१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाहुनाको स्वागतमा खुलेको घान्द्रुक

पर्यटकीय गाउँ उक्लिँदै आन्तरिक पाहुना

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट आइतबार बिहान देखिएको हिमाली श्रृंखला र होटलमा रमाउँदै आन्तरिक पाहुना। तस्बिरः नागरिक

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको मुख्य प्रवेशद्वारमा पर्छ पर्यटकीय गाउँ घान्द्रुक। घान्द्रुक हुँदै भित्रिने आन्तरिक तथा विदेशी पाहुना घोरेपानी, पुनहिल, टाढापानी, छोमरोङ, माछापुच्छ्रे आधारशिविर (एमबिसी) र एबिसीसम्म उक्लिन्छन्।  

कोरोना भाइरस संक्रमणले गर्दा यो पदमार्ग लामो समयदेखि सुनसान बनेको थियो। कोरोनाको पहिलो लहरको संक्रमण कमजोर भएपछि केही महिनाका लागि चहलपहल देखिएको यो पर्यटकीय रुट संक्रमणको दोश्रो लहरसँगै पुनः सुस्ताउन पुगेको थियो । तर, दोश्रो लहर पनि कमजोर भएको मौका पारेर घान्द्रुक सहितका पर्यटकीय गन्तव्यले पाहुनालाई स्वागत गर्न थालेको छ।  

बैशाखदेखि बन्द रहेका घान्द्रुक सहित एबिसीसम्मका मुख्य गन्तव्यका होटल खुल्न थालेसँगै पाहुना पनि उक्लिन थालेका हुन् । गत शुक्रबारदेखि घान्द्रुक सहितका गन्तव्यले आन्तरिक पाहुना स्वागत गर्न थालेका छन्। ‘घान्द्रुकमा मात्र करिब ८० वटा होटल छन्। ती सबै होटलले केही न केही संख्यामा पाहुना स्वागत गर्न पाएको छ,’ पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले भने, ‘होटलले पूर्ण क्षमतामा पाहुना नपाएपनि सानो आकारमा पाएका छन्। कुनै पनि होटल रित्तै रहनुपरेको छैन ।’ पाहुना स्वागत गर्न पाउँदा घान्द्रुक पनि खुलेको उनले बताए।  

यो बेला घान्द्रुक हुँदै घोरेपानीसम्म उक्लिने पाहुनामा आन्तरिक पाहुना छन् । अहिले आउन नपाएपनि दसैंको बिदामा आउने गरि बुकिङ गर्ने पाहुना पनि रहेको गुरुङले जानकारी दिए । ‘२/४ वटा कोठामा सबैले पाहुना पाएका छन् । लामो समय सुनसान माहोलमा बसेका व्यवसायी आन्तरिक पाहुनाको चहलपहलले हौसिएका पनि छन,’ उनले भने, ‘सुनसान बनेको पर्यटकीय पदमार्गमा चहलपहल बढ्दा रमाईलो अनूभुति भएको छ। यहीबेला खुलेको मौसमले पनि साथ दिएको छ।’  

उनका अनुसार यो बेला घान्द्रुक उक्लेका कतिपय पर्यटक घोरेपानीसम्म उक्लेका छन्। केही छोमरोङसम्म पनि गएका छन्। आक्कलझुक्कल एबिसीसम्म पुग्ने योजनामा छन्। ‘अबको २ दिनपछि एबिसी पनि पूर्ण रुपमा खुल्ने हो । लामो समय घरभित्र थुनिएका आन्तरिक पाहुना यतिबेला घुम्न निस्कन थालेका छन्,’ उनले भने।  

मौसमले पनि यो बेला पाहुनालाई साथ दिएको छ। आइतबार बिहान खुलेको घान्द्रुक र हिमाली श्रृंखलाले त्यहाँ पुगेका पाहुनालाई झनै रोमाञ्चक  बनाएको थियो। घान्द्रुकबाट अन्नपूर्ण साउथ, हिमचुली माछापुच्छ्रे, गंगापूर्ण र अन्नपूर्ण प्रथम हिमाल स्पष्ट देखिन्छन्। त्यसैले त्यहाँ पुगेका पाहुना पनि खुसी छन्। 

‘पहिलो पटक घान्द्रुक आएकी हुँ। आइतबार बिहान यहाँबाट देखिएको दृष्यको बखानै गर्न सकिन्न,’ घान्द्रुक घुम्न पुगेकी पोखरा चाउथेकी सपना केसीले भनिन, ‘लामो समय बन्द रहेर खुलेका होटलले पनि राम्रो सेवा दिएका छन्। त्यसबाहेक यहाँको मौसमले सबैभन्दा बढी साथ दिएको।’ घान्द्रुक र त्यहाँबाट देखिने सौन्दर्यता सहित होटलको सेवा र सत्कारले पनि पाहुनालाई यहाँसम्म डोर्‍याउने उनको भनाई छ।  

पोखराका एक बित्तीय संस्थामा काम गर्ने केसी साथीहरुसँगै मिलेर घान्द्रुक घुम्न पुगेकी थिइन्। पोखरामै घर भएपनि यसअघि उनका लागि घान्द्रुक पुग्ने अवसर जुरेको थिएन। तर, यो पटक बिदाको सदूपयोग गर्ने भन्दै सपना सहितको समुह घान्द्रुक उक्लेको थियो। 

‘बजारभित्रै व्यस्तताले गर्दा हामी घुमघाममा निस्कन पनि पाउँदैनौ । तर यो बेला घुम्ने उपयुक्त मौसम रहेछ भन्ने अनूभूति भएको छ,’ उनले भनिन । उनका अनुसार घान्द्रुक उक्लेका केही पाहुना थप अरु गन्तव्यतिर गएका छन् । फुर्सन नहुनेहरु भने पोखरातिर फर्केको उनले सुनाईन्।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेल पनि खुलेका केही गन्तव्यले आन्तरिक पाहुना पाउँदा पर्यटन व्यवसाय थोरै आकारमा मात्र भएपनि चलायमान बन्ने बताउँछन । ‘गन्तव्य खुलेको जाकारी पनि दिनुपर्ने हुन्छ । झन्डै दुईवर्षदेखि ठप्प भएर कति बस्ने भन्ने हो,’ पौडेलले भने, ‘अब मर वा गर भन्ने अवस्था भएको छ । स्वास्थ्यका सबै मापदण्ड मानेर व्यवसाय संचालन गर्नुपर्छ ।’  

पौडेलका अनुसार कोरोनाको पहिलो संक्रमण कमजोर हुँदा पनि पोखराबाट हुने छोटो आकारका रुटमा पाहुना पुगेका थिए। अहिले दोश्रो लहर पनि कमजोर भएकोले अब छोटो रुट फेरि चलायमान बन्ने बेला भएको पौडेलले बताए। ‘पहिलो लहर कमजोर भएको बेला आन्तरिक पाहुना जाने छोटो दूरीका रुट निकै नै चलेका हुन्। छोटो रुटका व्यवसायीलाई केही भएपनि लाभ पुगेको थियो,’ उनले भने भने, ‘अब दोश्रो लहर कमजोर भएको बेला पारेर व्यवसाय चलायमान पनि बनाउनुपर्छ । कम्तिमा पदयात्रा रुटका व्यवसायी भएपनि चलायमान बन्नेछन्। विदेशी नआएसम्म मुलुकलाई थप फाइदा नहुन सक्छ, तर, आन्तरिक पाहुना आउँदा पर्यटन क्षेत्र चलायमान बन्छ ।’ पोखराका आसपासका क्षेत्रका छोटो रुटमा अब आन्तरिक पाहुनाको आगमन बढ्ने पौडेलको भनाई छ।

प्रकाशित: ३ आश्विन २०७८ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App