८ वैशाख २०८१ शनिबार
अर्थ

कोरोना विरुद्धको खोपले पर्यटनमा आशा

पोखराका पर्यटन व्यवसायी र मजदुरका लागि विहीबार कोरोना विरुद्ध खोप लगाइँदै । तस्बिरः नागरिक

कोरोना भाईरस संक्रमणको मार खेप्दै आएको पर्यटन क्षेत्र बल्ल खोपमा पहुँच पु¥याउन सफल भएको छ । खोप बिना पर्यटन क्षेत्र खुलाउन नसकिने बताउँदै आएको पोखराको पर्यटन क्षेत्रका लागि भनेर विहीबार पहिलो खेपको केहीमात्रा खोप उपलब्ध गराइएको छ । खोप लगाएपछि पर्यटन क्षेत्र सुरक्षित हुने व्यवसायीको अपेक्षा छ ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष तथा खोप कार्यक्रमका संयोजक पोमनारायण श्रेष्ठका अनुुसार पोखराको पर्यटन क्षेत्रका लागि मात्र भनेर २५ सय जनाका लागि खोप उपलब्ध गराएको बताए । पर्यटन व्यवसायी र कार्यरत मजदुरले भेरोसेल खोप लगाएका छन । पर्यटन क्षेत्रमा खोप माग गर्दै व्यवसायीले कहिले प्रदेश सरकार त कहिले स्थानीय प्रशासनमा दवाव दिँदै आएका थिए ।  

पहिलो खेपमा २५ सय व्यक्तिका लागि खोप पाएको श्रेष्ठले बताए । ‘पर्यटन क्षेत्रले लामो समय देखि कोरोना विरुद्धको खोप माग गर्दै आएको थियो । खोप माग्दै विभिन्न सरकारी निकायमा धाउँदा हामी नै थाकिसकेका थियौं,’ उनले भने, ‘अब भने केही राहत मिलेको छ । थप खोप भित्रिएपछि दोश्रो खेपमा अरु पनि उपलब्ध गराउने प्रदेश सरकारको वाचा छ ।’ पर्यटन व्यवसायी र कार्यरत मजदुरले विहीबार पोखराका विभिन्न पाँचवटा खोप केन्द्रबाट खोप दिइएको थियो । पहिलो आउनेलाई प्राथमिकताका आधारमा खोप दिइएको उनले बताए ।  

होटल, रेस्टुरेन्ट, पदयात्रा, ट्राभल लगायतका क्षेत्रमा कार्यरत पर्यटन मजदुर र व्यवसायीका लागि खोप दिइएको उनले बताए । ‘हुन त हाम्रो अहिलेको तत्कालको आवश्यकता १५ हजारका लागि थियो । तर, सुरुवाती चरणमा २५ सय जनाका लागि खोप आएको छ,’ श्रेष्ठले भने, ‘मुलुकमा थप खोप भित्रिएपछि अरु उपलब्ध गराइनेछ ।’ अहिले अपुग भएका मजदुर र व्यवसायीका लागि वेटिङ लिष्टमा राखेर दोश्रो खेपमा खोप उपलब्ध गराउन पहल गर्ने उनले बताए । ‘यहाँका मजदुर र कामदारले खोप नपाउँदा आन्तरिक पर्यटक पनि पोखरा घुम्न आउन डराएका थिए । खोप लगाएपछि पर्यटन क्षेत्रले केही सुरक्षित महसुस गरेको छ,’ उनले भने, ‘अवस्था सहज भएमा अब पर्यटन क्षेत्र खुलाउन सकिने आधार तय भएको छ ।’  

पर्यटन बोर्ड पोखराका निर्देशक काशिराज भण्डारी व्यवसायीले ठुलो दवाव दिएरै कोरोना विरुद्धको केही खोप हात पारेकोले अब पर्यटन क्षेत्रमा केही राहत मिल्ने बताउँछन । ‘खोप लगाएपछि केही न केही सुरक्षित हुने प्रमाणित भईसकेको छ । अब व्यवसायी र मजदुरको मनोवल बढेको छ,’ भण्डारीले भने, ‘आएका पाहुनालाई सेवा दिन पनि ढुक्क हुनेछ । पर्यटन व्यवसायीले अब व्यवसाय संचालन गर्ने माहोल बन्दै गएको छ ।’  काठमाडौं र चितवनका पर्यटन व्यवसायीले यसअघि नै खोप लगाएकोमा पोखरा भने पछाडि परेको थियो । ‘नेपालमा पर्यटन क्षेत्र सुरक्षित रहेको छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुग्नेछ । यसले आन्तरिक पाहुनालाई पोखरा भिœयाउन पनि सघाउनेछ,’ उनले भने ।  

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले पर्यटन व्यवसायीका लागि खोप लगाउने कामको सुरुवात मात्र भएकोले आगामि दिनमा थप खोप उपलब्ध गराउने प्रतिवद्धता जनाए । खोप नपाएको कारणले कोही पनि निराश हुनु नपर्ने उनले बताए । प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीले लामो समयदेखि नै कोरोना विरुद्धको खोपको माग गर्दै आएको बताए । थापाले व्यवसायीहरुको मागलाई निरन्तर रुपमा सम्बोधन गर्ने पनि प्रतिवद्धता जनाए । थापाले व्यवसायिक क्षेत्रमा कोरोनाको खोपको माग रहेको र त्यो मागलाई बिस्तारै पुरा गर्दै लैजाने बताए ।

परिषद्का पूर्व अध्यक्ष तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि पर्यटन क्षेत्रमा खोप आवश्यक परेको बताए । पर्यटन क्षेत्रले खोप पाएको सन्देश पुगेपछि आन्तरिक पाहुनामा घुमघामको माहोल बन्ने उनले बताए । उमेर समुह अनुसार सर्वसाधारण नागरिकले पनि खोप लगाएकोले अहिलेको संक्रमण कम हुनासाथ घुमघाममा निस्कन सक्ने माहोल आन्तरिक पाहुनामा बन्ने उनले बताए ।  

‘पोखराका होटलमा कार्यरत मजदुरले खोप पाएको सन्देश फैलिनासाथ पाहुना घुम्न आउनेमा हामी आशावादी बनेका छौ । पर्याप्त खोप उपलब्ध गराउने हो भने पर्यटन क्षेत्रले राहतको सास फेर्नेछ,’ भट्टराइले भने, ‘पोखरा लेकसाइडका पर्यटन व्यवसायीका लागि मात्र नभई पर्यटनमा अश्रित अन्य क्षेत्रका व्यवसायी र मजदुरका लागि खोपमा प्राथमिकता दिने हो भने पर्यटनमा राहत मिल्छ ।’

प्रकाशित: २८ श्रावण २०७८ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App