८ वैशाख २०८१ शनिबार
अर्थ

हावाहुरी र वर्षाले करोडौंको धान बाली क्षति

पछिल्लो २४ घण्टाको लगातार हावाहुरी र वर्षाले उदयपुरमा करोडौंको धानबालीमा क्षति पुगेको छ। सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म वर्षासँगै चलेको लगातारको चर्को हावाहुरीले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धानबाली ध्वस्त पारेको छ।

सोमबार मध्यरातिदेखि लगातार मंगलबार दिउँसोसम्म झण्डै २० घण्टा चलेको हावाहुरी र वर्षाले सबभन्दा बढी क्षति कृषकलाई पुगेको छ। त्यस्तै मंगलबार दिउँसोदेखि हावाहुरी रोकिए पनि वुधबार विहानसम्म परेको निरन्तर वर्षाले.पनि कृषि उपजलाई नै क्षति पुगेको छ। हावाहुरी र वर्षाका कारण पाक्न लागेको धान पूरै ढलेको छ भने पाकेर काटेको धान उकेर्न नपाउँदै खेतमै नष्ट भएको छ।

पाक्न लागेको बेला चलेको हावाहुरीले परालसँगै लडाएर धान खेत सोत्तर बनाएको बेला वर्षा पनि निरन्तर थपिँदा खेतमा जमेको पानीमा परेर लडेको धान सबै नष्ट हुन पुगेको कृषकहरुको गुनासो छ।

हावाहुरीले धान खेतमा धेरै क्षति पुगेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। केन्द्रका अनुसार हावाहुरीले काटेर आलीमा सुकाएको र पाक्न लागेको धानलाई बढी क्षति गरेको छ भने पसाएर फुल्दै गरेको छिमलको धान पनि धेरै मात्रामा नोक्शान गरेको छ। उदयपुरका किसानले ३ छिमलमा धान लगाएको पाइएको ज्ञान केन्द्रले जनाएको छ। पहिलो छिमलको धान पाकेर किसानले काट्दै उकेरिरहेको अवस्था छ भने दोस्रो पाक्न लागेको छ। त्यस्तै तेस्रो छिमलको धान पसाउँदै गरेको अवस्थामा छ। यसरी ३ छिमलका धान सबैलाई यो हुरी बतास र वर्षाले व्यापक क्षति पुगेर किसानलाई पार्नु मर्का पारेको छ।

किसानले वर्षभरी खानका लागि लगाएको धानबाली हावाहुरी र वर्षाले क्षति गरेपछि आउँदो वर्ष चर्को अनिकालको संभावना बढेकोमा चिन्तित बनेका छन्। केन्द्रका अनुसार विगत केही वर्षयता धानको उत्पादन बढ्दै गएको थियो। तर, यसपाली प्राकृतिक आक्रमणमा परेर उत्पादन घट्ने निश्चित भएको छ।

तराई र भित्रिमधेस त्रियुगा क्षेत्र धानको भण्डार मानिने गरिएको छ। त्रियुगा नगरपालिकाको सदरमुकाम गाईघाट बजारबाहेक आसपासमा अझै पनि लाखौं बिगाहा जमिनमा धान खेती लगाइने गरिएको छ। वडा नं. १ र २ को जोगीदहदेखि ३ को मोतिगडा, ४ बगाहा, देउरी, ५ श्रीपुर, दमौटी, ६ जलजले, मोहनपुर, ७ चुहाडे, कालीखोला, होक्से, ८ बागचौरी, खाटमन्दिर, भान्टाबारी, ९ रातमाटे, गहिरुन, राजाबास, उत्तराहीटोल र १३ नं. असारी, लक्ष्मीपुर, बहेडवा धान उत्पादन केन्द्र हो। १० को बोक्से, ११ र १२ नं. गाईघाटमा आवादी बाक्लिएको हुनाले खेती कम हुने गरेको छ भने पहाड र खोँच भए पनि १४, १५ र १६ नं. वडामा पनि उत्तिकै धान बाली फस्टाउने गरेको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार २४ घण्टासम्म चलेको बेमौसमी हावाहुरी र ३६ घण्टा लगातारको वर्षाले सबभन्दा बढी धान बालीमा क्षति पुगेको छ। हावाहुरीले जताततै धानबाली नष्ट पारेको र वर्षाले डुबान गर्दा किसानलाई नै थप क्षति पुगेको खबर आएको प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले बताए।

प्रकाशित: ३ कार्तिक २०७८ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App