२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नयाँ लगानी र उद्यमशीलता अभिवृद्धिका लागि 'नीतिगत सुधार' आवश्यक

नेपालमा उत्पादनमुलक क्षेत्रमा नयाँ लगानीका लागि र उद्यमशीलता अभिवृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्। 

नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक स्पाेर्ट्स एसोसिएशनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलताः अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए। नीतिगत कमजोरी, प्रक्रियागत समस्या, हतोत्साहीत गर्ने कानूनी ब्यवस्था र परम्परागत शैलीको बैंकिङ्ग जस्ता चेनौतिका कारण सम्भावनाहरुको सद्उपयोग हुन नपाएको उनीहरुले बताएका हुन्।  

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले सूचना एवं  प्रविधिले उद्यम व्यापारमा सहजता ल्याएको र यसबाट अवसरहरु सृजना भएको बताए। ‘सूचना प्रविधिले ल्याएका अवसरहरूको उपयोगमा युवा उद्यमी चनाखो हुनु पर्छ,’ कार्यक्रमका प्रमुख अतिथि रहेका उद्योगी लाठले भने, ‘आजको उद्यम व्यापार प्रविधिमा आधारित, नयाँ खोज अनुसारको र परम्परागत ब्यपारहरुको कमजोरीहरुको बिकल्पको रुपमा आउनु पर्ने बताए।  

वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भन्सारको मुख्य उद्देश्य व्यापार सहजीकरण भएको बताउँदै पछिल्लो समयमा भन्सार मूल्यांकन र भन्सार दरसम्बन्धी अप्ठ्याराहरुमा निकै सुधार भएको बताए। उद्यम र ब्यापारमा भन्सारका प्रक्रियाहरु बाधक बन्नु हुँदैन भन्ने भन्सारको संस्थागत ध्येय भएको उनको दावी थियो। भन्सारका प्रक्रिया र भन्सार प्रशासन सरल र प्रविधिमैत्री बनाउँदै लगिएको पनि उनले बताए। 

आन्तरिक राजस्व कार्यालय, पर्सा वीरगन्जका प्रमुख सुनीलकुमार यादवले ब्यवसायी तथा उद्यमीहरु कर सम्बन्धी नियम र यसका प्रक्रियामा बारेमा सुसूचित हुनुपर्ने बताए। उनले युवा उद्यमीहरू ‘वेभसाइट’मै राखिएका जानकारीलाई अध्ययन गर्नसके त्यसबाट धेरै कुरा थाहा हुने बताए। कर प्रशासन पारदर्शी हुँदै गएको, करसम्बन्धी धेरैजसो सेवा अनलाइनबाटै दिन थालिएको, सेवाग्राहीलाई कागजी झन्झटरहित सेवा प्रवाह गर्न थालिएको जस्ता सुधार उनले सुनाए।  

बैंकले उद्यम सम्बन्धी योजनाभन्दा त्यसको प्रस्तावकर्ताको नाम थर र पहिचानलाई महत्व दिँदै कर्जा प्रवाह गर्ने गरेको सहभागीहरुले बताए। उद्योग, होटेल तथा पर्यटन ब्यवसाय र ब्यापारमा भएका लगानीहरु जेगाउन सरकारले ध्यान दिनुपर्ने उनीहरुले बताए। पछिल्लो समयमा कोरोनाकालमा भारतले सीमा खुल्ला गरे पनि नेपालतर्फबाट लगातार सीमामा औपचारिक आवतजावत बन्द भएपछि त्यसबाट पर्यटन ब्यवसाय धाराशायी बन्न थालेको भन्दै सरकारको उदासिनतामाथि वक्ताहरुले दुःख ब्यक्त गरे। कार्यक्रमको अध्यक्षता गरेका नेपाली युवा उद्यमी फोरम वीरगन्जका अध्यक्ष अनुप अग्रवालले नेपालमा रहेको उद्यम तथा व्यापारको अवसर उपयोगका लागि नीतिगत र प्रक्रियागत समस्याहरु समाधान गरिनु पर्ने बताए। 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले अनुसन्धानमा आधारित उद्यममा जोड दिए। देशभित्रै गुणस्तरीय शिक्षा लिएका वा विदेशमा पढेका युवा पुस्तालाई स्वदेशको आवश्यकता पूर्तिका निम्ति आकर्षित गर्न आवश्यक रहेको नेपाल–भारत सोसियो इकोनोमिक फोरमका अध्यक्ष अशोककुमार टेमानीले बताए।  

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उद्योगी अरविन्द्र अमात्य, चार्टर्ड एकान्टेन्ट सुवास खण्डेलवाल र बैंकर्स ग्रुप वीरगन्जका अध्यक्ष नितेश खड्गी लगायतले युवा उद्यमीहरूले बिभिन्न क्षेत्रमा भएका अवसरहरूलाई अन्वेशण गर्न सक्नुपर्ने बताए। यसै कार्यक्रमबीच वीरगन्ज–नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) र इकोनोमिक स्पाेर्ट्स एसोसिएशन (ईआरए) बीच आर्थिक तथा सामाजिक क्षेत्रको उत्थानका विषयमा सहकार्यका लागि औपचारिक समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ।

प्रकाशित: ८ भाद्र २०७८ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App