२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

गाउँगाउँमा सडक, हरेक वडामा नमुना कृषि ब्लक

जुम्लाको हिमा गाउँपालिका भित्रका सबै गाउँमा सडक पुगेको छ। अहिले गाउँमै दैनिक उपभोग्य वस्तु लिएर मालबहाक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीय बताउँछन्। गाउँपालिका भित्रका २८ वटा गाउँमा दुई गाउँमा मात्र सडक पुग्न सकेको छैन। ती दुई गाउँमा सडक जोड्न यो वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही पहिलो बर्ष सडकलाई प्राथमिकता दिइएको बताउँछन। उनले भने,‘सबै गाउँमा सडक पुगे। मालबहाक गाडी पनि पुगेका छन।यहाँको उत्पादित अन्न, जडिबुटी पनि गाउँबाटै जाने गरेका छन्। स्थानीय सरकारको यो पहिलो उपलब्धि हो। सडक गाउँगाउँमै पुगेपछि हिमा गाउँपालिकाले वडामा उत्पादन हुने बस्तु अनुसारको कृषि ब्लक स्थापना गरेको छ। वडा नं. १ मा धान ब्लक छ। बाख्रा पालनलाई प्रोत्साहित गरिएको छ। दुई वडालाइ अलुसन ब्लकका रुपमा स्थापित गरिएको छ। यहाँ चरनक्षेत्र बढि भएकोले भेडाफर्र्ममा पनि जोड दिइएको छ। वडा नंम्बर ३ मा पोषण ब्लक छ। यहाँ पोषिलो तरकारी खेतिका साथै भेडाबाख्रा पानमा लगानी गरिएको छ। ४ मा आलु पकेट क्षेत्र बनाइएको छ। यहाँ घरेलु उद्योग समेत सञ्चालनमा छ।  

५ नम्बर वडा स्याउ पकेट क्षेत्र हो। यहाँ बाख्रा पालनमा लगानी गरिएको छ। निगालो प्रशोधन उद्योग सञ्चालनमा छ। यहाँबाट ढाकाका विभिन्न कपडा बुनेर निर्यात भइरहेको छ। मोजा र पञ्जा बुनिन्छ। ६ मा मौरीपालन,भेडाबाख्रापालन र सिँचाइका क्रियाकलाप छन। ७ नम्बर वडामा भेडाबाख्रा पालन,सिँचाइ र कृषि ब्लवकका रुपमा राखिएको छ। हरेक वडामा कृषि ब्लक स्थापना भएपनि किसान पनि हौसिएका छन्। हिमामा हरेक विद्यालयमा भौतिक संरचना निर्माण भएका छन्। यहाँका २२ विद्यालयमा शैक्षिक सुधारका क्रियाकलाप भइरहेका छन्। शैक्षिक सामाग्रीको व्यवस्थापन र रिक्त दरबन्दीमा शिक्षक नियुक्ती लगायतका बिषयमा पहल भइरहेको छ।  

यो गाउँ पालिकामा एक आवाशिय विद्यालय खोलिएको छ। त्यहाँ ५५ जना असाहय बालबालिका अध्ययनरत छन। त्यो विद्यालयमा ३ जना शिक्षक राखिएको छ। तीन जना व्यवस्थापक छन्। घरपरिवारबाट बहिस्कृत बालबालिकालाई आवाशिय सुविधा सहित पठनपाठन भइरहेको छ। यो गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र छ। दुई बर्थिङ सेन्टर छन्। सबै वडामा स्वास्थ्य क्लिनिक छन। आवश्यक पर्ने भवन,औषधि उपकरण र जनशक्ति फुलफिल छन्। स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता बढाईएको छ।  

हरेक बस्तीमा बिजुली पुर्याउन थालिएको छ। यो गाउँपालिकामा खागलखोला, भित्रिखोला, ओदीघाट, मालुवा फ्डका गरेर चारवटा साना जलविद्युत सञ्चालनमा छन्। हिमा हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ। यही वर्षभित्र बिजुलीले गाउँपालिका नै झिलिमिली हुने अध्यक्ष शाही बताउँछन्। चार वटा झोलुङगे र ट्रसपुल निर्माण भइसकेका छन्। नाग्म र जोगिवाडामा पक्की पुलको पहल भइरहेको छ। यहाँका अधिकांस वडा हिलोमुक्त भइसकेका छन। सबै गाउँमा एक घर एक धाराको शुरुवात गरिएको छ।  

भेडाबाख्रापालनलाई मध्ये नजर गर्दै भेडीगुवालालाई पाटनमा खर्क निर्माण भएका छन्। विपदमा परेका बिरामीलाई १० हजार रुपैयाँ र घर तथा बाटो भत्केका परिवारलाई १० हजार रुपैयाँ राहत दिने गरिएको छ। गाउँपालिका भित्रका अति विपन्न ४ सय परिवारलाई रोजागारी सिर्जना गरिएको छ। गाउँपालिका अध्यक्ष शाही यो साढे चार वर्षे अवधिमा निकै राम्रो काम भएको दाबी गर्छन्। उनले भने,’हामीलाई उपलब्ध भएको साधनस्रोत मुताविक निकै सन्तोषजनक कार्य गरेका छौँ। यहाँको आवश्यकता र माग अनुसारका कार्यक्रम ल्याउन सफल भएका छौँ।’ कृषि,स्वास्थ्य,शिक्षा,रोजगारका सवालमा निकै उपलब्धि हासिल भएको उनले बताए। ‘जति काम गरेपनि जस त पाइदैन। तर स्थानीय सरकारले गर्नु पर्ने काम गर्न सकेका छौँ,’अध्यक्ष शाहीले भने। 

प्रकाशित: २४ आश्विन २०७८ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App