१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

हवाई सेवामा वर्षाको असर: सोमबार पूरै रद्द, मंगलबार चार उडान मात्र

पोखरा विमानस्थलमा मंगलबार अबेर अवतरण गरेको बुद्ध एयरको जहाज। तस्बिर: नागरिक <br>

भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।

वर्षाले सोमबार बिहानदेखि बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो साढे दुई बजेपछि मात्र खुलेको थियो। विमानस्थल ढिला खुल्दा तोकिएका सबै उडान गर्न हुन नसकेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए। उनका अनुसार विहानैदेखि पोखरामा उडान हुन्छन्। मंगलबार दिउँसो साढे दुई बजेअघिका सबैजसो उडान रद्द भएको उनले बताए।

सुवेदीका अनुसार मंगलबार पोखरा–काठमाडौं रुटमा यतीले एक र बुद्धले चार उडान गरे। अरू सबै रद्द भए। मंगलबार यतीले पोखरा–काठमाडौं रुटका चार उडान रद्द गरेको छ।

त्यस्तै, बुद्धका ११ मध्ये आठवटा उडान रद्द भएका छन्। बुद्धले पोखराबाट नेपालगन्जको एक, भैरहवाको दुई र भरतपुरको एक, तथा काठमाडौंका चार गरी ८ उडान रद्द गरेको छ। बुद्धको मंगलबार काठमाडौंका लागि ७ उडानको तालिका रहेको सुवेदीले बताए।

‘दुई बजेअघिका सबै उडान रद्द भए,’ उनले भने, ‘त्यसपछि जम्मा चारवटा उडान भए।’ उडानका लागि भिजिबिलिटी नपुगेको उनले बताए। निरन्तर भारी वर्षाका कारण सोमबार पोखराबाट कुनै पनि उडान हुन सकेन। सोमबार यतीको पाँच र बुद्धको ११ गरी १६ उडानको तालिका थियो।

पोखरामा उडान हुन विमानस्थलको भिजिबिलिटी ५ किलोमिटर हुनुपर्छ। पोखराबाट काठमाडौंको मात्र नभई अन्य सहरका लागि तोकिएका उडान पनि मौसम खराबीले हुन नसकेको सुवेदीले बताए। कतिपय यात्रु उडान नभएपछि गाडी रिजर्भ गरेर गन्तव्यका लागि हिँडेका थिए। 

प्रकाशित: ९ भाद्र २०७८ ००:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App