१३ मंसिर २०७८ सोमबार
अर्थ

अमेरिका–युरोप मोहमा युवाः न विदेश, न सम्पत्ति

केही वर्षअघिसम्म रुकुमका मानबहादुर ओलीलाई दैनिक गुजारा चलाउन खासै समस्या थिएन। गाउँमा जग्गाजमिन पुग्नेजति थियो। मेहनत गरे पुग्नेजति उत्पादन सहजै लिन सकिन्थ्यो। तर उनको चाहना यतिमै रोकिएन। साथीको लहलहैमा लागेका उनलाई अमेरिकाको प्रलोभनले सतायो। र, यतिखेर त्यही प्रलोभनका कारण उनी घर न घाटका भएका छन्। अमेरिका जान भन्दै पुर्ख्याैली सम्पत्ति बेचेर दलाललाई ४० लाख रूपैयाँ बुझाएका उनको तीन वर्ष बित्दासमेत विदेश यात्रा सफल हुन सकेको छैन।

स्नातकसम्म अध्ययन गरेका ३० वर्षीय ओलीलाई यतिखेर दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या थपिएको छ। ‘दलाललाई ४० लाख रूपैयाँ बुझाए सहजै अमेरिका जान पाइने आश्वासन पाएपछि भएको सबै पुख्र्यौली सम्पत्ति बेचें,’ उनले नागरिकसँग भने, ‘तर अहिलेसम्म मेरो अमेरिका यात्रा सफल हुन नसक्दा घर न घाटको भएको छु।’

उनलाई दलालले अमेरिका पठाउन भन्दै मेक्सिकोसम्म पुर्‍याएका पनि हुन्। मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा सुरक्षाकर्मीले पक्राउ गरेपछि उनी अघिल्लो वर्ष नेपाल फर्काइए। ‘केही घन्टापछि अमेरिका छिर्ने सूचना आइरहेका बेला सुरक्षाकर्मीले पक्राउ गरेर जेलमा हाले,’ उनले भने, ‘करिब ६ महिना जेल बसेपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा नेपाल फर्कन पाएँ।’ उनी अन्य तीन नेपालीसहित दुई पाकिस्तानी र बाँकी बंगाली गरी ११ जना सँगै पक्राउ परेको बताउँछन्। नेपाल फर्केपछि मात्र आफ्नो र परिवारको बिचल्ली हुन थालेको उनको भनाइ छ। ‘जुन व्यक्तिले रकम लिएको थियो, त्यो नेपालमा छैन,’ उनले भने, ‘फोनबाट रकम फिर्ता माग्दा अनेक कुरा गर्छ, रकम फिर्ता माग्दा अलमल गरिरहेको छ।’

यतिखेर उनी डुबेको पैसा कसरी असुल गर्ने भन्ने समस्यामा परेको बताउँछन्। अमेरिकाको आकर्षणमा परी सम्पत्ति गुमाउने उनी एक्ला भने होइनन्। वैदेशिक रोजगार विभागका अनुसार केही वर्षअघिसम्म खाडी मुलुक र मलेसियाको नाममा फस्टाएको ठगी धन्दा यतिखेर अमेरिका र युरोपको नाममा मौलाइरहेको छ।

बेरोजगार युवालाई अनेक प्रलोभन देखाएर ठूलो रकम असुली गर्ने अनि अवैध र जोखिमयुक्त बाटो हुँदै युरोप, अमेरिका पुर्‍याउने गिरोह सक्रिय रहेको विभागका कर्मचारी बताउँछन्।

‘युरोप र अमेरिका पठाउने नाममा भइरहेको ठगी रोक्न सरकारले विशेष अभियान चाल्न ढिलो गर्ने हो भने यसबाट विकराल समस्या आउने देखिन्छ,’ विभागका ती कर्मचारीले भने, ‘यस्तो ठगी रोक्न प्रहरी, प्रशासनको भूमिका बढी हुन्छ।’

अमेरिका र युरोप रोजगारीको प्रलोभनमा सहर भन्दा गाउँघरतिरका युवा बढी पर्ने गरेको पाइएको छ। खासगरी जो आफ्नै क्षमताले अमेरिका र युरोप पुग्ने हैसियत राख्दैनन्, उनीहरू नै अवैध बाटोको खोजीमा पैसा खर्चिन्छन्। ‘अवैध बाटो समाएकामध्ये कतिपय अमेरिका र युरोप पुग्न सफल पनि भएका छन्,’ ती कर्मचारीले भने, ‘दलालले तिनै केहीलाई देखाएर अन्य धेरै युवालाई प्रलोभनमा पारिरहेका छन्।’

अमेरिका र युरोप जानेहरूले कम्तीमा ४० देखि ६० लाख रूपैयाँ दलाललाई बुझाउने गरेको पाइएको छ। ‘गाउँघरमा बस्नेले त्यति रकम जुटाउँदा पुर्ख्याैली सम्पत्ति बेच्नै पर्ने हुन्छ,’ ती कर्मचारीले भने, ‘बीचबाटोबाट फर्किएकाहरू घरबारविहीन हुन्छन्।’  

रुकुमका ओलीले अघिल्लो साता मात्र रुकुमबाटै ४० जनाले अमेरिका जान अवैध बाटो समाएको बताए। ‘अमेरिका जान लागेकालाई मैले आफ्नो पीडा सुनाएँ,’ उनले भने, ‘दलालले सबैलाई अमेरिकाको राम्रो पक्षको मात्रै सपना देखाएकाले कोही पनि रोकिएनन्।’ दलालले उनीहरूलाई ६ महिनादेखि एक वर्षसम्मको अवधिमा अमेरिका पुर्‍याउने बताएको उनको भनाइ छ। उनका अनुसार एक वर्षको अवधिमा रुकुमका विभिन्न गाउँबाट दुई सय बढी युवाले अवैध बाटोबाट अमेरिका जान भन्दै दलाललाई रकम दिएका र तीमध्ये केही अमेरिका पुगे पनि अधिकांश बीचबाटोमै रहेको उनले बताए।

वैदेशिक रोजगारीको क्रममा हुने ठगीमा न्याय प्रदान गर्न स्थापना गरिएको वैदेशिक रोजगार न्यायाधीकरणकी निमित्त रजिस्ट्रार कृष्णशोभा सुवाल पनि केही समययता अमेरिका र युरोप रोजगारीको नाममा ठगी बढेको बताउँछिन्। ‘ठगीमा पर्नेहरू धेरैजसो स्नातक तहसम्म अध्ययन गरेका र ठग्नेहरू चिनाजानीका व्यक्ति हुने गरेको पाइएको छ,’ उनले भनिन्, ‘एउटै व्यक्तिका विरुद्ध नौवटासम्म मुद्दा परेको पाइएको छ।’

वैदेशिक रोजगारीको क्रममा ठगीलगायतका समस्यामा परेकालाई निः शुल्क कानुनी सहायता प्रदान गर्दै आएका मानवअधिकारका लागि जनमञ्चका सल्लाहकार सोम लुइँटेल कोरोना महामारी सुरु भएपछि ठगिने क्रम तीन–चार गुणाले वृद्धि भएको बताउँछन्। ‘कोरोना महामारीको अवधिमा कसैले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर त कसैले विदेशमा मृत्यु भएकाको शव झिकाइदिन्छु भनेर समेत ठगी गरेको तथ्य फेला परेको छ,’ उनले भने, ‘ठगी नियन्त्रण गर्न अब स्थानीय तह नै बढी सक्रिय हुनुपर्ने देखिएको छ किनकि स्थानीय तहमा प्रत्यक्ष चिनजान बढी हुन्छ।’ उनले ठगी नियन्त्रणका लागि बनाइएका संरचना राम्रा भए पनि सफल रूपमा कार्यान्वयन हुन नसक्नुमा फितलो अनुमगन उत्तिकै जिम्मेवार रहेको बताए।  

अर्बौंको ठगी, न्यून क्षतिपूर्ति

वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँमात्रै क्षतिपूर्तिबापत पीडितले पाउने गर्छन्। यस्तो क्षतिपूर्ति पनि लामो दौडधुप र अनेक प्रयासपछि पीडितको हात लाग्ने गरेको छ।

यस अवधिमा विभागमा ठगीका नौ हजारभन्दा बढी उजुरी परेका छन्। विभागबाहेक कतिपय पीडितले प्रहरी र स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा समेत ठगीको उजुरी दिने गर्छन्। सबैतिरको उजुरीलाई आधार मान्ने हो भने वैदेशिक रोजगारीको नाममा निकै ठूलो ठगी भएको हुनसक्ने धेरैको अनुमान छ।

आर्थिक वर्ष २०७२/७३ मा विभागमा एक हजार ६ सय ठगीका मुद्दा दायर भएका थिए। म्यानपावर र दलालले ६९ करोड ५० लाख रूपैयाँ ठगी गरेको पीडितले दाबी गरेका थिए। ती उजुरीमा विभागले १० करोड ३६ लाख रूपैयाँ क्षतिपूर्ति दिलाइएको थियो। त्यस्तै २०७३/७४ मा दुई हजार चार सय उजुरी गर्दै पीडितहरूले ७५ करोड ७८ लाख रूपैयाँ माग दाबी गरेका थिए। जसमा विभागले चार सय ४६ मुद्दा फर्छ्याैट गरी पीडितलाई १६ करोड रूपैयाँ क्षतिपूर्ति भराइदिएको थियो।  

आर्थिक वर्ष २०७४/७५ मा म्यानपावर र दलालले ठगी गरेको भन्दै पीडितले दुई हजार एक सय उजुरी दिँदै एक अर्ब ५२ करोड रूपैयाँ माग दाबी गरेका थिए। ती माग दाबीमा विभागले २० करोड १९ लाख रूपैयाँ क्षतिपूर्ति दिलाएको थियो। त्यस्तै, आव २०७५/७६ मा विभागमा पीडितहरूले एक हजार तीन सय उजुरी दिँदै साढे २९ करोड रूपैयाँ माग दाबी गरेका थिए। त्यस वर्ष विभागले पीडितलाई नौ करोड ५९ लाख रूपैयाँ क्षतिपूर्ति दिलाएको थियो। आव २०७६/७७ मा नौ सय उजुरीमा पीडितहरूले ३४ करोड ६७ लाख रूपैयाँ माग दाबी गरेकोमा विभागले पाँच करोड रूपैयाँ क्षतिपूर्ति दिलाउन सकेको थियो।  

गत आर्थिक वर्ष २०७७/७८ मा सात सय ८० वटा उजुरी गर्दै पीडितले एक अर्ब ३२ करोड रूपैयाँ माग दाबी गरेका थिए। तर विभागले एक सय २० उजुरीलाई टुंगोमा पुर्‍याई पीडितलाई पौने २२ करोड रूपैयाँ क्षतिपूर्ति दिलाएको जनाएको छ।

कतिपय विज्ञ वैदेशिक रोजगारीमा हुने ठगीको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिँदा अहिले भइरहेको ठगीमा कमी आउन सक्ने बताउँछन्। हाल वैदेशिक रोजगारीमा हुने ठगीमा अनुसन्धानदेखि अभियोजन गरी कारबाही गर्नेसम्मको जिम्मा विभागलाई दिइको छ। तर विभागमा एकातिर पर्याप्त र दक्ष जनशक्ति नहुनु तथा अर्कोतर्फ विभाग काठमाडौंमा मात्र केन्द्रित हुँदा पीडितलाई न्याय र क्षतिपूर्ति प्राप्तिमा समस्या हुँदै आएको छ।

ग्वाटेमाला प्रहरीद्वारा एक सय २६ आप्रवासीको उद्धार

ग्वाटेमालाको प्रहरीले मानव तस्कर र दलालले पानी जहाजको कन्टेनरमा थुनेर राखेका नेपालीसहित एक सय २६ आप्रवासीको शनिबार उद्धार गरेको छ। ग्वाटेमालाको नुयभा र कोक्लेस भन्ने स्थापमा आप्रवासीलाई कन्टेनरमा थुनेर राखिएको खबर स्थानीयले दिएपछि उद्धार गरिएको त्यहाँको प्रहरीले जनाएको छ।  

‘कन्टेनरभित्रबाट रोइरहेको र ढोका खोल्न आग्रह गरिरहेको आवाज सुनेपछि ढोका खोल्दा एक सय २६ आप्रवासी फेला पार्‍यौं,’ त्यहाँका प्रहरी प्रवक्ताले बिबिसीसँग भने। उनका अनुसार उद्धार गरिएका आप्रवासीमा नेपालीसहित, हाइटी र घानाका नागरिक छन्। ती सबैसँग राहादानीलगायतका कागजपत्र नभेटिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकालाई ग्वाटेमालियन आप्रवासन संस्थाको सेल्टरमा राखिएको छ। सेल्टरकी प्रवक्ता अलेजेन्द्रा मेनाले होन्डुरस हुँदै ग्वाटेमाला पुर्‍याइएका ती आप्रवासीलाई मानव तस्करले मेक्सिको हुँदै अमेरिका पुर्‍याउन खोजेको बताइन्। उनीहरूलाई पुनः होन्डुरस हुँदै सम्बन्धित मुलुकमा फिर्ता गरिने तयारी गरिएको छ।  

दुई दिनअघि मात्र अमेरिका प्रवेश गर्न खोज्ने तीन सय ५० बालबालिकासहित ६ सय ५२ आप्रवासीलाई मेक्सिकन अधिकारीहरूले पक्राउ गरेका थिए। तमौलीपास भन्ने स्थानमा मक्सिकोको सेनाले सुरक्षा गस्ती गर्दा ट्रकमा कोचिएर यात्रा गरिरहेका ती आप्रवासी प्रक्राउ परेका थिए। अवैध बाटो हुँदै अमेरिका पस्ने कार्य निकै जोखिमपूर्ण हुन्छ। बिबिसिका अनुसार सन् २०२१ मा अवैध बाटोबाट अमेरिका पस्न खोज्ने ५० आप्रवासीको मृत्यु भइसकेको छ।

प्रकाशित: २५ आश्विन २०७८ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App