१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरेली व्यवसायी भन्छन्ः हामीलाई खोप चाहियो

सबैतिर खोपको माग

कोरोना विरुद्धको खोप माग्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका पोखरेली व्यवसायी छलफलमा । तस्बिरः नागरिक

पर्यटन व्यवसायीले कोरोना विरुद्धको खोप माग्न थालेको महिनौं भयो । खोप नपाएसम्म व्यवसाय संचालन नगर्ने पर्यटन व्यवसायीको अडान कायमै छ । खोप माग्दै पर्यटन व्यवसायी दिनहुँजसो संघीय, प्रदेश सरकार, स्थानीय तहसँग ताकेता गर्न पुगिरहेका छन । तर, हात लाग्यो शून्य, सरह अहिलेसम्म व्यवसायीले खोप पाएका छैनन् । एकाध व्यवसायीले पहुँचको आधारमा खोप लगाएको भएपनि पर्यटन क्षेत्रले खोपमा प्राथमिकता पाएको छैन ।

आफुहरुले माग गरिरहेपनि अहिलेसम्म खोप पाउने विश्वस्त आधार पनि पर्यटन व्यवसायीले पाएका छैनन् । पर्यटन व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउन खोपको विकल्प नभएको बताईरहेका छन । व्यवसायी र मजदुरले खोप नपाएसम्म पाहुना नआउने र पाहुना नआए व्यवसाय धान्न नसकिने अवस्था रहेको उनीहरुको भनाई छ ।  त्यसैले जतिसक्दो छिटो खोप पाउनुपर्ने माग उनीहरुको छ ।  

खोपको यस्तै माग उद्योग बाणिज्य संघमा आबद्ध व्यवसायीको पनि छ । संघमा आवद्ध व्यवसायी पनि कोरोना विरुद्धको खोप नपाउँदा व्यवसाय चलाउन सकस भएको बताउँछन् । उद्योगी व्यवसायीलाई खोपको प्राथमिकतमा राख्न उनीहरुको पनि ताकेता छ । यस्तै ताकेता यातायात व्यवसायीको पनि छ । दिनहुँ हजारौं यात्रुसँग ठोकिने भएकोले यातायात व्यवसायीलाई पनि फ्रन्टलाइनर सरह खोपमा प्राथमिकता दिनुपर्ने यातायात व्यवसायीको माग रहेपनि सरकारले वेवास्ता गरिरहेको व्यवसायीको गुनासो छ ।  

व्यवसायिक मात्र नभई खेल क्षेत्रमा पनि खोपको माग छ । साना ठुला व्यवसायीका सबैं संस्थाहरु यतिबेला खोप माग्दै सरकारी निकायमा धाउने गरेका छन । तर, उनीहरुले मागेजस्तो खोप पाएका छैनन । पर्यटन व्यवसायी भन्छन, ‘खोप माग्ने काम मात्र भएको छ । तर, पाउने आधार देखेका छैनौ । पर्यटन क्षेत्रलाई खोपमा विशेष प्राथमिकता देउ भनेका छौ, तर, अहिलेसम्म पाएका छैनौ ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई भन्छन्, ‘अहिलेसम्म खोप पाउने आश्वासन मात्र पाएका छौ । तर, अवस्था हात लाग्यो शुन्य भएको छ ।’ पर्यटन व्यवसायी र आवद्ध मजदुरलाई कोरोना विरुद्धको खोप दिलाएर बिस्तारै आर्थिक चलायमान बनाउनुपर्छ भन्ने सोच राखेपनि सरकारले त्यो नसोचेको उनले बताए । ‘अब लिभिङ टुगेदर विथ कोभिड भन्नुको विकल्प छैन । त्यसैले सरकारले हाम्रा माग सम्बोधन गरोस भनेका हौ । अहिलेसम्म माग्ने काम मात्र भएको छ,’ उनले भने, ‘तर पाउने काम भएको छैन । सरकारका तिनवटै तहका उच्च निकायमा बारम्बार खोप माग्न पुगेपनि सकारात्मक भनाई बाहेक केही पाएनौ ।’  

पर्यटन चलायमान बनाउनु भनेको राज्यलाई पनि सहयोग हुनु हो तर, सरकारले त्यो नबुझेको उनले बताए । ‘मजदुरको मनोवल पनि बढाउने काम गरौं भनेका छौ । तर आश्वासन मात्र पाएका छौ, कार्यन्वयन भएको छैन,’ उनले भने, ‘सरकारले पर्यटन मैत्री व्यवहार नदेखाएको हाम्रो गुनासो हो । ललिपप देखाउने काम मात्र भएको छ, त्यो ललिपप चाख्न दिइएन ।’ कोरोना विरुद्ध खोप पाउँद्या व्यवसायीलाई एक तहसम्म राहत होला भन्ने आफुहरुको भनाई रहेपनि सरकारले व्यवसायीको बाध्यता नबुझेको उनले बताए ।  

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुृर केसीले पनि अहिलेसम्म खोप माग्ने मात्र काम भएको बताउँछन । ‘केहीदिन अघि यातायात मजदुरलाई पनि खोप दिने भनेर लाम बस्न भनियो, तर पछाडि फिर्ता पठाइयो,’ केसीले भने, ‘यातायात व्यवसायी र यात्रुको सम्बन्धलाई राज्यले बुझ्न सकेन ।’ व्यवस्थापन पक्षको कमजोरीले गर्दा यातायात व्यवसायीलाई प्राथमिकता नदिएको उनको गुनोसो छ ।  

‘पाउनुपर्ने मान्छेले खोप पाएको छैन, नपाउनेले खोप पाएको छ । यात्रुसँग दिनहुँ भेटघाट हुने भएकोले यातायात व्यवसायीले प्राथमिकतामा पर्नुपर्ने हो,’ उनले भने, ‘राज्यको विवेक नभएको हो । दिनहुँ हजारौं यात्रुसँग हाम्रो भेटघाट हुने हो । त्यसैले हामीले व्यवसायलाई संवेदनशील मानेका हौ । फ्रन्टलाइनर भन्दा कम होईनन यातायात व्यवसायी भन्ने हाम्रो बुझाई छ ।’

पोखरा उद्योग वाणिज्य संघले पनि संक्रमणको जोखिममा रहेका उद्योगी–व्यवसायीहरुलाई कोरोना विरुद्धको खोपको प्राथमिकताको सूचीमा राख्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।  कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग सम्पर्क हुने व्यवसायीहरु खोपबाट बञ्चित हुँदा संक्रमण फैलन सक्ने खतराप्रति सचेत रहन पनि प्रदेश सरकारलाई सुझाएको छ ।  

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली समक्ष व्यवसाय जोगाउने दायित्व सरकारकै भएको बताउँदै व्यवायीले खोप पाउँदा अर्थतन्त्र उकालो लाग्ने बताए । यथासक्य छिटो व्यवसायीलाई खोपमा प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । ‘व्यवसायीको लागि निश्चित मात्रामा खोप छुट्याएर व्यवस्थापन गर्न भनेका छौ,’ कोइरालाले भने, ‘हरेक कुराको लागि केन्द्र सरकार गुहार्नुपर्ने प्रवृत्तिको अन्त्य गराउनु प्रदेश सरकारको दायित्व भएकोले खोपको लागि नजिकको सरकारसँग आग्रह गरेका छौ । व्यवसायीलाई अब खोपमा प्राथमिकता दिनुको विकल्प छैन ।’  

व्यवसायीको ज्ञापनपत्र बुझेसँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताए । ‘सरकारको पहिलो प्राथमिकता खोप नै हो, प्रदेश सरकारले खोपकै लागि बजेट पनि विनियोजन गरेको छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘तर, प्रदेश तहबाट खोप खरिदको बाटो नखुल्दा र खोपको मात्रा केन्द्रले नै तोक्ने हुँदा सबैलाई समयमा खोप दिन नसकिएको हो ।’ उनले केन्द्र सरकारसँग केही बढी खोप मागिएको जानकारी दिँदै पर्याप्त खोप आउनासाथ प्राथमिकता तोकेर सबैलाई खोप दिने आश्वासन पनि दिए ।  

व्यवसायीसँगको छलफलमा गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले व्यवसायीहरुको लागि खोप दिने कार्य सुरु गर्नेतर्फ प्रदेश सरकारले पहल गरेको बताए । खोप प्राप्त भएपछि अर्थतन्त्रले गति लिन्छ भन्नेमा प्रदेश सरकार सहमत भएको उनको भनाई थियो । 

प्रकाशित: १४ श्रावण २०७८ १०:०१ बिहीबार

पोखरेली व्यवसायी