२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनार्थ गण्डकी र प्रदेश–२ सरकारबीच सहकार्य

पोखरामा विहीबार आयोजित गण्डकी र प्रदेश–२ सरकारबीच पर्यटक प्रवद्र्धनबारेको छलफल । तस्बिरः नागरिक

अन्तर प्रदेश पर्यटकीय गतिविधि बढाउन गण्डकी र प्रदेश–२ सरकारले सहकार्य गर्ने भएका छन् । अन्तर प्रदेश पर्यटकीय गतिविधि बढाउँदा त्यसबाट पर्यटन क्षेत्रले लाभ लिने प्रदेश सरकार र पर्यटन व्यवसायीको भनाई छ। पर्यटन प्रवद्र्धनार्थ गतिविधि बढाउन दुईवटा प्रदेशले सहकार्य गर्ने समझदारी पनि गरेका छन्।  

पोखरा भ्रमणमा रहेका प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा पर्यटन प्रवद्र्धनार्थ पाँचबुँदे अन्तरप्रदेश समझदारी समेत घोषणा गरिएको छ । यतिबेला प्रदेश २ का मुख्यमन्त्री सहितको टोली पोखरा भ्रमणमा छ । त्यही अवसर पारेर पर्यटन क्षेत्रको सक्रिय संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का गण्डकी र प्रदेश–२ का अध्यक्षहरुले मुख्यमन्त्रीद्वयको रोहवरमा समझदारी गरेका हुन् ।  

दुई प्रदेशबीच समझदारी गर्दै अबका दिनमा पर्यटन क्षेत्रमा सहकार्य गर्ने उनीहरुले बताए । घोषणामा अन्तर प्रदेशबीच पर्यटकीय गन्तव्यको पहिचान गर्ने, सम्बद्र्धन र प्रचारप्रसार बढाउने, दुई प्रदेशबीच सिधा हवाइ सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाइ सेवा विस्तारमा प्राथमिकता दिने भनिएको छ ।  

त्यस्तै धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिको आदानप्रदानका साथै साहसिक खेल पर्यटनका सम्भावना बढाउने, जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय सर्किटको प्रवद्र्धनमा जोड दिने र दुवै प्रदेशका सहकार्यका क्षेत्र पहिचान गरी कार्यान्वयनमा ल्याउने समझदारीमा उल्लेख छ । समझदारीमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र प्रदेश–२ का अध्यक्ष मोहनप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

‘पर्यटन प्रवद्र्धनको काम यसअघि पनि भएको हो । पोखरा–सिमरा हवाई उडान यसैको उपलब्धि पनि हो,’ नाट्टा गण्डकीका उपाध्यक्ष हरिराम अधिकारीले भने, ‘आगामि दिनमा पर्यटन प्रवद्र्धनार्थ हुने सहकार्यले झनै बढी गति लिनेछ । त्यसको लाभ दुवै प्रदेशका पर्यटन व्यवसायीले पाउनेछन ।’ अघिल्लो महिना मात्र प्रदेश–२ को प्रवद्र्धनार्थ नाट्टा गण्डकीले कार्यक्रम गरेको थियो। त्यससँगै पोखरा–सिमरा सिधा हवाई सेवा पनि सुरु भएको थियो ।  

‘पोखरा र सिमराबीच हवाई सेवा सुरु भईसकेको छ । अब पोखरालाई जनकपुरसम्म जोड्न सकियो भने त्यसले आन्तरिक सहितका पर्यटक आउजाउमा थप बल पुग्नेछ,’ अधिकारीले भने, ‘अहिले पोखरा आएका पर्यटक जनकपुर पुग्नुपरेमा कि त स्थलमार्गबाट जानुपर्छ, नत्र हवाईमार्ग रोज्दा काठमाडौं हुँदै जानुपर्छ। त्यसले गर्दा पर्यटकले दोहोरो आर्थिभक भार बेहोर्नुपरेको छ।’ अधिकारीका अनुसार प्रदेश–२ मा पर्यटकीय महत्व भएका थुप्रै गन्तव्य भएपनि कमैमात्र गन्तव्यले प्रचारप्रसार पाएको अधिकारीले बताए। ‘जानकी मन्दिरको चर्चा बढी छ। अरु महत्वपूर्ण गन्तव्यको पहिचान नै फराकिलो हुने सकेन। यतिसम्मकी राष्ट्रिय निकुञ्ज र धार्मिक क्षेत्रले प्रचार पाउन सकेका छैनन,’ उनले भने, ‘अब दुईवटा प्रदेश मिलेर प्रदेश–२ र गण्डकी प्रदेशका गन्तव्यको पहिचान बढाउने प्रयास हुनेछ।’  

मुख्यमन्त्रीद्वयको उपस्थितिमा भएको छलफलमा प्रदेश– २ का मुख्यमन्त्री राउतले गण्डकी प्रदेशसँग पर्यटकीय लगायतका हरेक क्षेत्रमा सहकार्य गर्ने बताए। ‘यो सहकार्य एकजना व्यवसायी वा व्यक्तिका लागि मात्र सिमित हुँदैन। यसले दुवै प्रदेशको हितका लागि काम गर्नेछ,’ राउतले भने। उनले दुईवटा प्रदेशबीच हवाई सेवाका साथै सडक यातायात सञ्जाललाई व्यवस्थित गर्नु जरुरी भएको बताए।  

कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रमा अब अधिकतम भारतीय पर्यटक भित्र्याउने योजना बनाउनुपर्ने उनले बताए। ‘भारतीय पर्यटक नेपाल आउन सहज पनि छ। अहिले अरु मुलुकका विदेशी पर्यटक आउन नपाएको अवस्थामा छिमेकी मुलुकका पर्यटक तान्न सकियो भने त्यसले पर्यटनमा लाभ अवश्य पुग्छ,’ उनले भने।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुवै प्रदेशबीच पर्यटकीय सम्भावनालाई उजागर गर्दै अघि बढ्नका लागि सहकार्य जरुरी रहेको बताए। ‘पर्यटकीय गतिविधि बढाउँदा त्यसले पर्यटन क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा सकारात्मक बल दिलाउँछ,’ पोखरेलले भने, ‘अब पर्यटन प्रवद्र्धनमा महत्व दिनुको विकल्प पनि छैन । किनकी आन्तरिक पर्यटक बाहेक तत्कालका लागि विदेशी आउने सम्भावना कम छ । त्यसैले आन्तरिक पाहुनाको आउजाउ बढाउन पनि सहकार्य जरुरी छ ।’

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले पर्यटनको विकासका लागि पूर्वाधार विकाससँगै पर्यटकीय स्थलको प्रवद्र्धन आवश्यक भएको बताए। दुबै प्रदेशका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्दै हवाइ तथा सडक सञ्जाललाई प्रभावकारी बनाउनुपर्ने कंडेलको भनाई छ। अहिले गण्डकी र प्रदेश–२ आउजाउ गर्दा लामो समयको स्थलयात्रा गर्न पर्यटक बाध्य छन । त्यस्तै प्रदेश २ का नाका हुँदै नेपाल भित्रिएका भारतीय पर्यटकलाई पोखरासम्म भित्र्याउन पनि यस्ता सहकार्यले बल पुर्‍याउने कंडेलको भनाई छ।  

प्रकाशित: ७ आश्विन २०७८ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App