२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटक उक्लदै एक्लेडाँडामा

डाँडाकाँडाका गन्तव्यमा पर्यटक उक्लने चलन केही वर्ष यता बढ्दो छ। यो चलनले नयाँ–नयाँ गन्तव्यको पहिचान गर्न सघाएको छ।  तनहुँको मानहुँकोट डाँडा त पहिचान भएर पनि ब्राण्ड बन्यो। दमौली बजारको पश्चिमपट्टि शीरमा रहेको मानहुँँकोट डाँडा गण्डकी प्रदेशको एक उत्कृष्ट गन्तव्यमा पर्न सफल पनि भएको छ। जहाँ गत वर्ष कोरोना भुलेर एकै दिन १५ हजार पर्यटक उक्लिएर इतिहास बनाए।  

कोरोना कहरकैबीच मानुहँकोटमा जस्तै तनहुँको अर्को डाँडामा पनि पर्यटक बढ्न थालेका छन्। शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा आन्तरिक पर्यटक बढ्न थालका हुन्। दुलेगौँडा बजार नजिकै रहेको एक्लेडाँडा यो वर्ष कोरोना संक्रमण रोक्न गरिएको निषेधाज्ञाको बेला सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भाइरल बन्यो। त्यसपछि घरमै थुनिएर बसेकाहरु घुम्नलाई नजिकको गन्तव्य चाहर्न थालेपछि आन्तरिक पर्यटकको चाप बढेको हो।  

सधैँ दुलेगौँडा शहरको व्यस्ततालाई नियाल्दै एक्लै रहने एक्लेडाँडामा त्यही शहरका व्यस्त मान्छेहरु साँझ विहान टहलिन पुग्छन्। स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन्। दैनिक ३ सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडा घुम्न आउने स्थानीय टिका अधिकारीले बताए। उनका अनुसार शनिबार बढी भिड हुन्छ। पूर्वाधार विकास भएमा डाँडामा आउने पर्यटक अझै बढ्ने उनको दाबी छ।  ‘अहिले डाँडामा पदमार्गबाहेक केही संरचना छैन, र पनि पर्यटक बढेको बढ्यै छन्। पुर्वाधार थपियो भने पर्यटक अझै धेरै बढ्ने देखिन्छ’, उनले भने।  

अधिकारीका अनुसार घाँस दाउरा गर्न बाहेक यो डाँडामा स्थानीय समेत त्यतिसारो उक्लन्थेनन्। ‘हामीले घाँस दाउरा गर्ने र गाईबाख्रा चराउने ठाउँ थियो। अहिले घुम्ने ठाउँ बनेको छ’, उनले सुनाए। नागबेली चालमा सुसेल्दै बग्ने सेती नदी र सुरौदी खोला सिरानको एक्लेडाँडा गर्मीयाममा गर्मी छल्नलाई उपयुक्त गन्तव्य भएको अधिकारीले उल्लेख गरे।  

पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेक वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्छन्। तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरी झिलीमिली ध्वजापतका टाँगिएको छ। जसले आगन्तुक पर्यटकलाई फहराउदै स्वागत गर्दछ। फहराईरहेका ती झिलीमिली ध्वजापतका पुष्ठभूमिमा पार्दै तस्बिर र भिडियो कैद गर्न आन्तरिक पर्यटकको पद्चाप डाँडोतिर लम्कन्छ।

डाँडो भाईरल हुन अगाडि नै वडाको नजर परिसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी बताउँछन्। ‘पर्यटकीय सम्भावना देखेर डाँडाको विकास गर्नलाई डिपिआर बनाउदै गर्दा जिल्लामा डाँडातिर आन्तरिक पर्यटक उक्लने ट्रेन्ड बढ्यो। त्यो ट्रेन्डले जसरी नि हामीले यो डाँडाको विकास गर्नुपर्छ भनेर हौस्यायो’, वडाध्यक्ष रेग्मी भन्छन्,  ‘गत वर्ष १० लाख रुपैयाँ खर्चिएर २ सय मिटरको दूरीमा रेलिङ सहितको पदमार्ग बनाएका थियौँ। त्यसपछि त पर्यटक आउन सुरु भैगो।’  

पर्यटक बढ्न थालेपछि गत आर्थिक वर्ष नै प्रधानमन्त्री रोजगार कार्यक्रमको ५ लाख रुपैयाँ बजेट खर्चिएर ढुंगाको छपनी बिछ्याएर साढे २ सय मिटर पदमार्ग बनाइएको उनले बताए। वडाध्यक्ष रेग्मीका अनुसार यो पदमार्गलाई २ किलोमिटर बनाएर पवित्र तिर्थस्थल ढोरवाराही मन्दिरसँग जोड्ने लक्ष्य छ।  

एक्लेडाँडामा पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन १२ करोड ५३ लाख ३४ हजार ४ सय १ रुपैयाँको डिपीआर तयार पारिएको छ। डिपीआरअनुसार २ किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिको प्रतिक गौतम वुद्धको मुर्ति निर्माण गरिनेछ। ‘बौद्ध धर्मालम्वीको आस्था भएको हुनाले बुद्धको मुर्ति निर्माण हुनेछ’, वडाध्यक्ष रेग्मीले भने। यस्तै, पृथ्थी राजमार्ग ‐लेखनाथदेखि म्याग्देसम्म) बाट देखिने गरेर आमाको प्रतिकका रुपमा स्तनपान गराईरहेकी महिलाको विशाल मुर्ति निर्माण गर्ने योजना छ। उक्त मुर्ति १ सय ८ फिट अग्लो हुनेछ। एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिप लाइन बन्नेछ।  

करोडौँको योजना बनाए पनि एक्लेडाँडाको विकासका लागि बजेट विनियोजनमा भने कन्जुस्याँई गरिएको छ। यो आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाबाट एक्लेडाँडाको पर्यटन विकास गर्न १० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ। डिपीआर अनुसारको काम गर्न प्रदेश र संघ सरकारसंग बजेट माग्ने वडाध्यक्ष रेग्मीले बताए। 

प्रकाशित: १२ भाद्र २०७८ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App