१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

धुलिखेल नगर ‘खाद्य हरियाली सहर’

सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ। यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबिच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ।  

उक्त कार्यक्रमका लागि नगरप्रमुख अशोककुमार ब्यान्जु र नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्। ‘यो कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगो रूपमा वैज्ञानिक ढंगबाट नगर सफा र सुन्दर हुनेछ,’ नगरप्रमुख ब्यान्जुले भने।  

वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रूपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको उपकुलपति श्रेष्ठले बताए। उनले भने, ‘यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनेछ।’ उनका अनुसार यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ।  

सफा र सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने ब्यान्जुले जानकारी दिए। उनका अनुसार नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउनेछ।  

कार्यक्रमअन्तर्गत प्रारम्भिक चरणमा नगरद्वारा स्वच्छ ऊर्जा प्रवर्द्धन र विद्युतीय सामग्रीको प्रयोग गरी कार्बन उत्सर्जनलाई शून्य बनाउने उद्देश्यले नगरको ६ नम्बर वडास्थित खड्गी, कपाली र दलित समुदायका परिवारलाई प्रोत्साहनस्वरूप इन्डक्सन चुलो वितरण गरिएको छ। यसबाट नसर्ने रोग तथा दमलगायत निमोनियाँ रोग नियन्त्रण तथा श्वासप्रश्वाससम्बन्धी रोग नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।  

धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाैं नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको छ। जसले स्वस्थ सहर धुलिखेल बन्ने एउटा प्रमुख आधार तय गरेको बताइन्छ। आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो। उक्त सूचीमा अस्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलसमेत सूचीकृत छन्।  

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलो पटक ‘जीवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो। सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको नगरप्रमुख ब्यान्जुले बताए। ‘धुलिखेल संसारका ठूला र सफा सहरमा सूचीकृत हुनु गौरवको विषय हो,’ उनले भने। उनका अनुसार जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथ अघि बढाएको थियो।  

नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाैं नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आउँदा दिनमा नगरद्वारा जीवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ।

प्रकाशित: २६ आश्विन २०७८ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App