coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक

स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ। 

उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ। भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ। दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ। तर दुर्भाग्य, नौबिसे–नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ।  

विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन्। जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ। 

पाल्पाको रामपुरबाट काठमाडौं फर्किंदै गरेका यात्रु अनिल शर्माले सडक विभागले नियमित मर्मतसम्भार नगर्दा नौबिसे–नागढुंगा सडक खण्डमा मंगलबार चार घन्टा जाममा फसेको गुनासो गरे। ‘अरू बेला मर्मतसम्भार नगरे पनि दसैंको बेला त गरे हुन्थ्यो नि ! अहिले यात्रुहरू दैनिक चारदेखि १२ घन्टासम्म नौबिसे–नागढुंगाको जाममा फस्दै आइरहेका छन्,’ उनले भने, ‘राजधानी भित्रिने मुख्य नाकाकै यस्तो हालत छ भने अन्य ठाउँको सडकको हालत कस्तो होला ?’ शर्माले सरकारलाई सडकबाट कर मात्रै उठाउने नभई नियमित मर्मतसम्भार गर्न समेत सुझाए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ठाकुर सापकोटा नौबिसे–नागढुंगा खण्ड भत्किएर जीर्ण भएकाले पिक आवरमा सवारी साधन अत्याधिक जाममा पर्ने बताउँछन्। ‘अहिले झ्याप्लेखोला, भूतघर, खत्रीपौवा र सुरुङमार्ग वरपरको सडक भत्किएर बेहाल छ,’ उनले भने, ‘एकातर्फ उकालो सडक र अर्काेतर्फ खाल्डाखुल्डी भएपछि त जाम नहुने कुरै भएन। 

सडक विभाग तथा डिभिजन सडक कार्यालयलाई मर्मतसम्भार गर्न बारम्बार अनुरोध गरे पनि बेवास्था गरेकाले अहिले सवारी वारपार गर्न समस्या भइरहेको छ ।’  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार राति १२ बजेतिर ग्यास बोेकेको ट्रक दुर्घटना हुँदा पनि ट्राफिक जाम अझै बढेको थियो। महाशाखाका अनुसार गत असोज ११ गतदेखि कात्तिक ३ गते बिहानसम्म काठमाडौं उपत्यकाका चारवटै नाकाबाट नौ लाख ९५ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्। 

राजधानीका चारवटा नाकाबाट यात्रु भित्रिने र बाहिरिने गर्छन्। स्थलमार्गका सबैभन्दा धेरै यात्रु नागढु्ंगा नाकाबाट आउजाउ गर्छन्। अरू नाका भक्तपुरको जगाती, फर्पिङ र मुड्खु हुन्।  

सोही अवधिमा काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या पनि ८ लाख १४ हजार पुगेको छ। अहिले काठमाडौंबाट बाहिरिनेभन्दा भित्रिने सवारी साधन तथा यात्रुको संख्या बढिरहेको छ। दसैंको टिकाअगाडि बाहिरिनेको संख्या धेरै थियो भने अहिले भित्रिनेको संख्या बढिरहेको छ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जिव शर्मा दास सडक विभाग तथा डिभिजन सडक कार्यालयले नौबिसे–नागढुंगा सडक नियमित मर्मतसम्भार नगर्दा जाम बढ्दै गइरहेको बताउँछन्। ‘सडक विभागले नियमित सडक मर्मतसम्भार नगर्दा यो खण्डमा जताततै भत्किएर खाल्डाखुल्डी छ,’ उनले भने, ‘निर्माणाधीन सुरुङमार्ग आसपासको सडक भत्किएर लथालिंग भएर पनि यात्रुले अनाहकमा दुई–चार घन्टा जाम खेपिरहेका छन् ।’  

सडक विभागका उपमहानिर्देशक शिव नेपालले दसैं आसपास पनि वर्षा भएकाले नौबिसे–नागढुंगा सडक खण्ड नियमित मर्मतसम्भार गर्न नसकेको बताए। ‘यो खण्ड दसैंअघि पनि मर्मतसम्भार गर्न खोजेका थियौं। तर निरन्तर पानी परेकाले सकेनौं। 

दसैंपछि फेरि पानी परेकाले मर्मतसम्भार गर्न सकेका छैनौं ।’ उपमहानिर्देशक नेपालले पहिरो खसेको ठाउँमा तत्कालै पहिरो हटाउने काम गरे पनि खाल्डाखुल्डी परेको ठाउँमा मर्मतसम्भार गर्न नसकेको स्वीकारे ।

‘सुरुङमार्ग वरपर पहिरो खसेर सडक भत्किएको छ। निरन्तर वर्षा भएकाले मर्मतसम्भार गर्न सकेका छैनौं,’ उनले भने, ‘पानी रोकिएसँगै मर्मतसम्भारको काम अघि बढाउनेछौं ।’ महाशाखाले हाल यो सडक खण्डमा दुई दर्जनभन्दा धेरै ट्राफिक प्रहरी खटाइरहेको छ। 

प्रकाशित: ४ कार्तिक २०७८ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App