पछिल्लो समयमा जिल्लामा निकै चर्चामा आएको धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’ आश्रमको विकासका लागि स्थानीय रूपमै पहल थालिएको छ। उक्त क्षेत्र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्छ।
जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा अवस्थित आश्रममा हिन्दु धर्ममा आस्था राख्ने व्यक्तिहरू पुग्नेगर्छन्। घना जंगल र चुरे पहाडको चुचुरोमा अवस्थित उक्त आश्रममा दर्शन र भाकल गर्नका लागि बाँकेसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा हिन्दू धर्माबलम्वी पुग्ने गर्छन् ।
बर्फानी बाबाको आश्रमलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न मन्दिरसहितका संरचना निर्माण गर्न लागेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट १५ लाख रूपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्ने तयारी गरेको छ।
उक्त मन्दिर निर्माणका लागि अध्यक्ष थारुले आश्रममा पुगेर शिलान्यास गरेका छन्। यस्तै आश्रमसम्म पुग्ने बाटो निर्माण गर्न १० लाख रूपैयाँ खर्च गरिने गाउँपालिकाले जनाएको छ। बर्फानी बाबाको आश्रमको विकास गरी त्यहाँ धेरैभन्दा धेरै धार्मिक पर्यटकलाई ल्याउने गाउँपालिकाको योजना रहेको उनले बताए।
उक्त स्थानमा बर्फानी नाम गरेका एक जना साधु बस्दै आएका छन्। उनी करिब दुई दशकभन्दा बढी समयदेखी त्यहाँ बस्दै आएका छन्। भगवान शिवको शक्तिले नै आफू यहाँ लामो समयदेखी बस्दै आएको बाबा बर्फानी बताउँछन्। त्यहाँ दर्शन गर्न जाने भक्तजनको सहयोगमा बाबाले भगवान शिवको मूर्ती प्रतिस्थापन गरेका छन् ।
सोही मूर्तिमा भक्तजनले पूजा गर्ने र भाकल गर्ने गरेको पाइन्छ। त्यहाँ भाकल गरेर फर्केपछि मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास छ। अध्यक्ष थारुले भने, ‘कसैले त्यहाँ पुगेर भाकल गर¥यो भने मनोकांक्षा पूरा हुने विश्वास पनि गरिन्छ ।’
धार्मिक रूपले महत्व बोकेको बर्फानी बाबा आश्रमको विकासका लागि शिव मन्दिर निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष थारुले जनाए। ‘त्यहाँ कुनैपनि संरचना बनेको अवस्था छैन, भक्तजनको सहयोगले ढुंगाको मूर्ति राखेर संरक्षण गरेको अवस्था छ,’ उनले भने ‘धार्मिक स्थल राम्रो ठाउँ हुँदा हुँदैपनि नेपाल सरकार र स्थानीय सरकारले भरपर्दो योजना वा कुनै चिज लगानी नगरेको कारणले गर्दा गाउँपालिकाले यसमा हात हालेको हो ।’ आश्रमलाई व्यवस्थित गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने गाउँपालिकाको योजना छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारुले बर्फानी बाबा आश्रमको विकास हुन सकेमा त्यहाँ भारत लगायत विभिन्न ठाउँबाट हिन्दू धर्मावलम्वीहरू पुग्ने बताउँछन्। ‘आश्रममा सहज रूपमा पुग्ने बाटो निर्माण हुन सकेमा बर्फानी बाबाको आश्रममा पुग्न सहज हुन्छ, यसका लागि हामीले पनि आफ्नो तर्फबाट आवश्यक पहल गरेका छौं,’ उनले भने ।
राप्तीसोनारी ४ का स्थानीय समाजसेवी हरिभक्त ओलीले बर्फानी बाबा आश्रममा बस्न थालेका धेरैै लामो समय भइसकेपनि यसअघि त्यहाँ कसैले ध्यान नदिएको बताए। ‘गाउँपालिकाले आश्रमको विकासमा चासो दिएको छ, पहिलो चरणमा मन्दिरको काम सुरु हुँदैछ, यो एउटा खुसीको कुरा हो,’ उनले भने।
प्रकाशित: १ आश्विन २०७८ ०२:४१ शुक्रबार