४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेलाको एक लाख बढीले अवलोकन गरे

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार भुर्चअल माध्ययमबाट उद्घाटन गरेको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समापन गरेका छन्।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका गोल्छाले महामारीका कारण शिथिल रहेको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले गरिएको प्रदर्शनीले महिला उद्यमीको क्षमता विकासमा थप टेवा पुगेको विश्वास लिएका छन्। कृषि उत्पादन एवम् हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात ब्यापारलाई प्रर्वद्वन गर्ने उद्देश्यसहित आयोजना भएको प्रदर्शनी आफ्नो उद्देश्यमा सफल भएको समेत उनको भनाइ छ।

‘महामारीका कारण साना र मझौला उद्योगले भोग्नु परेको समस्याका बाबजुत महासंघले अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ।’ उनले भने, ‘प्रदर्शनीले महिलाद्वारा उत्पादिन बस्तुको प्रचार प्रसार मात्रै भएको छैन व्यवसायी र क्रेता बीचको सम्बन्ध बनेको छ। महिलाको आर्थिक क्षमताको विकास मात्र भएको छैन, महिलाले आर्थिक गतिविधि चलायमान बनाउन सक्छन भन्ने गतिलो उदाहरणसमेत तयार भएको छ।’

हाल देशभर दुई लाख ८० हजार उद्योगहरू महिला स्वामित्वमा रहेको तथ्यांक रहेको जनाउँदै उनले महिला उद्यमशीलतालाई अझ शसक्त बनाउन बस्तु विकास र बजारमा सहज पहुँचको आवश्यकता रहेकोमा जोड दिए। व्यावसायिक सफलता र आर्थिक उन्नतीका लागि महिला सहभागिता आजको आवश्यकता रहेको उनको भनाइ छ। महिला उद्यमीहरूले उत्पादन गरेका मौलिक उत्पादनले मुलुकको सम्रग विकासमा टेवा पुग्नेमा उनले जोड दिए।

त्यस्तै, महासंघकी अध्यक्ष रीता सिंहले देशभर रहेका महिला संघ नेपालको छाता संगठनको रूपमा महासंघले महिला उद्यमशीलताको विकासलाई निरन्तरता दिन सफल भएको जनाइन्। वर्तमान नेपालको सन्दर्भमा यो मेला नौलो प्रयास भएको जनाउँदै उनले सोमबारसम्म एक लाख बढीले अवलोकन गरिसकेको बताइन्। 

‘सम्पन्न मेलाले आगामी दिनको लागि मार्ग निर्देशनको काम गरेको छ,’ उनले भनिन्, ‘उत्पादन भएका बस्तुको डिजिटल बजारीकरण, ई पोर्टलको माध्ययमबाट तथ्याङ्क संकलन र सहज बिक्री वितरणमा समेत जोड पुगेको छ।’ महिला उद्यमीलाई सम्पन्न मेलाले थप हौसला दिन मद्दत गरेको बताउँदै उनले नविनतम प्रयासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरूले आफ्ना उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्राप्त गरेको जनाइन्।  

त्यस्तै, महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले सहकार्य गरौं, सफल बनौ भन्ने नाराका साथ मेलाले महिला आर्थिक तथा सामाजिक सशक्तिकरण रूपान्तरणका निम्ति पैरवी, वकालत, सञ्जाल विस्तार, सूचनाको प्रवाह, क्षमता अभिवृद्वि र बजारीकरणमा टेवा पुर्‍याएकोमा जोड दिइन्। महिला उद्यमशीलतामार्फत घरायसी आम्दानीमा मात्र नभएर देशको राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्ने क्षमताको विकास गर्न सक्छ भन्ने हेतुमा मेला सफल रहेको छ,’ उनले भनिन्, ‘प्राविधिक यात्राको सुरुवातबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मेला मार्फत राम्रो प्रतिक्रिया पाएको र उल्लेख्य सहभागिता भएको छ।’

मेलालाई आधुनिक प्लेटर्फमको रूपमासमेत विकास मात्र नगरेर महासंघले महिला उद्यमीका आवश्यकता र चुनौतीको रूपमा रहेको बजार विस्तार र पहुँचको कठिनाइलाई समेत सम्बोधन गरेको उनले बताइन्। हालको विषम परिस्थितिमा आम नागरिकको दैनिकी डिजिटल बजारतर्फ आकर्षण भइरहेका बेला उद्यमीहरूलाई समेत आफ्ना बस्तुको बजारीकरण र प्रर्बद्धनसहित उद्योगीहरूको मनोबलको विकास गरेको उनको भनाइ छ।

‘यसपटकको मेलाले महिला उद्यमशीलतामार्फत राष्ट्रको आर्थिक विकास, गरिबी निवारण, सामाजिक तथा आर्थिक सवालका सबै क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणमा समेत जोड पुर्‍याएको छ,’ उनले भनिन्। वुमेन इन बिजनेस ई पोर्टलको माध्यमबाट प्रदर्शित मेला महिला उद्यमीका उत्पादनको बजारीकरणलाई निरन्तरता दिन, व्यवसायमा रहेका चुनौती र घाटासहितका समस्या समाधानको लागि समेत फलदायी रहेको उनको भनाइ छ। महासंघको यस कार्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले देखाएको सद्भाव र आर्थिक उन्नतीमा महिला सहभागिताबारेको भूमिकाबारे प्रधानमन्त्रीले गरेको प्रशंसाको समेत ज्ञवालीले धन्यवाद प्रकट गरेकी छन्।

त्यस्तै, महासंघकी प्रथम उपाध्यक्ष निरू राएमाझीले प्रदर्शनीमा देशभरबाट ८२ वटा स्टलको सहभागिता रहेको जनाइन्। प्रदर्शनीबारे देश विदेशबाट राम्रो प्रतिक्रिया पाइरहेको जनाउँदै उनले अनलाइन मार्केटिङमार्फत महिला उद्यमीद्वारा उत्पादन भएका बस्तु तथा उत्पादनलाई आन्तरिक बजार विस्तार र निर्यात व्यापारलाई प्रबद्र्धन गर्न सहयोग पुग्नेमा विश्वास दिलाइन्।

त्यस्तै, महासंघकी महासचिव सुनिता बैंद्य श्रेष्ठले मेलामा काठमाडौंसहित २४ जिल्लाका महिला संघको सहभागिता रहेको प्रष्ट पारिन्। वस्तुको मागअनुसार डेलिवरीमा जोड दिएको जनाउँदै उनले महासंघको पछिल्लो कार्यले उद्योगीहरूलाई नौलो अवसर पुगेको बताइन्।

प्रदर्शनीमा सहभागी व्यवसायीबाट नयाँ बस्तुको उत्पादन, प्याकेजिङलगायतका आधारमा उत्कृष्टसमेत घोषणा गरिएको छ। मेलाको आयोजना अन्तर्राष्ट्रिय श्रम संगठन, एफसीए, द एसिया फाउन्डेशन, अन्तर्राष्ट्रिय श्रम संगठन, युकेएड, भिजा फाउन्डेसन, वोमेन्स बैंक आदि संस्थाको सहयोगमा भएको हो। त्यस्तै, डल्फा सोलूसनस्को प्राविधिक सहयोग र न्यासनल लाइफ इन्स्योरेन्स, ज्योती विकास बैंक, सानीमा बैक, नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट, श्रीनगर एग्रो, ग्लोबल आइएमइ बैंक, लक्ष्मी इन्टरकन्टिनेन्टल, सिटिजन बैंक, निम्बस, पशुपती खाद्य उद्योग तेल र नेपालका लागि बंगलादेशी राजदूतावासले मेलाको प्रायोजन गरेका थिए।

मेलामा हस्तकलाका सामानहरू, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरू, हाते कागजका वस्तुहरू, काष्ठजन्य वस्तुहरू, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरूका स्टलहरू रहेका थिए। मेलालाई अनलाइन ई पोर्टलमार्फत प्रदर्शनी गरिएको थियो, भने विन जिवको साइटबाट बिक्री गरिएको थियो। 

साथसाथै महिला उद्यमीहरूका उत्पादनहरू सामाजिक सञ्जालहरू जस्तैः फेसबुक इन्स्टाग्राम तथा युट्युब र इमेलमार्फत पनि प्रचार गरिएको थियो। माग भइ आएका सामग्रीहरू काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका बनेपा, पनौति तथा धुलिखेललगायतका सहरहरूमा डेलिभरी सेवा दिइएको थियो। मेलामा महिला उद्यमीद्वारा उत्पादित ११ सय ३० वटा सामग्रीहरूलाई विभिन्न चार समूह (हस्तकला, कृषि तथा खाद्यान्न, व्यापार र सर्भिस) मा विभाजन गरी प्रदर्शनीमा राखिएको थियो।  

नेपालमा नै पहिलोपटक आयोजित यस अनलाइन भर्चुअल व्यापार मेलाबाट महिला उद्यमीहरूले आफ्ना सामग्रीहरूको प्रचारप्रसारका गर्नुका साथै व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सञ्जाल निर्माणको वातावरण तयार भएको छ। 

प्रकाशित: २२ भाद्र २०७८ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App