२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

१७ करोडमा खुल्यो आहारा उद्योग, थप २० करोड लगानी गर्ने

कोरोना महामारीले उद्योग, व्यवसाय धरासायी भइरहेको बेला धरानमा भने १७ करोड लगानीमा पशुपंक्षीको लागि आहारा उत्पादन गर्ने उद्योग खुलेको छ। धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्र हाताभित्र खुलेको ब्राइट फिड प्रालिको शनिबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन्। यो उद्योगले कुखुरा, वंगुर, माछा, गाई, भैसीलगायत पशुपंक्षीलाई आवश्यक पर्ने गुणस्तरीय एवं सन्तुलित आहार उत्पादन गर्ने जनाएको छ।  

मुख्यमन्त्री आचार्यले उद्योगहरूले रोजगारी सिर्जना गर्ने र आर्थिक विकासमा योगदान पुर्‍याउने भएकाले सरकारले पनि सहयोग गर्ने बताए। उनले संविधान र लोकतन्त्रको स्थायित्वसँगै सरकारको प्राथमिकता उत्पादनमा वृद्धि, पुर्वाधारको विकास, कृषिको विकास र रोजगारी प्रर्वद्धन रहेको बताए। ‘कोभिड र राजनीतिक अस्थिरताले पछिल्लो २ बर्ष धेरै कुरामा असर पुगेको छ, अहिले परिस्थितिलाई परिवर्तन गरौं भन्ने लागिरहेको भएपनि राजनीतिक वातावरण सहज छैन,’ मुख्यमन्त्री आचार्यले भने, ‘समस्याहरू थुप्रै भएपनि विचलित नभै उद्देश्य र लक्ष्यमा सरकार अघि बढ्छ ।’

पशुपंक्षीको आहारामा आत्मनिर्भर हुने गरी उद्योग सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै आचार्यले देशमा उत्पादन वृद्धि, उद्यम विकास एवं देशलाई आत्मनिर्भर बनाउन, आर्थिक वृद्धि र व्यापार घाटा कम गर्न उद्योगहरू आवश्यक भएको बताए। साधन स्रोत जुटाउन समस्या नभए पनि योजना र व्यवस्थापनमा मात्र समस्या रहेको उनको भनाई थियो। 

उद्योगका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठका अनुसार पशुपंक्षी किसानहरूलाई पौष्टिक आहारा नभएर धेरै दुःख झेल्नु परिरहेकोले उक्त समस्या हल गर्न उद्योग सञ्चालन गरेको बताए। श्रेष्ठका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरूलगायत २० जनाको समुह मिलेर उद्योग खोलेको हो। 

यहाँबाट कुखुरा, वंगुर, गाई, भैसी, माछालगायत पशुपंक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन हुनेछ। उद्योगको प्रतिदिन २ सय मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ। बजार विस्तार गर्न थप २० करोड लगानी गर्ने योजना रहेको पनि उनले बताए। प्रालिमा ५० जनाले प्रत्यक्ष र २ सय जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए ।

प्रकाशित: २१ भाद्र २०७८ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App