१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

पूर्वकै सबैभन्दा ठूलो मनोरञ्जन पार्क पाँच महिनापछि सञ्चालनमा

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा इपी ल्याण्ड एन्ड वाटर पार्क पाँच महिनापछि पुनः सञ्चालनमा हुने भएको छ। ६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क फागुन १७ गते उद्घाटन भएर दुई महिनासम्म सञ्चालन भएपछि कोरोना महामारीले गर्दा बन्द गरिएको थियो। अब कोरोना संक्रमण केही मथ्थर भएको र सरकारले धमाधम कोरोनाबिरुद्दको खोप सञ्चालन गरि रहेकाले गर्दा पार्क सञ्चालन गर्न लागिएको हो।  

पार्क अब विहीबार (असोज १४ गते) देखि पूर्णरुपमा सञ्चालन हुनेछ। ‘पार्क २०७६ चैतबाट सञ्चालन गर्ने तयारी भइरहँदा पहिलो चरणको कोरोना महामारीले गर्दा रोकियो। जसले गर्दा २०७७ फागुन १७ गते उद्घाटन गरियो,’ पार्कका प्रबन्धक पूर्व डिआइजी ज्ञानविक्रम साहले भने, ‘पहिला सञ्चालन हुँदा पूर्ण रुपमा सञ्चालनमा थिएन, अब भने पूर्ण रुपमा सञ्चालन हुनेछ।’ सुरुवातमा पार्क निर्माणका लागि कुल ३० करोड लगानी लागेको थियो।

अहिले पछिल्लो समय पार्कमा थप सेवा र सुविधा प्रदान गर्नका लागि एक विघा दुई कट्ठा जग्गा खरीद गरि सकिएको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो। ‘पार्क क्षेत्रमै अब सेमिनार हल र टाढा टाढाबाट आउने पाहुनाका लागि राति बसोबास गर्ने आववास निर्माणसँगै अन्य सेवा सुविधा विस्तार गरिनेछ,’ साहले भने। दुई महिनासम्म सञ्चालनको अवधिमा पार्कमा भारतको जोगवनीसँगै पूर्वी नेपालका पर्यटक आएको सञ्चालक विनोद पौडेलले बताए। उनका अनुसार त्यो अवधिमा तीस हजार पर्यटक आएका थिए।  

अन्य समस्या नभएपनि कोरोनाकै कारण पार्क सञ्चालनमा समस्या आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। ‘कोरोना महामारीले गर्दा पार्क सञ्चालनमा समस्या परेको छ। तैपनि अनेक चुनौती सामाना गरेर अघि बढनु परेको छ,’ पार्क सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पौडेलले भने।  

पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत तथा पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योगवाणिज्य सङ्घको अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको छ।  

यहाँ पूर्वको सवैभन्दा ठूलो वाटर पार्क रहेको छ। पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन्। एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन्। दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन्। पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ। यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँछ।  

पार्कमा  जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो। यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ। पार्कमा जिप लाइन टावर बनाइएको छ। यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ। साथै, वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ।  

पार्कमा पहिलो स्नोपार्क सञ्चालनमा ल्याइने छ। यसमा हिउँबाट आनन्द लिन सकिनेछ। प्रबन्धक साहका अनुसार स्नोपार्कका लागि मेसिन आइ सकेपछि कोरोनाकै कारण मेसिन सेट गर्ने टोली जर्मनबाट आउन नसक्दा ढिलाई हुने भएको छ। पार्कभित्र रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। एउटा बार्बे क्यु र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ। त्यस्तै फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ। यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि छ।  

पार्कमा मनोरञ्जन गर्नेका लागि स्नोपार्क र जिप लाइनबाहेक विद्यार्थीका लागि ६५० र अरुका लागि ७५० रुपैयाँ शुल्क तोकिएको छ। इपी ल्याण्ड एन्ड वाटर पार्कले पर्यटन क्षेत्रमा योगदान पु¥याएकोमा भर्खरै विश्व भ्रमण दिवसको अवसरमा सरकारले सम्मान गरेको छ। सरकारले सम्मान गरेको अवसरमा अब एक सातासम्म विशेष छुटको व्यवस्था गरिएको पार्क सञ्चालन समितिका अध्यक्ष पौडेलले बताए।

प्रकाशित: १३ आश्विन २०७८ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App