६ वैशाख २०८१ बिहीबार
अर्थ

वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन प्रभावित

मनाङमा पदयात्रा रहेका विदेशी बीचमै रोकिए

मुस्ताङको आउजाउ नै सकसपूर्ण

हिमाली जिल्ला मुस्ताङको जोमसोमबाट पोखरा फर्किदै गरेका आन्तरिक पर्यटक सवार गाडीको लाम। तस्बिर सौजन्यः विजय केसी

लगातारको वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा पुगेका पर्यटक हिमपातका कारण गन्तव्यमा पुग्न पाएका छैनन्। अर्काे हिमाली जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले पनि स्थलमार्गमा निकै नै सकस खेप्नु परेको छ।  

कोरोना भाइरस संक्रमण कमजोर भएको मौका पारेर भित्रिएका विदेशी पर्यटक गन्तव्यमै पुग्न पाएका छैनन्। त्यस्तै हिमाल आरोहणमा गएका केही विदेशीको आरोहण पनि रोकिएको छ। मनाङको तिलिचो ताल, थोराङला भञ्ज्याङ (५४१६मि) पार गर्न र हिमलुङ हिमाल (७,१२६मि) आरोहणमा गएका विदेशी बीचमै रोकिएका छन्।

तिलिचो र थोराङला भञ्ज्याङ पार गर्नेगरि मनाङबाट अघि बढेका विदेशी अझै गन्तव्यमा पुग्न सकेका छैनन्। हिमपातका कारण ती विदेशी बीचमै रोकिएका छन्। उनीहरुसँग सम्पर्क पनि हुन सकेको छैन। तर, पदमार्गका ठाउँठाउँमा होटल संचालनमा रहेकोले ती पर्यटक त्यतै रोकिएको अनुमान छ। मनाङको फू मा पर्ने हिमलुङ हिमाल आरोहणका लागि गएका विदेशी भने आरोहण पुरा नगरि फर्केको स्थानीयले बताएका छन्।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार  पछिल्लो एकसातामा ६३ जना विदेशी पर्यटकले माथिल्लो मनाङस्थित एक्याप कार्यालयमा इन्ट्रि गराएर तिलिचो र थोराङलाको गन्तव्य तय गरेका थिए। उनीहरुमध्ये २५ जना तिलिचो र ३८ जना थोराङलाका लागि हिडेका हुन्। तर, मनाङको गाउँ छाडेपछि उनीहरुसँग सम्पर्क भएको छैन।  

‘मािथल्लो भेगमा हिमपात भएकोले तिलिचो र थोराङला पार गर्नेगरि लागि हिडेका विदेशी बीचमा बसिरहेका छन्। ठाउँठाउँमा होटल भएकोले उनीहरु तिनै होटलमा बसेका छन,’ गौतमले भने, ‘तर, हामीसँग सम्पर्क भने भएको छैन। अप्ठेरोमा परेको कुनै जानकारी पनि छैन।’ हिमपात सुरु भएकोले बुधबारपछि विदेशीलाई मनाङबाट माथि जान रोक लगागइएको छ। मौसम अनुकुल नभएसम्म अघि नबढ्न आग्रह गरेको उनले बताए। तिलिचोको पदयात्रामा थुप्रै आन्तरिक पाहुना गएकोमा उनीहरु पनि रोकिएको उनले बताए। अन्नपूर्ण फेरो पदमार्गको थोराङला भञ्ज्याङ पार विदेशीहरु मुस्ताङ निस्क्छन्। गौतमका अनुसार समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा माथि हिउँ परेको छ।  

‘तिलिचोका लागि गएको टोली पनि फर्केको छैन। थोराङला पार गर्न हिडेको टोली पनि मुक्तिनाथ नपुगेसम्म सम्पर्क हुँदैन, उनीहरु सुरक्षित नै छन,’ उनले भने, ‘मौसम खराबीले सम्पर्क मात्र नभएको हो।’ थोराङला पार गर्ने धेरै पर्यटक थोराङफेँदी, हाइक्याम्प, लेदर र याकखर्कमा बस्छन्। तिलिचो जानेहरु खाङसारमा रोकिएको उनले बताए।  

मनाङकै नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरीङ लामाका अनुसार फू मा पर्ने हिमलुङ हिमाल आरोहणका लागि झन्डै ७० जना विदेशी र उनीहरुका सहयोगी सहित करिब डेढजय जना पुगेको भएपनि हिमपातले गर्दा ती आरोहीको आरोहण पुरा हुन पाएन। आरोहण पुरा नभएपछि कपितय विदेशी फर्केका छन्। ‘४÷५ वटा टिममा विदेशीको समुह हिमाल आरोहणमा आएको हो। तर, हिमपातका कारण उनीहरुले आरोहण पुरा गर्न पाएनन,’ लामाले भने, ‘बीचबाटै यात्रा पुरा नगरि फर्केका छन्। कतिपय अझै फर्किने क्रममा छन्।’

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले पनि सामान्य रुपमा पदयात्रा संचालन भएपनि यात्रा सहज नभएको बताए। उनका अनुसार मनाङको चामे पुग्नुअघि बेसीसहर चामे सडक खण्डमा मात्र झन्डै दर्जन ठाउँमा पहिरो झरेको छ। जेठ मध्य र असार पहिलो साताको वर्षाले क्षतविक्षत भएको मनाङको मोटरबाटो केहीदिन अघि मात्र खुलेको भएपनि तीनदिन अघिको वर्षाले पुन अवरुद्ध भएको छ।  

‘केही विदेशी पर्यटक आएका छन् । तर, उनीहरु गाइड सहित आएका छन्। उनीहरु उपयुक्त मौसमको पर्खाइमा छन,’ आचार्यले भने, ‘तिलिचो र थोराङला भञ्ज्याङ पार गर्न आएका हुन्। उनीहरु मौसम खुलेपछि अघि बढ्नेछन, अहिले बीचमै रोकिएका छन्।’ आन्तरिक पाहुना भने तिलिचो बेसक्याम्प, मनाङ, चामे, खाङसारबाटै फर्केका छन्। तर, विदेशी भने उपयुक्त मौसम पर्खेर बसेका छन्।’ ४२ सय मिटर माथिको क्षेत्रमा हिमपात भएकोले प्रशासनले मौसममा सुधार नआएसम्म अघि नबढ्न भनेको पनि प्रजिअ आचार्यले बताए।  

अर्काे हिमाली जिल्ला मुस्ताङको भ्रमणमा निस्केका पर्यटकले पनि सडकमार्गको यात्रामा सास्ती खेप्नुपरेको छ। पर्यटक समुहलाई लिएर मुस्ताङ घुमाउन पुगेका पर्यटन व्यवसायी विजय केसीका अनुसार बेनी–जोमसोम खण्डमा यात्रा निकै नै सकसपूर्ण छ। कच्चि मोटरबाटो भएकोले हिलाम्य भएको र ठाउँठाउँमा पहिरो झर्दा गाडी गुडाउन पनि समस्या रहेको उनले बताए। उनका अनुसार बेनी–जोमसोम खण्डको काभ्रेभीरमा सबैभन्दा बढी समस्या छ। त्यस्तै रुप्से छहरा नजिक पनि उस्तै सकस छ। मार्फाखोलमा पनि वहाव बढ्दा आउजाउ सहज नभएको उनले बताए।  

‘बाटोमा हिलो भएकोले गाडी चलाउनै मुस्किल छ। पानी पर्न रोकिएकोले केही सहज होला। नत्र आउजाउ निकै नै अप्ठेरो हो,’ उनले भने। उनका अनुसार मुस्ताङ जान चाहेका आन्तरिक पाहुना अझै ठुलो संख्यामा उकालो लागिरहेका छन्। निजी र साना गाडी रिजर्भ गरेर यात्रुहरु उकालो लागिरहेको उनले बताए।  एक्याप मुस्ताङका संरक्षण अधिकृत ऋषि बरालका अनुसार अहिले पनि आन्तरिक पाहुनाको मुस्ताङ उक्लिने क्रम जारी छ। दिनमै सयौंको संख्यामा पाहुना उक्लिरहेको उनले बताए। एकैपटक धेरै पाहुना उक्लिँदा होटलमा बास पाउन पनि मुस्किल रहेको उनले सुनाए।  

‘पाहुना सोचेभन्दा बढी आए। तर, बाटो सहज नहुँदा आउजाउ सकसपूर्ण रह्यो। अप्ठेरो बाटोका बाबजुत पाहुना आउन भने रोकिएनन,’ उनले भने, ‘ठाउँठाउँमा पहिरो र हिलाम्य बाटोका कारण यात्रा सहसपूर्ण भएपनि पाहुनाको आगमन ह्वात्तै बढ्न गयो।’ वर्षादले गर्दा बिग्रेको बाटोमा घन्टौ कुरेर यात्रा गर्नुपरेको उनले बताए। कतिपय पाहुना तोकिएको समयमा गन्तव्यमा पुग्न नपाएपछि बीचबाटै फर्केको स्थानीय व्यवसायीले बताएका छन्।  

प्रकाशित: ४ कार्तिक २०७८ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App