१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ढुवानी भाडा सस्तिँदा नेपाललाई लाभ

रेलमार्फत नेपालका लागि कन्टेनर भित्रिने वीरगन्ज सुक्खा बन्दरगाह । तस्बिर: रितेश/नागरिक

नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने ढुवानी लागत उल्लेख्य घट्ने भएको छ। सेवाप्रदायकबीच प्रतिस्पर्धाको वातावरण बनेपछि नेपालको वैदेशिक व्यापारमा प्रत्यक्ष लाभ पुगेको सरोकारवालाले बताएका छन्। नेपालका लागि भारतीय बन्दरगाह कोलकाता, हल्दिया र विशाखापटनमबाट रेलमार्फत हुने कन्टेनर ढुवानी लागत २५ देखि ३७ प्रतिशतसम्मले घटेको छ।

नेपालले भारतबाहेक अन्य मुलुकसँग व्यापार गर्दा मुख्य रुपमा दुई थरी ढुवानी खर्चले लागत निर्धारण गर्छ। तीमध्ये पहिलो ‘सी फ्रेड’ अर्थात् समुद्री ढुवानी खर्च र अर्को हो ‘इनल्यान्ड ट्रान्सपोर्टेसन’ अर्थात् स्थल ढुवानी खर्च। नेपालमा आयात हुने कन्टेनरको संख्या वार्षिक लाखको हाराहारीमा पुग्दा यहाँका लागि काम गर्न इच्छुक सिपिङ कम्पनी बढेपछि ‘समुद्री ढुवानी भाडा’ मा प्रतिस्पर्धा बढेको छ, जसको लाभ नेपाललाई यसअघि नै प्राप्त हुन थालेको थियो। अहिले स्थल ढुवानीमा पनि प्रतिस्पर्धा कायम भएकाले त्यसबाट पनि नेपाललाई फाइदा पुग्ने भएको छ।  

२००४ मे २१ मा नेपाल र भारतबीच भएको रेलसेवा सम्झौताले नेपालमा हुने रेलमार्फतको ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड (कोन्कर) लाई एकाधिकार दिएको थियो। भारतको पश्चिम बंगालस्थित कोलकाता तथा हल्दिया बन्दरगाह र आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानी कोन्करले गर्दै आएको थियो। 

गत जुलाईमा सम्झौतामा संशोधन भएर निजी रेल कम्पनीका लागि ढुवानीको बाटो खुलेपछि भारतका निजी रेल सेवाप्रदायक कम्पनीले पनि सेवा दिन सुरु गरिसकेका छन्। यससँगै कोन्करले समेत नेपाली कार्गोका लागि निर्धारित भाडा घटाएको छ।

कोन्करले बुधबार जारी गरेको सूचनाअनुसार कोलकाता बन्दरगाहबाट वीरगन्जसम्मको प्रतिकन्टेनर ढुवानी भाडामा ३१ देखि ३७ प्रतिशतसम्म घटाएको देखिन्छ। कोलकाता बन्दरगाहमातहतकै हल्दिया बन्दरगाहबाट हुने ढुवानीमा पनि भाडादर २५ देखि ३१ प्रतिशतसम्म घटाइएको छ। कोन्करले कोलकाता बन्दरगाहमा आएका कन्टेनर वीरगन्जसम्म ल्याएर खाली भएपछि पुनः कोलकातामा रहेका सिपिङ कम्पनीको यार्डमा पुर्‍याउने गर्छ। 

मंगलबारसम्म २० फिटको कन्टेनरमा ३१ मेट्रिक टनसम्म सामानको ढुवानी भाडा ९८ हजार ३ सय ४५ नेपाली रुपैयाँ थियो। नयाँ भाडादरअनुसार अब ६३ हजार ७ सय ६९ मात्र तिरे पुग्छ। त्यस्तै ४० फिटको कन्टेनरको ढुवानी भाडा एक लाख ३६ हजार ३ सय १६ रुपैया पर्ने गरेको थियो। अब ९२ हजार ८ सय १२ रुपैयाँ तिरे पुग्छ। कोन्करले हल्दिया बन्दरगाहबाट वीरगन्जसम्मको भाडा पनि २५ देखि ३१ प्रतिशतसम्म कम गरेको छ।  

यस्तै विशाखापटनम बन्दरगाहबाट हुने ढुवानीको भाडा पनि घटेको छ। विशाखापटनमबाट वीरगन्जसम्मको प्रतिकन्टेनर ढुवानी भाडा २४.५८ प्रतिशतदेखि २९.११ प्रतिशतसम्म घटाएको कोन्करले जनाएको छ। कन्टेनरको आकार र मालवस्तुको वजनको हिसाबले विभिन्न ७ थरीको ढुवानी श्रेणीमा नेपाली रुपैयाँ २४ हजार ३ सय २० देखि ४१ हजार ४ सय ४० रुपैयाँसम्म भाडा घटेको छ।  

विशाखापटनमबाट २० फिटको कन्टेनरमा ३१ मेट्रिक टनसम्म मालसामान वीरगन्ज ल्याउन र खाली भएपछि फिर्ता लैजान मंगलबारसम्म एक लाख २१ हजार ४ सय ४० रुपैया तिर्नुपर्ने हुन्थ्यो। अहिले ८८ हजार रुपैयाँ तिरे पुग्छ। त्यस्तै ४० फिटको कन्टेनरमा ४० मेट्रिक टनसम्मको भाडा पहिले एक लाख ६३ हजार ३ सय ६० रुपैया पथ्र्यो। अब एक लाख २३ हजार २ सय रुपैया तिरे पुग्छ। नयाँ भाडादर आगामी मार्च अन्तिमसम्म कायम रहने कोन्करले जनाएको छ।  

कोन्करलाई एकाधिकार हुँदा रेल भाडामा मनोमानी गरेको गुनासो आयातकर्ताले गर्दै आएका थिए। सम्झौता संशोधन भएपछि अहिलेसम्म कोन्करबाहेक नेपालतर्फको ढुवानीमा चारवटा कम्पनीले चासो देखाएका छन्। हिन्द टर्मिनलको मालवाहक रेल वीरगन्ज आइ नै सकेको छ। यो रेलले बुधबार सामान वीरगन्ज ल्याइपुर्‍याएँसगै कोन्करको एकाधिकार अन्त्य भएको छ।

वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको कम्पनी प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि एक हप्ताभित्र नेपालसम्म सेवा सुरु गर्ने भएको कम्पनीका प्रतिनिधि अतुलकुमार शर्माले बताए। त्यस्तै विशाखापटनम बन्दरगाह, हल्दिया बन्दरगाह र आधादर्जन बढी सुक्खा बन्दरगाह सञ्चालन गर्ने जेएम बक्सी समूहले पनि वीरगन्जसम्म कन्टेनर ढुवानीको तयारी गरेको बताइएको छ। 

प्रकाशित: २ आश्विन २०७८ ००:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App