coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

राजदूतहरूलाई स्वागत गर्दै पोखरा

पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

पुम्दीभुम्दीबाट देखिएको पोखरा सहर। तस्बिर : उमेश पुन/नागरिक

कोरोना संक्रमणका कारण बन्द रहेको पर्यटन क्षेत्र अब सुरक्षित रहेको सन्देश दिन नेपालस्थित विभिन्न देशका कूटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपास क्षेत्र भ्रमण गराइने भएको छ। पर्यटन प्रवर्द्धनका लागि कूटनीतिक निकायका पदाधिकारीको एक समूहलाई पोखरा घुम्न निम्त्याइएको हो। उनीहरू आइतबार आउँदैछन्।

कूटनीतिक पाहुनाका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय क्षेत्र घुमफिरका लागि सुरक्षित रहेको सन्देश विभिन्न देशमा प्रवाह हुने विश्वास व्यवसायीको छ। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष गोपीबहादुर भट्टराईका अनुसार पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायीको पहलमा विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू र विकास साझेदार निकायका उच्च पदाधिकारी गरी ३० जनाजति आइतबार पोखरा आउँदैछन्। उनीहरूले पोखरा र आसपासका गन्तव्य अवलोकन गर्नेछन्।

‘विभिन्न मुलुकका नेपालस्थित राजदूतसहितका उच्च अधिकारी यहाँ आएपछि पोखरा सुरक्षित रहेको सन्देश विश्वभरि पुर्‍याउन सकिनेमा आशावादी छौं,’ भट्टराईले भने, ‘उनीहरूलाई पोखरा घुमाउँदा सकारात्मक सन्देश जानेछ। पोखरा सुरक्षित छ। पोखरा पाहुनाको स्वागतमा तयारी अवस्थामा छ भन्ने सन्देश कूटनीतिक पदाधिकारीमार्फत उनीहरूको देशका नागरिकसम्म पुग्नेछ।’ पर्यटन व्यवसायीलगायतले कोरोनाविरुद्धको खोप लगाइसकेको र अब पोखरा घुमघामका लागि सुरक्षित छ भन्ने सन्देश फैलाउन आवश्यक रहेको भट्टराईले बताए।  

पर्यटन व्यवसायीका अनुसार आइतबार पोखरा आउने उच्च पाहुना सोमबार यहाँ आयोजना हुने एकदिने सडक महोत्सवमा पनि सहभागी हुनेछन्। त्यस्तै प्याराग्लाइडिङसहितका साहसिक पर्यटनमा पनि उनीहरू रमाउनेछन्। ‘पोखरा र आसपासका पर्यटकीय गन्तव्यबारे ती पाहुनाबाट सकारात्मक सन्देश फैलाउन चाहेका छौं। उनीहरू घुमेर फर्कंदा पक्कै पोखरासम्बन्धी गतिलो सन्देश उनीहरूको देशका नागरिकसम्म पुग्नेछ,’ भट्टराईले भने।

पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीका अनुसार झन्डै दर्जन मुलुकका राजदूत र उच्च कर्मचारी, विभिन्न देशका विकास साझेदार निकायका उच्च कर्मचारीसहितको टोली पोखरा आउनेछ। ‘नितान्त घुमघामका लागि कूटनीतिक निकायका उच्च पदस्थ पदाधिकारी पोखरा आउन लागेका हुन्। यसले पर्यटनमा पक्कै पनि सकारात्मक सन्देश दिनेमा हामी विश्वस्त छौं,’ भण्डारीले भने, ‘विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरूलाई पोखरा क्षेत्र घुमघामको चाँजोपाँजो मिलाइएको हो।’ विश्व पर्यटन दिवस सोमबार मनाइँदैछ।

भण्डारीका अनुसार कूटनीतिक निकायका उच्च पदस्थ पदाधिकारीको पोखरा क्षेत्र घुमघामको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गरेको हो। गण्डकी प्रदेश सरकार र पर्यटन बोर्डले यसमा सहजीकरण गर्नेछन्। ‘नेपालस्थित विभिन्न मुलुकका राजदूतसहित विकास साझेदार निकायका उच्च पदस्थ पदाधिकारी पोखरा आउँदा त्यसले पर्यटन क्षेत्रमा फाइदा पुग्नेछ,’ भण्डारीले भने, ‘पोखरा क्षेत्र घुमघामका लागि खुलेको छ, सुरक्षित पनि छ भन्ने सन्देश दिनु जरुरी छ।’ कूटनीतिक निकायका पदाधिकारी र विकास साझेदार निकायका उच्च पाहुनाको भ्रमणले पोखरा र यहाँको अवस्थाबारे थाहा पाउन विश्व समुदायलाई सहयोग पुग्ने उनले बताए।

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा विदेशी उच्च पदस्थ पदाधिकारी घुमघाम गर्दा सकारात्मक सन्देश जाने र पोखराको प्रचारमा पनि सघाउ पुग्ने उनले बताए। ‘कोरोनाले गर्दा विदेशी पाहुना आउन तर्सिएका हुन्। उच्च पदस्थ पदाधिकारीको भ्रमणले पोखरा खुलेको भन्ने सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुग्नेछ। पोखरा पाहुनालाई स्वागत गर्न तयार अवस्थामा छ भन्ने सन्देश पनि पुग्नेछ,’ उनले भने, ‘यसले विदेशी पाहुनाको आगमनमा केही न केही सकारात्मक प्रभाव पर्नेछ।’ 

राजदूतहरू नै घुम्न निस्किएको क्षेत्रबारे पक्कै पनि उनीहरूका मुलुकका नागरिकले चासोका साथ हेर्ने भएकाले पर्यटनमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा रहेको उनले बताए।

प्रकाशित: १० आश्विन २०७८ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App