१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जीर्ण सडकले दसैंमा दशा निम्तिने जोखिम

फाइल तस्बिर

बहुमत नेपालीको मुख्य चाड दसैैं आउन अब १९ दिन मात्रै बाँकी छ। सहरी क्षेत्रमा अस्थायी बसोबास गरिरहेका अधिकांश नेपाली दसैं मनाउन आफ्नो गाउँघर फर्किन्छन्। तर गत असारदेखि आएको बाढीपहिरोले नेपालका अधिकांश राजमार्ग र सडक सग्ला छैनन्। दसैंमा आफन्तससँग खुसी साट्न गर्न जाने यात्रुका लागि राजमार्ग र सडक दशा बन्न सक्ने खतरा छ।  

काठमाडौं उपत्यकाबाट दसैंमा २० देखि ३० लाख यात्रु बाहिरिने गर्छन्। तर देशका अधिकांश राजमार्ग जोखिमपूर्ण हुँदा यात्रुहरू सुरक्षित ढंगले घर कसरी फर्किने भन्ने चिन्तामा छन्। दसैं मनाउन जाने यात्रुलाई बिग्रे/भत्केका सडक ‘दशा’ बन्ने जोखिम छ।

यातायात अधिकारकर्मी राम थापा मुलुकभरका अधिकांश सडक ‘दशा’ निम्ताउने खालका रहेको बताउँछन्। ‘अहिले देशैभरिका सडक भत्किएका छन्। त्यस्तो सडकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दसैं आउन अब १९ दिन मात्रै बाँकी छ। अब मर्मतसम्भार नगर्ने हो भने दशैंमा घर जाने यात्रुको लागि दशा निम्तिने जोखिम छ।’  

अहिले पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ अन्तर्गतको नौबिसे–मुग्लिङ सडक खण्ड, मुग्लिङ–नारायणगढ, बुटबल–तानसेन खण्डको सिद्धबाबा खण्डमा पहिरो खस्ने क्रम नरोकिँदा दसैंमा ती सडक भएर यात्रा गर्ने यात्रु घर पुगिँदैन कि भन्ने चिन्तामा छन्। बर्खाको बाढी–पहिरोले भत्काएका सडक ‘एम्बुस’ जस्ता छन्।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले मुलुकभरका राजमार्ग र सडक भत्किएर एम्बुस जस्तै जोखिमपूर्ण भएको बताए। ‘अहिले राजमार्ग र सडक भताभुंग छन्। सरकारले तत्कालै मर्मतसम्भार गरेर दसैंमा यात्रा गर्ने यात्रुको लागि सहज वातावरण बनाइदिनुपर्ने अवस्था छ,’ उनले भने, ‘सहरी क्षेत्रबाट लाखौं मानिस दसैं मनाउन गाउँघर फर्किन्छन्। त्यसैले सरकारले भत्किएका सडक मर्मतसम्भार गरेर सुरक्षित यात्रा गर्ने वातावरण तयार गरिदिनुपछए।’  

सडक विभागको तथ्यांक अनुसार बाढीपहिरो र अन्य कारणले मुलुकभरका २२४ सडक खण्ड अवरुद्ध भएकोमा १२ वटा अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। १२५ सडक एकतर्फी सञ्चालनमा आएका छन्। ८७ सडक दुईतर्फी सञ्चालनमा आएका छन्।  

हाल सञ्चालनमा रहेका पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा खाल्डाखुल्डी र भ्वाङ छन्। मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग लगायत सडकका विभिन्न खण्ड क्षतिग्रस्त छन्।  

कतै ठुलठूला पहिरोले राजमार्ग र सडक क्षतिग्रस्त बनाएको छ। कतै खाल्डाखुल्डी परेर सवारी आवतजावतमा समस्या छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बर्खाले क्षतिग्रस्त भएको सडक मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ। 

समितिका सभापति कल्याणीकुमारी खड्काले समिति बैठकले बर्खाले क्षतिग्रस्त र भत्किएका सडकलाई तुरुन्तै मर्मतसम्भार गरेर सहज ढंगले यातायात सञ्चालन गर्ने वातावरण बनाउन निर्देशन दिएको बताइन्।‘समितिको बैठकले क्षतिग्रस्त सडक मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई निर्देश गरेको छ,’ उनले भनिन्, ‘चाडपर्व नजिकिँदै छ।

त्यसैले सवारी साधनको चेकिङ र यात्रुलाई सुरक्षित ढंगले यात्रा गराउन पनि अनुरोध गरेका छौं।’ समितिको बैठकले कोभिड–१९ को कारण सार्वजनिक यातायातको टिकटमा अनलाइन सेवा दिन, सवारी चेकजाँचलाई व्यवस्थित गराउन र दसैंको एक साता रुट परमिट खुला गर्न समेत निर्देश गरेको छ।

सडक विभागका प्रवक्ता शिव नेपाल भने दसैंलक्षित ओहोरदोहार सुरु हुने बेलासम्म बिग्रे, भत्केका सडक मर्मत गरिसक्ने बताउँछन्। ‘बर्खामा बिग्रे, भत्केको सडक मर्मतसम्भारका लागि पाँच अर्ब रूपैयाँ बजेट छ,’ उनले भने, ‘वर्षाले समस्या गरेन भने दसैंको ओहोरदोहोर सुरु हुने बेलासम्म मर्मत गरेर ढुक्कले सवारी साधन चलाउन मिल्ने बनाउँछौं।’

दसैंको अग्रिम टिकट बुकिङ आजदेखि  

यातायात व्यवसायीले दसैंको अग्रिम टिकट बुकिङ सोमबार (आज) देखि खुलाउँदैछन। यातायात व्यवसायी र यातायात व्यवस्था विभागका पदाधिकारीबीचको बैठकले सोमबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले सोमबारदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला गर्ने बताए। महासंघका अनुसार उपत्यकामा एक दर्जनभन्दा धेरै ठाउँबाट टिकट बुकिङ गर्न सकिनेछ। काठमाडौं उपत्यकामा यात्रुले १४ ठाउँबाट अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। 

नयाँबसपार्क, पुरानो बसपार्क, सुन्धारा गौशाला, चाबहिल, कोटेश्वर, सातदोबाटो, कुलेश्वर बल्खु, कलंकी लगायत स्थानबाट दसैंको लागि अग्रिम टिकट बुकिङ गर्न सकिनेछ। ‘उपत्यकामा मात्रै होइन, देशभरी नै अग्रिम टिकट बुकिङ खुला गर्दैछौं,’ वरिष्ठ उपाध्यक्ष स्वाँरले भने, ‘आफूलाई पायक पर्ने ठाउँबाट यात्रुले टिकट काट्न सक्छन्।’ 

प्रकाशित: ११ आश्विन २०७८ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App