२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आहा! क्या राम्रो महावु!

चारैतिर अग्लाअग्ला लेकहरु। विचमा आँखाभरी नअटाउने महावु पाटन। पाटन नजिकैको थुम्कोमाथि शिवको पूजा आराधनाका लागि विशाल ढुंगामाथि रहेको थान। सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मिक आस्थावान्हरु दुवै खाले पर्यटकहरुको आर्कषण केन्द्र रहेको सुन्दर महावु, एकपटक पुग्नैपर्ने ठाँउ हो।

उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दरताले मननै स्तब्ध पार्छ। आहा! क्या राम्रो महावु! सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ। अहिले महावुसम्म गाडी पुगेपछि निकै सहज भएको छ।  

महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाँउहरु सहज हेर्न सकिन्छ। मौसम सफा भएको बेला बर्दिया, टिकापुर र नेपालगन्जसम्म झिलीमिली बत्ती बलेको देख्न सकिने बुढापाकाहरु बताउँछन्। सदरमुकामबाट डेढ दिनको पैदल यात्रापछि पुगिन्छ, महावु। तर, अहिले गाडी पनि पुग्छ। यो पाटन साविकको कर्णाली अञ्चल छिर्ने प्रवेशद्वार पनि हो। भैसीखोर, भवानी हुँदै दैलेखको अन्तिम मानवबस्ती रहेको उनपाटा बास बसेर भोलिपल्ट विहान २ देखि ३ घण्टाको पैदल यात्रापछि पाटन पुगिन्छ। गाडीमा विहानै हिँडेर साँझ दैलेख बजार फर्कन सकिन्छ।

मनोरम दृश्य, लेकाली परिवेश, विभिन्न थरिका प्रजाति, भेषभुषा आदि अवलोकन गर्दै पैदल यात्रा गर्नेहरु थकानको अनुभूति नै गदैनन्। पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटकहरु साउन र भदौमा बढी हुन्छन्।

दशैं तिहारसम्म यहाँ विभिन्न जातका फूलहरु फूलेको देख्न सकिन्छ। कात्तिकपछि यहाँ हिउँ पर्छ। हिउँपर्ने बेला भारतको उत्तर प्रदेशसहित नेपालका बाँके, बदियाँ सुर्खेत लगातका स्थानबाट हिउँ खेल्ने पर्यटकहरुको भिड लाग्ने गर्दछ। साउन–भाद्रमा त्यहाँ पुग्नेहरु शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाएर ३० मिनेट ठाडो लेकमा पुगेर शिवलिङ्ग पूजा समेत गर्ने गर्दछन्।

महावु पाटन उक्लिएपछि चारैतिरबाट चिसो चिसो हावाको वेगले शरिर थररर काम्न थाल्छ। माथि लेकको ठूलाठूला ढुङ्गाको काखमा रहेको शिवलिङ्गको दर्शन गरी धर्मकर्म गर्नुका साथै पाटनका सुन्दर दृश्य समेत नियाल्छन्। पाटनमा फूलेका रंगीविरगी फूलहरुले यात्रा अवधीभरको थकान नै मेटिने गर्दछ।

पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अँध्यारो बनाइदिन्छ, त कहिले सिमसिमे पानीसँगै हावाको वेगले फूलहरु हल्लिरहेका हुन्छन्। छिनछिनमा मौसम बदलिरहँदा महावु पुग्ने प्रकृतिप्रेमी मस्त हुने गर्दछन्। लेकमै रहेको पोखरी र पोखरी आसपास ढकमक्क फूलेका फूलहरुले पर्यटकहरुलाई अझ आनन्दित तुल्याउँछ।

हिउँ खेल्न वा गर्मी छल्न आन्तरिक पर्यटक हरेक मौसममा महावु पुग्ने गर्दछन्। रक्षाबन्धनको दिन भने महावुमा विशेष रुपमा पूजा गरिन्छ। ७ महिना बढी हिउँ पर्ने महावु जिल्लाकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ।

महावुबाट दैलेखका सम्पूर्ण भुभागहरु एकएक गरी छुट्याएर देख्न सकिने भएर पनि यो क्षेत्र महत्वपूर्ण छ।

सवारी साधनको प्रयोग गरी दैलेख सदरमुकामबाट ६ घण्टामा महावु लेक पुग्न सकिन्छ। महावुको अर्को विशेषता साविकको कर्णाली अञ्चल प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग समेत हो। महावु भएर कर्णाली प्रवेश गर्दा ४८ किलोमिटर छोटो पर्ने इन्जिनियरहरुको भनाइ छ। तर, सरकारले यो नाका खोल्नका लागि बजेट व्यवस्थापन गरेको छैन। भविष्यलाई हेर्दा कर्णाली प्रवेश गर्ने पर्यटकहरु यहाँ रोक्न विशेष योजनाहरु ल्याउनुपर्ने दैलेखका पर्यटनकर्मी रुपक थापाको भनाइ छ। ‘कर्णाली जान निकै छोटो र सजिलो मार्ग भएकाले पर्यटकहरु बढ्नेछन्।’ पर्यटनकर्मी थापाले भने, ‘प्रचारप्रसार अभावमा मनोरम दृश्यहरु भएको पाटनहरु ओझेलमा परेका छन्।’ सरकारले महावु लेक हुँदै सडक स्तरउन्नति गरे महावु पुग्नमात्र नभई जुम्ला, मुगु निकै छोटो र सजिलो यात्रा हुने नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए।

प्रकाशित: ५ कार्तिक २०७८ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App