१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बजार भीडभाड, किनबेच छैन

कोरोना संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाडवाडले केही चमक थपेको छ। तर पनि महँगी बढ्दा सोचेजस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ। महँगी अचाक्ली हुँदा सर्वसाधारण मारमा छन्। हरेक चिजको भाउ बढेको सर्वसाधारणको गुनासो छ।

मूल्य बढ्दा सोचेजस्तो कमाइ हुन नसकेको व्यवसायी बताउँछन्। चाडवाडले यहाँको मुख्य व्यापारिक क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगामा उपभोक्ताको भीड लागे पनि कारोबार नबढेको उनीहरूको गुनासो छ।

कोरोना संक्रमण कम भएको मौकामा सर्वसाधारण बजार निस्किए पनि वस्तुको मूल्य बढ्दा समस्या भएको उनीहरूले बताए। अचेल बजारमा जताततै भीडभाड देखिन्छ। भीडले गर्दा पैदल यात्रामा समेत अवरोध हुने गरेको छ। व्यवसायी भने बाहिर भीड देखिए पनि व्यवसाय सोचेजति हुन नसकेको बताउँछन्।

‘बाहिर भीड देखिन्छ। तर सोचेझैं कारोबार भएको छैन,’ बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशव खत्रीले भने। उनका अनुसार कोरोनाले ग्राहकको आर्थिक अवस्था कमजोर बनाएकाले चाहेर पनि सामान किन्न सकेका छैनन्।  

‘बाहिर फुटपाथमा त साह्रै भीड देखिन्छ। तर सामानको मूल्य बढेकोले होला, ग्राहकले किनेका छैनन्,’ खत्रीले भने, ‘सहजै सामान पाइएको पनि छैन। नाका खुल्न ढिलाइ हुँदा चाहेको सामान बेलैमा ल्याउन सकिएन।’

उनका अनुसार बजारमा फेन्सी सामानको मूल्य १५ देखि २५ प्रतिशतसम्म बढेको छ। ग्राहकको क्रयशक्ति कमजोर भएको बेला सामानको मूल्य बढ्दा कारोबारमा असर पर्ने उनले सुनाए। ‘आस गर्नलायक समय बनेको छ। तर व्यवसाय भने सोचेझैं हुन सकेको छैन,’ उनले भने, ‘कोरोना कमजोर भएकोले आशावादी छौं।’

उपभोक्ता पनि महँगी बढ्दा सामान किन्न सक्ने अवस्था नरहेको बताउँछन्। ‘सामान्य सामानको मूल्य अरू बेलाभन्दा निकै नै महँगो भएको छ,’ बिना सुवेदीले भनिन्, ‘अरू बेलाभन्दा महँगो भएपछि किन्ने आँट आएन।’ बजारमा सामानको मूल्य सोचभन्दा बढी महँगो परेपछि किन्न सक्ने अवस्था नरहेको उनले बताइन्।

फेन्सी व्यवसायी संघ कास्कीका अध्यक्ष राजु पौडेल पनि व्यापार सोचेजस्तो हुन नसकेको बताउँछन्। बजारमा चहलपहल बढे पनि व्यवसाय सोचे झैं हुन नसकेको उनले बताए। ‘कोरोनाको त्रास केही कम भएकोले पोहोरभन्दा अहिले व्यापार राम्रो छ। लकडाउन खुकुलो भएकोले पनि व्यवसायमा सुधारको आशा देखिएको छ,’ उनले भने, ‘तर अझै अपेक्षा अनुसार व्यवसाय भएको छैन।’  

उनका अनुसार चाडको बेलामा पनि व्यवसाय कम हुनु नागरिकको आर्थिक अवस्था कमजोर भएर हो। ‘उपभोक्ताले अत्यावश्यक सामग्री बाहेक अरू चिज किन्न सकेका छैनन्। उपभोक्ताको आम्दानी कोरोनाले घटाएको छ,’ उनले भने।

उनको अनुमानमा पछिल्लो समय फेन्सी व्यवसायमा नयाँ व्यवसायी थपिएका छन्। अरू क्षेत्रमा व्यवसाय गरिरहेका कतिपय व्यक्ति कोरोनाले बिस्थापित भएपछि फेन्सीमा आएका छन्। त्यसले गर्दा फेन्सी व्यवसायमा व्यवसायीबीच प्रतिस्पर्धा बढिरहेको छ। नयाँ व्यवसायी थपिएसँगै बजार पनि फराकिलो बन्दै गएको उनले बताए।

त्यस्तै अनलाइन सपिङका कारण पनि केही कारोबार खुम्चिएको छ।आम्दानी बढी हुनेले अहिले अनलाइन किनमेल गर्न थाल्दा पनि बजारको कारोबार केही कम हुन थालेको उनले बताए। ‘अहिले फुटपाथमा हेर्दा भीडभाड छ। तर आर्थिक कारोबार भने सोचे झैं हुन सकेको छैन,’ पौडेलले भने। उनका अनुसार चाडपर्वको मुखमा सामानको मूल्य पनि बढेको छ। 

तीजताकाभन्दा अहिले सामानको मूल्य १० प्रतिशतले बढिसकेको उनले बताए। ‘हुन त पर्वका बेला सामानको मूल्य बढ्ने पहिलेदेखिकै चलन हो। तर अहिले आम्दानी घटेको बेला परेकोले कारोबार फस्टाउन सकेको छैन,’ पौडेलले भने। 

प्रकाशित: २५ आश्विन २०७८ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App