१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

गोरखामा मध्यपहाडीको काम सुस्त

गोरखाको मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल - ध्याम्पेसाल खण्ड तस्बिर: नरहरि सापकोटा / नागरिक

गोरखामा मध्यपहाडी लोकमार्गको काम कछुवा गतिमा छ। सात वर्षअघि सुरु भएको सडक स्तरोन्नतिको काम अझै सकिएको छैन। चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको ६३.३७ किलोमिटरमध्ये आरुघाट–वख्लेको १३ किलोमिट र वख्ले–खहरे १६ किलोमिटरको निर्माण २०७१/७२ मा सुरु भएको हो। आरुघाट–वख्ले सडकमा ८० प्रतिशत काम भएको छ। खहरेसम्म ५५ प्रतिशत मात्रै काम भएको मध्यपहाडी लोकमार्गको पालुङटारस्थित आयोजना कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद श्रेष्ठले बताए। ‘यो दुईवटा प्याकेज ‘क्रोनिक’ ठेक्का हो,’ उनले भने ‘भूकम्पले केही समय प्रभावित भयो, अहिले काम चलिरहेको छ।’

खहरे–मसाने ठाँटीको १२.५ किलोमिटरको २१ र मसाने ठाँटी–ठाँटीपोखरी सडकको १२ प्रतिशत प्रगति भएको छ। यो दुवै २०७६/७७ बाट सुरु भएको योजना हो। ‘आरुघाट क्षेत्रको चार किलोमिटर डुबानमा पर्ने भएकाले पहिले काम भएन,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले उक्त खण्डमा पनि काम भइरहेको छ।’  गोरखामा निबेलस्थित जराङखोलामा पक्की पुल बन्दैछ।

उक्त पुलको प्रगति ९२ प्रतिशत भएको छ। पालुङटारबाट चेपेतर्फको सडक खण्डमा पर्ने गोहोरे खोला पुलको प्रगति ७२ प्रतिशत छ भने सिदी खोला पुल सम्पन्न भइरहेको छ। २०७५ पुसदेखि गोरखाको पालुङटारमा कार्यालय राखेर मध्यपहाडीले गोरखा, नुवाकोट, धादिङ र लमजुङ जिल्लाको मध्यपहाडी क्षेत्र पर्ने सडक हेर्दै आएको छ। दुई सय ३३ किलोमिटर सडक मध्यपहाडी अन्तर्गत यी जिल्लामा पर्छन्। १२ वटा पक्की पुल निर्माण भइसकेको छ भने चारवटा निर्माणको क्रममा छ।  

गोरखामा ६३.३७ प्रतिशत सडक मध्यपहाडी लोकमार्गमा पर्छ। यो सडकको दुई अर्ब एक लाख १७ हजारमा ठेक्का सम्झौता भएको हो। आयोजनाका सूचना अधिकारी गोविन्दप्रसाद श्रेष्ठले गोरखाभित्रको सबै योजनाको प्रगति ४७ प्रतिशत भएको बताए। उनले भने, ‘आर्थिक वर्ष २०७७/७८ को भने ९२ प्रतिशत वित्तीय प्रगति छ।’ ११ वटा पुल नुवाकोटमा सम्पन्न भएको छ। सडकमा भने गोरखामा प्रगति धेरै भएको उनले बताए। धादिङतर्फ ठेक्का नै लागेको छैन।

प्रकाशित: २८ श्रावण २०७८ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App