१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा बेथिति: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

म्यानपावर कम्पनी र दलालहरूले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रूपैयाँ हाराहारीमा लुटिरहेका छन्। म्यानपावर कम्पनी र दलालहरूले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन्। तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन्। यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा १ अर्ब रूपैयाँ हाराहारी छ।

वैदेशिक रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मात्र म्यानपावर कम्पनी र दलालहरूले नेपाली युवाबाट १ अर्ब ३२ करोड रूपैयाँ लुटेका छन्। उक्त आर्थिक वर्षभरिमा विभिन्न विदेशी मुलुकमा आकर्षक रोजगारीमा लगाउने आशा देखाएर पठाइएका युवाले आफूहरू ठगिएको भन्दै विभागमा उजुरी दिएका थिए। ती युवाले विदेश जान आफूहरूले १ अर्ब ३२ करोड रूपैयाँ बुझाएको दाबी गर्दै असुलउपरका लागि विभागसमक्ष निवेदन पेस गरेका थिए।

गत वर्ष मात्र होइन, विभागको तथ्यांकअनुसार पछिल्ला ६ वर्षमा यस्तै प्रलोभनमा पारेर ९ हजार १ सयजनालाई अलपत्र पारिएको छ भने उनीहरूबाट करिब ५ अर्ब रूपैयाँ लुटिएको देखिएको छ। विभागले यो रकम असुलउपर गर्नुपर्ने भनेको छ। विभागको तथ्यांक हेर्दा एक वर्षमा औसतमा १ हजार ५ सय १६ युवा प्रलोभनमा पर्ने र लाखौं रकम गुमाउने गरेको देखिएको छ। वैदेशिक रोजगारीमा ठगिए पनि कतिपय युवाले विभागमा उजुरीसमेत दिँदैनन्। विभागमा दर्ता नभएका उजुरीलाई समेत आधार मान्ने हो भने बर्सेनि १ अर्ब रूपैयाँ हाराहारी रोजगारीका नाममा ठगी हुने गरेको विभागका कर्मचारीहरू बताउँछन्। विभागका अनुसार आव २०७२/७३ मा ६९ करोड ५० लाख रूपैयाँ ठगी भएको उजुरी परेको थियो। २०७७/७८ मा आउँदा १ अर्ब ३२ करोड रूपैयाँ ठगी भएको उजुरी परेको हो।

विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले खाडी, मलेसियामा पठाउनेदेखि युरोप, अमेरिकाको रोजगारीसँग जोडेर ठगी गर्ने गिरोह सक्रिय भएको बताए। ‘खाडी र मलेसियामा सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएको उजुरी धेरै आउँछन्,’ महानिर्देशक दुवाडीले नागरिकसँग भने, ‘युरोप, अमेरिकाका नाममा एकैजनाबाट लाखौं रूपैयाँ ठगिएको हुन्छ।’ यस्तो ठगी धन्दामा म्यानपावर र दलालबीच संलग्नता हुने गरेको छ। खाडी र मलेसियाको धेरैजसो ठगी म्यानपावरबाट हुने गरेको छ भने युरोप, अमेरिकाको ठगीमा दलालको पनि संलग्नता हुने गरेको छ। ठगी गर्नेहरूको सम्बन्ध पहुँच पुग्ने व्यक्तिहरूसँग हुने र कतिपय पहुँचवाला नै यस्तो ठगी गर्ने धन्दामा भएकाले कारबाही नाम मात्रको हुने गरेको छ। ठगी गर्नेलाई कारबाही हुन नसकेपछि प्रलोभनमा पार्ने धन्दा झनै मौलाउँदै गएको छ।

विभागका महानिर्देशक दुवाडी युरोप, अमेरिकाको लोभमा शिक्षित व्यक्तिसमेत ठगीमा पर्ने गरेको बताउँछन्। ‘पछिल्लो समय अमेरिका, युरोपका राम्रा मुलुक पठाउने भन्दै ठग्ने गरेको पाइएको छ,’ उनले भने, ‘युरोप, अमेरिका जाने भनेपछि धेरैले दलाललाई सहजै पैसा बुझाउने गरेको देखिन्छ।’ ठूलो रकम ठगी हुँदा पनि विभागले भने थोरै उजुरीलाई मात्र फस्र्योट गर्ने गरेको छ। विभागका कर्मचारीहरू उजुरी फस्र्योटमा ढिलाइ हुनुमा पर्याप्त जनशक्ति नहुनु, उजुरी गरिसकेपछि पीडित सम्पर्कमा नआउनु तथा ठगीको गतिलो प्रमाण पेस हुन नसक्नुलाई मुख्य कारण मान्छन्। कोरोना महामारीमा पनि वैदेशिक रोजगारीका नाममा ठगी हुने गरेको छ।

एउटै म्यानपावरले गर्‍यो पौने ३ करोड ठगी

भेरी ओभरसिस एक्लैले विभिन्न प्रलोभनमा १ सयभन्दा बढी युवालाई ठगी गरेपछि सञ्चालक रामेश्वर सिंह पक्राउ परेका छन्। रोजगार विभागमा सिंहविरुद्ध १ सय ११ वटा उजुरी परेका छन्। विभागका निर्देशक रामप्रसाद पौडेलले १ सय ११ जनाबाट भेरी ओभरसिजले २ करोड ७४ लाख रूपैयाँ ठगी गरेको उजुरी परेको बताए। ‘ठूलो रकम ठगी गरेको उजुरी परेपछि पीडितलाई कसरी फिर्ता दिलाउने भन्नेबारे अहिलेसम्म कुनै टुंगोमा पुग्न सकिएको छैन,’ उनले भने।

२०७६ सालमा सरकारले धरौटी वृद्धि गर्ने निर्णय गरेपछि यो म्यानपावर नवीकरण नभएको विभागले जनाएको छ। निर्देशक पौडेलले भेरी ओभरसिजको धरौटी विभागसँग २० लाख रूपैयाँ मात्र रहेको जानकारी दिए। विभागका कर्मचारीले धरौटी वृद्धि गराउन सकेको  भए यतिखेर यसको धरौटी कम्तीमा साढे १ करोड हुन्थ्यो।  ‘धरौटी वृद्धि नभएका कारण पुरानो नियमअनुसार त्यस म्यानपावरको धरौटी २० लाख रूपैयाँ मात्र छ। यसले पौने ३ करोड रूपैयाँ ठगी गरेका उजुरी परेको छ,’ पौडेलले भने, ‘त्यसैले पीडितको रकम फिर्ता गराउन के गर्ने भन्नेबारे अन्योल भएको हो।’  

ठगीमा परेका एक व्यक्तिले जेलमा रहेका सिंहले विभागलाई प्रभावित पारी भएकै धरौटीको रकमसमेत निकासा नगर्न प्रयास गरेको आरोप लगाए। ‘विभागले चाहेको भए अहिलेसम्म धरौटीको रकमबाट केहीलाई र अपुग ठगीको रकम घरघरानाबाट असुलउपर गर्ने व्यवस्था भइसक्थ्यो,’ ती पीडितले भने, ‘विभागको ढिलासुस्तीले पीडितलाई अन्याय भइरहेको छ।’

वैदेशिक रोजगार ऐन, २०६४ ले म्यानपावरले धरौटीभन्दा बढी रकम ठगी गरेको पुष्टि भए सञ्चालकको घरघरानाबाट असुलउपर गर्न सकिने व्यवस्था गरेको छ। नवीकरण नगरेका कारण भेरी ओभरसिज खारेज भइसकेकाले विभागले ढिला नगरी सञ्चालकको घरघरानाबाट असुलउपरको निर्णय हुनुपर्ने कानुन व्यवसायीको धारणा छ। यो म्यानपावरको ठगीमा पर्ने १ सय ११ जनामध्ये सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार मधुकुमार ठकुरी पनि हुन्। वैदेशिक रोजगारीको अभिलाषा पूरा गर्न काठमाडौंको थानकोट निवासी ३८ वर्षीय ठकुरीले यो म्यानपावरलाई २ लाख रूपैयाँ दिएको बताए। उनले २०७५ को सुरुवातमा म्यानपावरलाई रकम दिए पनि अहिलेसम्म विदेश जान  पाएका छैनन्।  

‘सहयोगको याचना गर्दै जहाँ गए पनि अहिलेसम्म सबै अनेक बहाना निकाल्दै ठगी गर्नेलाई कारबाही गर्ने चासो दिँदैनन्,’ उनी भन्छन्, ‘मेरो हैरानीले यो देशमा जसले सक्छ, उसले खान्छ कि जस्तो लागिरहेको छ।’कतिपय पीडित विभागले क्षतिपूर्ति दिलाउन ढिलाइ गर्नुको कारण ठगी गर्नेको प्रभावमा परी पीडितलाई गलाउने भित्री उद्देश्य रहेको दाबी गर्छन्।  ‘ठगीमा परेका कैयौं साथी अन्य मुलुकमा रोजगारीका लागि पुगिसकेका छन्,’ पीडितले भने, ‘त्यो रकम पाउने/नपाउने टुंगो नहुँदा म पनि वैदेशिक रोजगारीमै जाने तर्खरमा छु।’ हाकाहाकी ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न नसक्ने हो भने दण्डहीनता मौलाउने उनीहरूको भनाइ छ।  

ठगीमा पर्नेहरू धेरैजसो सेना र प्रहरीको जागिर छाडेका वा अवकाश पाएका छन्। तीमध्ये कसैलाई अफगानिस्तान, कसैलाई क्यानडा, कसैलाई युरोपेली मुलुक पोर्चुगल, पोल्यान्डलगायत देशमा पठाउने भन्दै म्यानपावरले असुली गरेको थियो। विभागका महानिर्देशक दवाडी म्यानपावरले ठगी गरेकालाई क्षतिपूर्ति दिलाउन व्यक्तिगत ठगी (सञ्चालकले तिर्ने) तर्फ लैजानुको विकल्प नभएको बताउँछन्।

विभागका अधिकारीहरूले मौखिक रूपमा पीडितलाई क्षतिपूर्ति दिलाउन व्यक्तिगत ठगीतर्फको प्रक्रिया थाल्नुपर्ने बताउने गरे पनि निर्णय गर्न भने ढिलाइ गरिरहेको पीडितको आरोप छ।  ‘यसअघिका महानिर्देशक पनि सञ्चालकको घरघरानाबाट असुलउपर गर्ने निर्णय हुन्छ भन्नुहुन्थ्यो,’ पीडितले भने, ‘तर यस अवधिमा तीन महानिर्देशक परिवर्तन भए तर उजुरी जस्ताका तस्तै छन्।’  म्यानपावर सञ्चालक साढे एक वर्षको जेल सजाय पूरा गरी घर फर्कने तयारीमा छन्। 

उक्त म्यानपावरले त्यति धेरैसँग ठूलो रकम असुल गर्दा पनि विभागले अनुगमन गरेको पाइँदैन। म्यानपावरको नियमित अनुमगन गर्ने जिम्मा विभागको हो। त्यस म्यानपावरले  एकै व्यक्तिलाई २ लाखदेखि १६ लाख रूपैयाँसम्म ठगी गरेको उजुरी परेको विभागले जनाएको छ। विभागका अधिकारीहरू त्यतिबेलै राम्रोसँग अनुमगन गर्न सकेको भए यो समस्याले अहिले विकराल रूप नलिने अनुमान गर्छन्। लामो समय सुरक्षा निकायमा काम गरेका र कतिपयले घरघडेरी बिक्री गरी म्यानपावरलाई रकम बुझाएपछि घर न घाट बनाएको पीडित ठकुरी बताउँछन्।

प्रकाशित: २६ श्रावण २०७८ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App