवारलाई उपलब्ध गराउने निर्णय भएको छ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश विपद् व्यवस्थापन समितिको बैठकपछि भने, ‘यस्तै घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था पनि सरकारले गर्नेछ।’

प्रदेश सरकारले बाढी–पहिरोका कारण भएको मनवीय तथा भौतिक क्षतिको यकीन विवरण संकलन गर्न १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। ‘एक साताभित्र क्षतिको विवरण यकीन गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन निर्देशन दिएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार क्षतिपूर्ति र उपचारको व्यवस्था प्रदेश सरकारले गर्छ।’ बाढी–पहिरोबाट कर्णालीमा पछिल्लो एक सातामा आठ जनाले ज्यान गुमाउनुका साथै २८ जना घाइते भएका छन्।

प्रदेश सरकारले कर्णालीमा सवारी दुर्घटनाबाट मृत्यु भएका परिवारलाई पनि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। ‘मुगुलगायत कर्णाली प्रदेशमा सार्वजनिक सवारी दुर्घटनामा मृत्यु भएका प्रति मृतकका प्रति परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराइने छ,’ उनले भने, ‘यसको विवरण पनि पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।’ कर्णालीमा दशैंको अवधिमा सार्वजनिक सवारी साधन दुर्घटनामा परेर ४१ जनाको मृत्यु भएको तथ्याङ्क छ।

प्रदेश विपद् व्यस्थापन समितिको बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई बाढी–पहिरोका कारण क्षति पुगेका पुल, सडक, सिंचाई कुलो र अन्य भौतिक संरचनाहरुको विवरणहरु यकिन गरी तत्काल मर्मत संभार गरेर सञ्चालनमा ल्याउन सिफारिस गरेको छ। यस्तै जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई सिंचाई कुलो र साना जलविद्युत आयोजनाको विवरण संकलन र मर्मत–संभारको जिम्मा दिइएको छ भने सामाजिक विकास मन्त्रालयलाई विद्यालय र स्वास्थ्य चौकीका भौतिक संरचनाहरुको क्षति र मर्मतको जिम्मेवारी दिइएको छ।  

विपद् समितिको बैठकले कारोनाका कारण मृत्यु भएका २७६ जनाका परिवारलाई भुक्तानी गरिएको दुई करोड ८६ लाख रुपैयाँ अनुमोदन गर्नुका साथै वितरण गर्न बाँकी रहेकाहरुको हकमा देखिएको कैफियत उल्लेख गरेर सम्वन्धीत जिल्लामा पठाउने र जिल्लाबाटै कागजात यकिन गरेर मृतकका हकवालाको बैंक खातामा रकम पठाउने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।  

यस्तै विपद्का कारण कर्णालीका विभिन्न जिल्लाहरुमा रहेका पर्यटकहरुलाई यथाशीघ्र हवाई यातायातमार्फत सुरक्षित स्थानमा लैजानका लागि सरकारी तथा निजी वायुसेवा कम्पनीहरुलाई उडान संख्या थप्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: ५ कार्तिक २०७८ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App