६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्तःशुल्क दिने उद्योग सुकेपछि राजश्वमा प्रभाव

राजश्वमा महत्वपूर्ण योगदान गर्ने वीरगन्जस्थित आन्तरिक राजश्व कार्यालय, पर्साले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा १७ प्रतिशत कम राजश्व संकलन गरेको छ। वीरगन्ज करिडोरमा रहेको अन्त:शुल्कको दायरामा भएका उद्योगहरु सुकेपछि त्यसको प्रभाव राजश्व संकलनमा परेको हो।  

२०७७/०७८ मा नौ अर्ब ८१ करोड ६८ लाख २ हजार रुपैयाँ राजश्व संकलनको लिएको लक्ष्यको ८२.९४ प्रतिशत पूरा गर्दै यस कार्यालयले आठ अर्ब १४ करोड २१ लाख १ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष उठेको छ अर्ब ४८ करोड १९ लाख राजश्व संकलनको तुलनामा एक अर्ब ६६ करोड २ लाख ७१ हजार रुपैयाँ अर्थात २५.६१ प्रतिशत बढी नै यसपालीको संकलित रकम हो। निर्धारित लक्ष्यमा छ अर्ब ४९ करोड १३ लाख १७ हजार अर्थात ६६ प्रतिशतको ठूलो हिस्सा रहेको रहेको अन्तःशुल्क संकलन भने आधाको हाराहारीमा मात्र सीमित भएपछि कार्यालयले आर्थिक वर्षको समग्र लक्ष्य भने भेट्टाउन सकेको छैन।  

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा यस कार्यालयले एघार अर्ब ३ करोड ६४ लाख ७२ रुपैयाँ लक्ष्य पाए पनि त्यसको ५७.७३ प्रतिशत मात्रै राजश्व संकलन गर्न पाएको थियो। उक्त तुलनामा यसपटकको लक्ष्यको ८२.९४ प्रतिशत संकलन सन्तोषजनक नै रहेको कार्यालयका अधिकृतहरुको भनाइ छ। कार्यालयले आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घर बहाल कर, ब्याज कर र शिक्षा तथा स्वास्थ्य कर संकलन गर्दै आएको छ। कार्यालयका सूचना अधिकारी कर अधिकृत हृदय नारायण महतोका अनुसार लक्ष्यको मुख्य हिस्सा अन्तःशुल्कले ओगट्ने गरेको बताउँछन्। उनका अनुसार यसपटक अन्तःशुल्क संकलनमा प्रभाव परेपछि लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेन।

उद्योगबाट अन्तःशुल्क घट्यो

वीरगन्ज क्षेत्रमा रहेका मदिरा उत्पादन गर्ने उद्योगले कार्यालयको लक्ष्यअनुसार अन्तःशुल्क संकलनमा योगदान गर्दै आएका थियाे। उनीहरुले अघिल्ला वर्षहरुमा तिरेको अन्तःशुल्कको परिमाण नयाँ लक्ष्यसमेत निर्धारणमा एउटा आधार समेत हुने गरेको हो। यसपाली त्यस्ता ७ वटा उद्योग बन्द वा आंसिक मात्र संचालनमा रहेपछि त्यहाँबाट आउने अन्तःशुल्क स्वभाविक रुपमा घटेको महतोको विश्लेषण छ। वीरगन्ज, पटेलनगरमा रहेको हिमालयन डिष्टिलरीले अन्तःशुल्कमा राम्रो योगदान गर्दै आएको थियो। 

उक्त उद्योगको उत्पादन केही ब्राण्ड बजारमा निकै चलेको छ। पर्सामा उत्पादन गर्दै आएको सो ब्राण्डसहित आफ्नो उत्पदन डिष्ट्रिलरीले अहिले चितवनमा सारेको छ। चितवनकै आन्तरिक राजश्व कार्यालयमा उक्त उद्योगको अन्तःशुल्क बुझाउँछ। तर केही यस्ता उद्योगहरुको उत्पादन नै बन्द भएको कारण त्यसबाट आउने अन्तःशुल्क पनि नआउने भएको छ।  

मजदुरको हड्तालका कारण वीरगन्जस्थित एशियन डिष्ट्रिलरी भने बन्द नै भएको छ। रुपन्देहीमा उसले आफ्नो अर्को कारखाना स्थापित गरेपनि साबिकजस्तो उसको उत्पादन बजारमा अहिले भेटिँदैन। अरुणोदय डिष्ट्रिलरी र एक्सन वाइन डिष्ट्रिलरीको उत्पादन पूर्ण रुपमा बन्द रहेको कार्यालयले जनाएको छ। उदयपुर डिष्ट्रिलरी, धौलागिरी डिष्ट्रिलरी र स्नोलैण्ड डिष्ट्रिलरी आंसिक मात्र चलेका छन्। अन्तःशुल्कमा ति डिष्ट्रिलरीको उल्लेखनीय योगदान भने छैन।

आन्तरिक राजश्व कार्यालय, पर्सा वीरगन्जमा १५ हजार ६ सय ६ जना नयाँ करदाता थपिएका छन्। स्थायी लेखा नम्बर (पान) संस्थागत तीन हजार ४ सय ८१ र १० हजार ६ सय ९९ व्यक्तिगत दर्ता भएको छ। नौ सय ४५ मूल्य अभिवृद्धि कर (भ्याट)मा र दुई सय २७ अन्तःशुल्क दर्ता भएको छ। आर्थिक वर्ष २०७७/०७८ को तन्तसम्म करदाता व्यक्ति तथा फर्महरुको संख्या यहाँ एक लाख २ हजार ६ सय ५३ पुगेको छ। त्यसभन्दा अघिल्लो आर्थिक वर्षसम्म करदाताको संख्या ८७ हजार ४७ मात्रै थियो।

प्रकाशित: २५ श्रावण २०७८ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App