धनकुटाको पाख्रीवास नगरपालिकामा वृहत कफी विकास कार्यक्रम सुरू भएको छ । नगरपालिकाले एक कार्यक्रमकाबीच शनिवार कफी विकास कार्यक्रमको उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले विश्व बजारमा नेपालको कफी उच्चस्तरको रहेको प्रमाणित भइसकेकाले व्यवसायीक रूपमा कफी खेतीलाई विकास गर्न सके किसानको जीवनस्तर सुधार हुने बताए । नेपालमा कफी खेतीको प्रशस्त सम्भावना रहेकाले वृहत् मात्रमा कफी खेती विस्तार गरी गुणस्तरीय कफी उत्पादनमा लाग्नु पर्नेमा उनले जोड दिए । पाख्रीवास नगरपालिकामा व्यापकरुपमा कफी उत्पादन हुने भएकाले सबै कृषकलाई व्यापकरुपमा कफी खेतीमा लाग्न उनले आग्रह समेत गरे । नगरपालिकाले सुरुवात गरेको कफी विकास कार्यक्रम स्वागत योग्य रहेको र यसबाटै स्थानीय जनताको जीवन स्तर सुधार हुनेमा उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चुवानले सामन्ति संस्कारबाट हुर्केका शिक्षित युवाले कृषि कर्मलाई हेयको दृष्टिले हेर्ने गरेकाले मुलुकले समृद्धि हासिल गर्न नसकेको बताए । उनले युवाहरूलाई उत्पादन तथा व्यवसायमा लाग्न आग्रहसमेत गरे । पाख्रीवास नगरपालिकामा कुल खेतीयोग्य जमीन ६३८७.४० हेक्टर रहेको र जसमध्ये ४८ सय हेक्टर जग्गा कफी खेतीका लागि उपयुक्त भएको नगरपालिकाका कृषि विशेषज्ञ एवं कृषि अभियन्ता जिवन राईले बताए । ८४ लाख विरूवा लगाउने योजना रहेको जानकारी गराउँदै राईले आगमी ५ वर्षमा २ करोड ४० लाख किलोग्राम कफी उत्पादन हुने बताए ।
पाख्रीवास नगरपालिकाले ४५ लाखको लगतमा कफी हाईटेक नर्सरी निर्माण र ५५ लाख रूपैयाँको लगतमा कफी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । त्यस्तै, वडाभित्र कफी खेतीको सम्भावना खोजी गर्ने, तालिम सञ्चालन गर्ने, पाख्रीबास तथा समग्र धनकुटा झल्कने कफीको ब्रान्ड निमार्ण गर्ने र नगरपालिकामा कफी पर्यटनका लागि कार्यहरु अघि बढाउने योजना नगरपालिकाको रहेको छ ।
प्रकाशित: २३ श्रावण २०७८ ०९:१८ शनिबार