१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मेरो देश मेरै उत्पादन नाराका साथ मोरङका उद्योगी, व्यवसायीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न घरदैलो अभियान थालेका छन्। बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उद्योगीको टोलीले मुख्यमन्त्री शेरधन राईलाई स्वदेशी उत्पादनको प्रवर्द्धन लागि अभियान थालेको जानकारी गरायो।  

मुख्यमन्त्रीसँगको भेटमा टोलीले स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउन आग्रह गरेको छ। मुख्यमन्त्री राईले स्वदेशी उद्योग र उत्पादन प्रवर्द्धनमा सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन्। राईले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। यस्तै, टोलीले कृषि मन्त्रालय पुगेर भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरलाई भेटेर आग्रह  गरेको छ।  

यस्तै, सामाजिक विकास मन्त्री उषाकला राईलाई पनि उद्योगी टोलीले भेट गरेको छ। टोलीले मुख्यमन्त्री तथा मन्त्रीहरूको कार्यकक्षमा ‘मेरो देश, मेरै उत्पादन’को लोगो राख्न आग्रह गरेको छ । उद्योगी टोलीसँगको भेटमा सामाजिक विकासमन्त्री राईले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्। उनले अर्काको नक्कल गरेर नभई आफ्नै मौलिक वस्तु पहिचान गरेर विश्वभर पुर्‍याउन सके देश समृद्ध बन्ने धारणा राखिन । राईले भनिन्, ‘अर्काको नक्कल गरेर होइन, स्वदेशी वस्तुको पहिचान गरेर विश्व बजारमा पुर्‍याउन सके देशको समृद्धि र विकास सम्भव छ।’  

मेरो देश, मेरै उत्पादन नारा सबै नेपालीको मनमा बसोस् भन्ने उद्देश्यले स्वदेशी वस्तुको प्रवर्द्धनका लागि घरदैलो अभियान थालेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए। प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले उद्योगीले सुरू गरेको अभियान सकारात्मक भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मुन्दडाले जानकारी दिए। उनले भने, ‘हाम्रो अभियानलाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले सकारात्मक रूपमा लिनुभएको छ।’  

संगठनका अध्यक्ष सुयश प्याकुरेलले स्वदेशी वस्तुको प्रवद्र्धन गर्न जागरण अभियानका रूपमा प्रदेशका मुख्यमन्त्री र मन्त्री तथा सचिवहरूको कार्यकक्षमा पुगेको जानकारी दिए । प्याकुरेलले स्वदेशी वस्तु प्रवर्द्धनका लागि मुख्यमन्त्री, मन्त्री तथा सचिवहरूको टेबलमा चारबुँदे प्रतिबद्धतापत्र र भित्तामा ‘मेरो देश, मेरै उत्पादन’ नारा अंकित बोर्डसमेत राखिएको बताए। स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा सुरू गरेको अभियानको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १३ गते  गरेका थिए । 

प्रकाशित: १४ श्रावण २०७८ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App