८ वैशाख २०८१ शनिबार
अर्थ

बाँकेमा ज्याला दर बढ्यो

दिनभर काम गरेर गुजारा चलाउने श्रमिकको ज्याला आर्थिक वर्ष २०७८/७९ का लागि थोरै मात्रामा बढेको छ। सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले ज्याला वृद्धि गरेको हो।

अबदेखि श्रमिकले दैनिक आठ सय ४० रूपैयाँ पारिश्रमिक पाउने छन्। पछिल्ला पाँच वर्षदेखि मजदुरको पारिश्रमिक बढ्दै आएको छ । श्रमिकले गत वर्ष सात सय ५० रूपैयाँ ज्याला पाउँदै आएका थिए। सिकर्मी, डकर्मी, चित्रकार बज्रकर्मी, दक्ष कामदार (निकुञ्जभित्र), ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटरको सात सय ५० बाट बढाएर आठ सय ४० रूपैयाँ ज्याला निर्धारण गरिएको छ। 

त्यस्तै, अर्धदक्ष जनशक्तिको प्रतिदिन सात सय ८४ रूपैयाँ कायम गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार क्लिनर, चेन मेन/सर्भे हेल्पर, खानीमा काम गर्ने भरिया, ज्यामी कुल्ली, चौकीदार लगायतको ज्याला पाँच सय २५ बाट पाँच सय ९० रूपैयाँ पुगेको छ।

योसँगै जिल्ला प्रशासन कार्यालयले स्थानीय तथा आधारभूत निर्माण सामग्री, सामान ढुवानी/मेसिन उपकरण भाडा, फलामजन्य लगायत निर्माण सामाग्रीको पनि दररेट निर्धारण गरेको छ। सिँचाइ तथा नदी नियन्त्रण सम्बन्धी निर्माण सामग्री, कंक्रिट एडमिक्सर तथा वाटर प्रुफिङ लगायतको दररेट यथावत राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

नेपाल सरकारले श्रमिकलाई न्यूनतम १५ हजार रूपैयाँ दररेट कायम गरेकाले सोही अनुसार जिल्लामा ज्यालाको नयाँ दर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ । ‘श्रमिकको हकमा नेपाल सरकार र निर्माण सामग्रीको हकमा राष्ट्र बैंकको मापदण्डलाई आधार मानेर ज्याला दर सार्वजनिक गरेका छौं,’ उनले भने, ‘नयाँ दरले श्रमिक र अन्यलाई केही राहत महसुस हुन्छ।’ केहीको दर पुरानै कायम गरिएको र आवश्यकतानुसार केहीको भने बढाइएको उनको भनाइ छ।

यता श्रमिकले भने उक्त दरप्रति गुनासो गरेका छन्। कोभिड–१९ बाट नराम्री प्रभावित भएका मजदुरहरू यो दरले आफ्नो भावना सम्बोधन हुन नसकेको बताउँछन्। सामानको मूल्य अकासिँदा आफ्नो भने दैनिक गुजारा चलाउन नसक्ने गरी ज्याला बढेको श्रमिकको भनाइ छ। 

बजारको महँगी धान्न सक्के गरी ज्याला कायम भएको भए आफूहरूको भावना समेटिने उनीहरू बताउँछन्। अहिले पाइरहेको भन्दा कम ज्याला कायम गरेको श्रमिकको भनाइ छ। ‘अहिले दैनिक एक हजार रूपैयाँ ज्याला पाउँदै आएको छु,’ पिप्रहवाका राजकुमार गुप्ताले भने, ‘ज्याला बढ्लाभन्दा अझ कम भयो।’ गत वर्षको भन्दा थोरै दर बढे पनि श्रमिकले पाइरहेको बराबर नभएको उनको भनाइ छ।

अहिले पाइरहेको भन्दा केही बढेको भए आफ्नो भावना सम्बोधन हुने गोद्र गुप्ताले बताए। अहिले दैनिक एक हजार रूपैयाँ ज्याला पाइरहेको उनको भनाइ छ। ‘महिनाभरि काम हुँदैन,’ उनले भने, ‘महिनामा १० दिन काम गर्ने र स्थानीय प्रशासनले निर्धारण गरेको दररेट अनुसार ज्याला लिँदा कसरी बाँच्नु।’ यसले आफूलाई खानसमेत नपुग्ने उनी बताउँछन्। 

सरकारले श्रमिकको ज्याला समयानुकूल वृद्धि गर्नुपर्ने भन्दै उनले थपे, ‘अहिले मासिक १५ हजारले कसको जीविका चल्छ।’ अहिलेको दररेटले छोराछोरीको शिक्षादीक्षा, परिवारको औषधिउपचार गर्नै मुस्किल हुने उनको भनाइ छ।

प्रकाशित: ५ श्रावण २०७८ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App