coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारले बुधबारदेखि राज्यकोषबाट खर्च गर्न नपाउने

विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ। प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिए।

नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो। अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’का रुपमा लिइन्छ। अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो। अध्यादेशबाट ल्याइएको बजेट गत साउन ४ गते सङ्घीय संसद्मा पेश भएको थियो।

अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ। त्यस आधारमा बुधबारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले निरन्तर अवरोध गरिरहेको छ। आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ। अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताए।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गतेका लागि राखिएको छ। अर्थमन्त्रीले राजस्व उठाउने विषयमा कुनै अवरोध नहुने र नियमित नै हुने बताए। 'पाँच/सात दिन खर्च गर्न नहुन सक्छ । राजस्व सङ्कलनमा भने कुनै अवरोध हुँदैन', अर्थमन्त्री शर्माले भने।

पेश्की विधेयक ल्याउन लाग्नुभएको हो र भन्ने सञ्चारकर्मीको जिज्ञासमा अर्थमन्त्रीले त्यसतर्फ सरकारको कुनै सोच नरहेको बताए। उनले एकाध दिन खर्च गर्न नपाए पनि नियमित प्रक्रियाबाटै विनियोजन विधेयक पारित गरिने उल्लेख गरे।

अघिल्लो सरकारले ल्याएको अध्यादेश गत साउन ३ गते संसद्मा पेश गरिएको थियो। विपक्षी एमालेको चर्को नाराबाजीका बीच अर्थमन्त्री शर्माले यही भदौ २५ गते संसद्मा प्रतिस्थापन विधेयक पेश गरेका थिए। अर्थमन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताए पनि सदनमा एमालेको अवरोध जारी छ। सोमबार सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले सहभागी भएन। 

प्रकाशित: २९ भाद्र २०७८ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App