८ वैशाख २०८१ शनिबार
अर्थ

पोखराका ठूला होटल खुल्न थाले

कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएकामध्ये ठूला होटल खुल्न थालेका छन्। पर्याप्त पाहुना नभए पनि होटललाई टिकाइराख्न खोल्नुपरेको व्यवसायीले बताएका छन्।  

स्थानीय प्रशासनले होटलको क्षमताभन्दा आधा संख्यामा पाहुना राख्न पाउने गरी खुकुलो गराएपछि व्यवसायीले दैलो उघारेका हुन्। साना र मझौला होटल व्यवसायीले भने अझै खोलेका छैनन्।

खुलका ठूला होटलले पाहुना भने पाएका छैनन्। केहीले एकाध पाहुना आएको बताएका छन्। गत वैशाख दोस्रो सातादेखि होटल पूर्ण रुपमा बन्द थिए। पछिल्लो समय संक्रमणको दर केही बढेकाले पर्यटकले हिँडडुलको योजना नबनाएको व्यवसायीको अनुमान छ। कोरोनाविरुद्धको खोप सबै नागरिकले नपाएकोले पनि घुमघाममा निस्कन सर्वसाधारण डराएको व्यवसायीको भनाइ छ।  

व्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कामदारले खोप लगाउन नपाएकोले तत्काल होटल सञ्चालनमा ल्याए पनि पाहुना आउने सम्भावना निकै कम रहेको व्यवसायी बताउँछन्।  

पाँतचारे होटल पोखरा ग्रान्ड आइतबारदेखि खुलेको छ। क्षमताको आधा पाहुना राख्न पाउने भएपछि होटल सञ्चालन गरेको पोखरा ग्रान्डका सिनियर सेल्स म्यानेजर कमल शेरचनले जानकारी दिए। यो होटलमा १४० कोठा छन्। ‘आन्तरिक पाहुनाबाट फाट्टफुट्ट सोधपुछ आइरहेको छ। केही व्यावसायिक कम्पनीले पनि कार्यक्रमका लागि सोधपुछ गरिरहेका छन्,’ शेरचनले भने, ‘तत्काल विदेशी पाहुनाको अपेक्षा होइन, केही आन्तरिक पाहुना र कार्यक्रम आउने अनुमान छ।’  

सधैं बन्द गरिरहँदा पूर्वाधार र सरसामान नष्ट भइ झनै बढी नोक्सानी खेप्नुपर्ने उनले बताए। सुरक्षा सचेतना अपनाउँदै आएका पाहुनालाई सेवा दिँदै जाने योजना उनले सुनाए।  

बाराही होटल पनि खुलेको छ। बाराहीका महाप्रबन्धक राजकुमार केसीले अघिल्लो सातादेखि होटल खोलेको जानकारी दिए। बाराहीमा ८० कोठा छन्। केही संख्यामा पाहुना आएको र सोधपुछ पनि हुन थालेकोले होटल खोलेको केसीले बताए। ‘आन्तरिक पाहुना केही आएका छन्। ८–१० कोठामा पाहुना टुटेका छैनन्,’ केसीले भने। सधैं त्रासमा बस्नु भन्दा सतर्कता अपनाएर सेवा दिन थालेको  उनले बताए।  

टेम्पल ट्री रिसोर्टका सञ्चालक बसन्त गौतमले नियमित पाहुनाका लागि होटल खोलेको बताए। उनका अनुसार होटलका केही पुराना पाहुना अहिले आउन थालेका छन्।  

टेम्पल ट्रीमा ६८ कोठा छन्। गौतमका अनुुसार बर्खामा यसै पनि पाहुना कम हिँड्छन। कोरोना संक्रमण कम भए र कर्मचारीलाई खोप लगाउन पाए बर्खा सकिएपछि पाहुना बढ्न सक्ने उनको अनुमान छ।  

‘एजेन्सीले पनि होटलका कर्मचारीले खोप लगाए वा नलगाएको भनेर सोध्ने गर्छन्। कामदारले खोप पाउने हो भने केही सहज हुन्थ्यो,’ गौतमले भने।  

उनका अनुसार काठमाडौंका कर्पाेरेट हाउसले पनि होटल र कामदारले खोप लगाए, नलगाएको सोध्छन्। ‘कर्पाेरेट हाउसका कर्मचारीले खोप पाएकोले उनीहरू घुम्न आउन चाहेका पनि छन्। तर पर्यटन व्यवसायी र कामदारले खोप नपाउँदा पाहुना ढुक्क हुन सकेनन्,’ उनले भने।  

अतिथि रिसोर्ट खुलेको एक साता भयो। अतिथिका सञ्चालक भरत शर्मा बाध्यताले हिँड्नुपर्ने पाहुनाका लागि होटल चाहिएको हुन सक्ने ठानेर खोलेका बताउँछन्। अतिथिमा ५० कोठा छन। ‘भएका पूर्वाधारलाई सही अवस्थामा राखिरहन पनि खोल्नुपर्ने हुन्छ,’ शर्माले भने, ‘अवस्था सहज भए अबको सिजनमा केही आन्तरिक पाहुना आउने अनुमान छ।’  

प्रकाशित: १३ श्रावण २०७८ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App