२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रहिआएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिइएको थियो। भेटका क्रममा दुवै देशका कूटनीतिज्ञ, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको थियो ।

बोर्डका कार्यकारी प्रमुख रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपालले विस्तारै पूर्ण खोप लगाएका पर्यटकबाट पर्यटनलाई सुचारु गर्ने गरी काम गरिरहेको जानकारी दिए।

उनले साहसिक पर्यटनमा रुचि राख्ने रुसी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य भएको बताए। उनले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको जानकारी दिए। उनले पर्यटन बोर्ड र नेपालस्थित रसियन कल्चर सेन्टरसँगको सहकार्यमा भाषा प्रशिक्षण, नेपालको एतिहासिक सहर भक्तपुर र रुसको एतिहासिक सहर ड्रविनबीच भगिनी नगरको सम्बन्ध स्थापना गर्ने लगायत विषयमा सहकार्य गरेर काम गर्न सकिने बताए ।

फस्ट सेक्रेटरी आन्द्रोसोभाले नेपालको कला संस्कृति र विविधताप्रति रुसी पर्यटक मोहित हुने गरेको उल्लेख गर्दै उनले रुसी नागरिकले नेपाललाई उत्कृष्ट गन्तव्यको रूपमा लिने गरेको बताइन्। रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौंका निर्देशक समेत रहेकी आन्द्रोसोभाले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदानप्रदान गर्न आफूहरू सधैं तयार रहेको बताइन्। उनले बोर्डले अघि  सारेका विषयहरूमा आफूहरूले उचित पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेकी छन्। 

प्रकाशित: २९ भाद्र २०७८ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App