१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

बुद्ध एयरले गत साउन १७ मा पोखरा–नेपालगन्ज उडान सुरु गर्दा सातामा तीन दिन उडान तालिका राखेकोमा अहिले ६ दिन (शनिबार बाहेक) पुगेको छ। यात्रु थपिए सातै दिन र अहिलेको भन्दा ठूलो जहाजबाट उडान गर्ने बुद्धको भनाइ छ। बुद्धले पोखरा–भैरहवा रुटमा एक दिन बिराएर सुरु गरेको उडान अहिले दिनमा दुई हुन थालेको छ। पोखरा–भरतपुर रुटमा दैनिक उडान छ।  

पोखरा–काठमाडौं रुटमा बुद्धको दिनमा आठ उडान छ। पोखरा–काठमाडौं रुटमा त भनेको बेलामा टिकट पाउन पनि हम्मे पर्छ। यो रुटमा यती एयरलाइन्सले पनि दिनमा चार उडान गरिरहेको छ। आफ्ना सबै उडानमा पर्याप्त यात्रु रहेको उनीहरूको भनाइ छ। बुद्धले केही दिनपछि पोखरा–सिमरा उडान सुरु गर्ने जनाएको छ।

नेपालगन्ज उडानमा सोचेभन्दा बढी सफलता मिलेको बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले बताए। ‘हामीले सातामा तीन दिन उडान गर्ने भनेर सुरु गरेको हौं,’ बरालले भने, ‘सुरुका केही दिन छाडेर सातामा ६ दिन उडान भइरहेको छ। अब शनिबार पनि उडान हुने अवस्था देखिएको छ।’ 

सिमरा उडानमा पनि यात्रु अभाव नहुने बरालको अनुमान छ। ‘बोर्डर सिटी नजिक भएकोले सिमरामा पनि यात्रु पाइन्छ भन्ने अनुमान हो। नेपालगन्ज, भैरहवा, सिमरा सबै बोर्डर सिटी हुन्,’ उनले भने।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का पश्चिमाञ्चल उपाध्यक्ष हरिराम अधिकारी पोखराबाट हुने सबै रुटका आन्तरिक उडानमा पर्याप्त यात्रु रहेकाले अब पर्यटन क्षेत्र चलायमान हुने ठान्छन्।

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

‘अहिलेको कोरोना त्रासमा पनि हवाई यात्रामा आन्तरिक यात्रु पर्याप्त छन्। नयाँ रुटको उडान सफल बनाउन पनि यात्रुकै साथ छ,’ सुवेदी भन्छन्, ‘संक्रमण कम हुने हो भने हवाई यात्रामा अझ यात्रु बढ्नेछन्।’ 

प्रकाशित: ९ भाद्र २०७८ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App