१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ। कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौंबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए।

यसअघि काठमाडौंबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ। सिधा उडानका  लागि हवाई कम्पनीले बढी भाडा मागेको बेला राष्ट्रियसभाको सरकारी आश्वासन समितिले कोरिया जाने कामदारलाई थप आर्थिक भार नपर्ने गरी उड्ने व्यवस्था मिलाउन निर्देशन दिएको दवाडीले बताए।

१० हजारभन्दा बढी कामदार भाषा परीक्षा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान पाएका छैनन्। पहिलो लहरको कोरोना महामारीका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्।

‘सुरुमा कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाली पक्षले भाषा परीक्षा उत्तीर्ण गरेकालाई पठाउन बन्द गरेको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो समयमा कोरियाले हामीकहाँ महामारी फैलिएकाले कामदार लिन ढिला गरिरहेको छ।’ तर भाषा परीक्षा उत्तीर्ण गरेकाहरू भने सरकारले पहल नगर्दा कोरिया जान नपाएको दाबी गर्छन्।

केही समयअघि कोरिया सरकारले काठमाडौंबाट सिधा हवाई उडान हुनुपर्ने, कोरिया पुगेपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र त्यसको खर्च कामदारले बेहोर्ने सर्तमा रोजगारी सुरु गर्न सहमति जनाएको थियो। तर महामारीको कारण देखाउँदै हवाई कम्पनीले सिधा उडान गर्दा पहिलाकोभन्दा बढी भाडा लिन खोजेको तर संसदीय समितिले थप आर्थिक भार नपर्ने गरी कामदार पठाउन निर्देशन दिएकाले समस्या देखिएको विभागका कर्मचारी बताउँछन्।

‘संसदीय समितिको निर्देशनपछि कामदारलाई कसरी कोरिया पठाउन सकिएला भन्नेबारे सोचिरहेका छौंं,’ महानिर्देशक दवाडीले भने, ‘कामदार कोरिया लैजाने हवाई जहाजका लागि टेन्डर निकाल्ने प्रक्रियामा छौं। त्यसैले अझै बन्द रोजगारी सुरु हुन केही समय लाग्ने देखिन्छ।’

भाषा परीक्षा उत्तीर्ण गरेकाहरू भने सरकारी निकायले अलिकति मेहनत गर्ने हो भने सफल हुने दाबी गर्छन्। ‘कोरियन रोजगारदाता भाषा परीक्षा उत्तीर्ण गरेकालाई लैजान इच्छुक छन्,’ भाषा परीक्षा उत्तीर्ण गरेका सागर प्रसाईले भने, ‘सरकार गम्भीर हुने हो भने कोरिया रोजगारी चाँडो सुरु हुन्छ।’

भाषा परीक्षा उत्तीर्ण गरेको लामो समयसम्म कोरिया जान नपाएकाले सरकारका कारण ठूलो आर्थिक क्षति भइरहेको गुनासो गरेका छन्। कोरियामा न्यूनतमा मासिक पारिश्रमिक एक लाख ९० हजार रूपैयाँ हुन्छ। अधिकांशले ओभरटाइमको सुविधा पाउने भएकाले मासिक कमाइ तीन लाख रूपैयाँसम्म पुग्ने बताइन्छ। सन् २०२० मा करिब सात हजारलाई कोरियामा रोजगारी दिने तयारी थियो।

भाषा परीक्षा पनि अनिश्चित

कोरोना महामारीका कारण भाषा परीक्षा पनि अनिश्चित बनेको छ। विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार महामारी बढेकाले भाषा परीक्षा अनिश्चित बनेको हो।

दुई वर्षदेखि कोरियन भाषा परीक्षा हुन सकेको छैन। कोरोना महामारी सुरु हुनुअघि हरेक वर्ष भाषा परीक्षा हुन्थ्यो। कोरियाले रोजगारी अनुमति प्रणाली अन्तर्गत नेपालबाट सन् २००७ पछि कामदार लैजान थालेको हो।

रोजगारदाताको मागको आधारमा कोरिया सरकारले हरेक वर्ष नेपालबाट लैजाने कामदारको कोटा निर्धारण गर्छ। भाषा परीक्षा उत्तीर्ण गरेर हालसम्म करिब ६० हजार नेपाली कोरिया गएकामा ४० हजारजति उतै रहेको बताइन्छ। भाषा र सीप परीक्षा उत्तीर्णलाई रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले मन पराएका श्रमिकलाई बोलाएर काम दिन्छन्।

भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र कोरियाका रोजगारदाताले नबोलाए पुनः भाषा परीक्षामा प्रतिस्पर्धा गर्नुपर्ने नियम छ। सोही नियमका कारण हरेक वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका केही न केही कोरिया जानबाट वञ्चित हुने गरेका छन्। अहिले भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार कोरिया जानबाट रोकिएको बताइन्छ।

कोरियाले विश्वका १६ मुलुकबाट रोजगार अनुमति प्रणालीमार्फत कामदार लैजाने गरे पनि धेरैजसो कोरियन रोजगारदाताको छनोटमा नेपाली पर्ने गरेको विभागका कर्मचारी बताउँछन्।  

प्रकाशित: २९ श्रावण २०७८ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App