१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदेश नंं. १ मा धानः ठाडो धान देख्न पाईँदैन

मोरङ सुन्दरहरैँचा वडा नं. ७ का मणीराम दाहालको खेतमा लगाएको धान हावाहुरीले कुनै पनि ठाडो छैन्। हावाहुरीसँगै सोमबारदेखि वर्षाले गर्दा लडेको धान पूरै पानीले डुबाएको छ। ‘पसाउन लागेको धान एकातिर लडेर सखाप छ, अर्कातिर लडेपछि पूरै पानीमा डुबेको छ,’ मणीरामले भने, ‘यसपटक धान त बर्बाद नै भयो।’  

उनका अनुसार केही दिन अरु वर्षा हुने भए धान होइन, पराल पनि कुहिने अवस्थामा पुग्नेछ। धान उत्पादनको उर्वरभूमि मानिएको पूर्वी तराईका जिल्लामा यस वर्ष धान उत्पादनले नयाँ रेकर्ड राख्ने अनुमान गरिएको थियो। तर, अगुवा लगाएको धान भित्र्याउने र पछि लगाएको धान पसाउने बेलामा अविरल वर्षाले गर्दा किसानले नसोचेको ठूलो क्षति बेर्हाेनु परेको छ।  

‘जताततै धान लडेको त्यसमाथि खेतमा जलमग्न पानी हुँदा धान नै देखिँदैन,’ रतुवामाई वडा नं. ६ की गीता कार्कीले भनिन्, ‘धान पाक्ने सिजनमा यस्तो वर्षा भएको त अहिलेसम्म कहिल्यै याद थिएन्।’  

कृषि ज्ञान केन्द्रका सुनसरी–मोरङका प्रमुख नुनुलाल उरावका अनुसार एक त हावाहुरीले लडाएपछि दाना कम लाग्ने त्यसमाथि पानीले पुरै डुबाएकाले गर्दा ठूलो नोक्सानी भएकाले गर्दा क्षतिको विवरण संकलन जारी राखिएको छ। ‘अहिले किसानले अगुवा लगाएको धान बालीमध्ये १० देखि १२ प्रतिशत त नोक्सान गरेको छ। पसाउन लागेको धानको पनि क्षति भएको छ।’

झापामा हावापानीले झन्डै १३ हजार हेक्टरमा लगाएको अगुवा धानबालीमा नोक्सानी हुँदा ६० हजार मेट्रिक टनभन्दा बढी उत्पादनमा कमी आउने अनुमान गरिएको छ। झापामा यो वर्ष ८७ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो।  

प्रदेश नं. १ अन्तर्गत पर्ने तराईंका जिल्लामा सुनसरी, मोरङ र झापा धानका लागि पकेट क्षेत्र मानिन्छ। त्यसमा पनि सुनसरी र मोरङ सिचाईंको सुविधा भएको क्षेत्र मानिन्छ।  

प्रदेश नं. १ का १४ जिल्लामा यो वर्ष तीन लाख ३० हजार ८२९ हेक्टर खेतीयोग्य जमीनमध्ये तीन लाख ३६ हजार २१ हेक्टरमा धान खेती लगाइएको थियो। प्रदेश कृषि निर्देशनालयका अधिकृत नेत्रमणी काफ्लेले सवै जिल्लामा धानमा पुगेको क्षति उपलब्ध गराउन मंगलबार मात्र सकुर्लर गरिएको छ। प्रदेश नं. १ मा अघिल्लो वर्ष तीन लाख ३२ हजार ९१७ हेक्टरमा धान लगाउँदा १३ लाख ११ हजार २४५ मेट्रिक टन धान उत्पादन भएको थियो। 

प्रकाशित: २ कार्तिक २०७८ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App