२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यवसायिक पशुपालनले डालेघाँसको माग बढायो

पछिल्लो समय कास्कीमा व्यवसायिक पशुपालन गर्ने क्रम बढ्दै गएको छ । पशुपालन तथा व्यवसायिक कृषिको लागि सरकारले अनुदान समेत दिने भएपछि बजारदेखि गाँउसम्म कृषि तर्फ आकर्षित हुदैं गएका हुन् । पशुपालन गर्ने क्रमसँगै डालेघाँसको लागि विरुवा माग समेत बढ्दै गएको छ ।

बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्पm लागेसंगै डालेघाँसका विरुवाको माग ह्वात्तै बढेको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ । कोरोना कहरसंगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या बढेको कारण वन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिल, लगायतका एक लाख ५० हजार डालेघाँसका विरुवा निःशुल्क वितरण गरिएको डिभिजन वन अधिकृत केदार बरालले बताए ।

‘अन्य सामान्य बोटविरुवा भन्दा डालेघाँसको विरुवा माग बढ्दै गएको छ,’ उनले भने, ‘डालेघाँसको माग तथ्यांकले समेत देखाउँछ ।’ चालू आर्थिक वर्षमा घाँस र फलपूलका विरुवाको माग लिएर आउने अधिकाँश युवा वर्ग रहेको बताउँदै उनले विदेशबाट फर्केका युवाको व्यवसायिक बाख्रापालनतर्पm आकर्षण बढेसँगै डालेघाँसका विरुवाको माग बढेको स्पष्ट पारे ।

‘विगतमा डिभिजन वन कार्यालयद्वारा महेन्द्रगुफामा स्थापना गरी सञ्चालन गर्दै आएको नर्सरीमा उत्पादित विरुवा मात्र वितरण गरिदै आएको थियो,’ उनले भने, ‘यसवर्ष भने गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको थप दुईलाख रुपैयाँ आर्थिक सहयोगले चारवटा नर्सरीबाट उत्पादित विरुवा कृषकलाई वितरण गरिएको छ ।’ विरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई ५० हजार रुपैयाँका दरले उपलव्ध गराईएको थियो । वन नर्सरीहरुमा विरुवा उत्पादन गर्नका लागि आवश्यक झाडी सरसफाई, पोलिथिन व्याग भर्ने, गोडमेल गर्ने कार्यमा छ महिनाका लागि ठूलै संख्याले रोजगार समेत प्राप्त गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय कास्कीको बटुलेचौरसँगै वन विज्ञान अध्ययन संस्थान, पोखरा महानगरपालिका–३० खुदीस्थित लेखनाथ सव डिभिजन वन कार्यालय, रानीवन र  कुँडहर सव डिभिजन वन कार्यालय परिसरमा स्थापित नर्सरीमा डालेघाँस लगायत, फलफुल तथा जडिवुटी र काठको लागि उपयोगि विभिन्न जातका तीनलाख १८ हजार विरुवा उत्पादन गरि वितरण गरिएको अधिकृत बरालको भनाई छ ।

डिभिजन वन कार्यालयद्वारा स्थापना गरि सञ्चालनमा आएको पोखरा–१६ बाटुलेचौरको नर्सरीमा अत्याधुनिक प्रविधि सहितको बातानुकुलित हाईटेक निर्माण गरिएको छ । हाइटेक भित्र उमारिएका विरुवा दुईपाते भएपछि पोलिथिन व्यागमा राखेर बाहिर प्लाष्टिकको छहारीमा राखेर हुर्काउने व्यवस्था मिलाईएको छ । हाईटेक भित्र लगाईएको विउ ७० प्रतिशत भन्दा बढी उम्रने गरेको छ ।  

लेखनाथ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडिवुटी प्रजातिका कुरीलो, तेजपात, हर्रो, बर्रो, अमला लगायतका  १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति, हलुवावेद, अम्वा लगायतका ४० हजार विरुवा उत्पादन गरेर निशुल्क वितरण गरिएको छ ।

पोखरा महानगरपालिका–३० द्वारा उपलव्ध गराईएको दुईरोपनी सार्वजनिक जग्गामा यसैवर्ष स्थापना गरि सञ्चालनमा आएको वन नर्सरीमा सबै भन्दा बढी डालेघाँसका विरुवा लगाईएको छ । सव डिभिजन वन कार्यालय कुँडहर र रानीवनमा सञ्चालन गरिएको नर्सरीमा ३०–३० हजार र वन विज्ञान अध्ययन संस्थानको नर्सरीमा सात हजार राईखनियो सहित बिभिन्न प्रजातिका ५० हजार विरुवा उत्पादन गरिएको सहायक वन अधिकृत ममता गौतमले बताईन् ।

जिल्ला पशु तथा भेटेनरी कार्यालयको तथ्यांक अनुसार कास्कीमा ३१५ वटा गाई÷भैंसीको फार्म छन् । १७५ वटा बाख्रा फार्म छन् । बंगुरका २८ वटा, कुखुराको ७३ वटा, भेडाको ५ वटा र माछाका ८ वटा फार्म सञ्चालनमा रहेको कार्यालयको तथ्यांकले देखाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा ६ करोड रुपैयाँ अनुदान रकम छुट्टाएको छ । पोखरामा ६ सय ५० परिवार भन्दा बढीले व्यवसायिक रुपमा पशुपालन गर्दै आएको  छन् ।

संघ सरकारकार मार्पmत दुईलाख ४८ हजार ३३३ वटा विरुवा उत्पादनका लागि ३८ लाख रुपैयाँ सशर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार विरुवा उत्पादनका लागि १२ लाख रुपैयाँ प्राप्त भएको थियो । कोरोना भाइरसको संंक्रमण बढेसँगै व्यापार व्यवसाय थप्प भएपछि गाउँ फर्कने र विदेशबाट फर्केकाको रोजाई गाउँको बाँझिएको जग्गामा डाँलेघाँस लगाउने र पशुपालन गर्नेतर्पm उन्मुख हुदैं गएपछि घाँसको माग बढ्नु स्वभाविक भएको डिभिजन बन कार्यालय कास्कीको भनाई थियो ।

प्रकाशित: ७ भाद्र २०७८ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App