७ वैशाख २०८१ शुक्रबार
अर्थ

६ करोड ४९ लाखको लगानीमा लिफ्टिङ सिंचाइ योजना निर्माण गरिने

लिफ्टिङ सिंचाइ योजना निर्माण हुने क्षेत्र। तस्बिर: नागरिक

रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ र ४ पाटीखर्कमा लिफ्टिङ सिंचाइ योजना निर्माण गरिने भएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा पुंगखोला मुहान गरी पार्टीखर्कको समथर र उर्बर भूमिमा सिंचाइ  गर्ने उद्देश्यका साथ बजेट व्यवस्था गरिएको थियो।  

उक्त मुहानबाट पहिले नै तीनवटा सिंचाइ योजना सञ्चालनमा रहेकोले सुख्खा याममा मुहानमा पानी कम हुने हुँदा सतह सिंचाइ योजना प्रभावकारी नहुने देखिएपछि लिफ्टिङ मार्फत सिंचाइ सेवा पुर्‍याउने सोच बनेको जलश्रोत तथा सिंचाइ विकास सव–डिभिजन कार्यालयका प्रमुख इन्जिनियर कृष्ण पाण्डेले बताए।  

करिब ३ सय २० मिटरको ग्रस हेड रहेको उक्त सिन्चित क्षेत्रमा पानी पुर्‍याउन पुंगखोलाको घिचेतमा इन्टेक संरचना निर्माण गरी हाल निर्माणाधीन फलाखुखोला जलविद्युत् आयोजनाको टेलवाटरलाई नै सौर्य ऊर्जाको सहयोगले पम्प मार्फत पानी तानेर पानी पुर्‍याउने लक्ष्य रहेको छ।  

एउटै पम्पले त्यति ठूलो हेड धान्न कठिनाइ हुने हुँदा पानी तान्न तीनवटा स्टेज निर्माण गरी डिजाइन गरिएको छ। लिफ्ट सिंचाइको काम गर्ने गरी स्थापना भएको संघीय कार्यालय ‘एकीकृत ऊर्जा सिंचाइ विशेष कार्यक्रम’ लाई आर्थिक वर्ष ०७८/७९ मा निर्माण गरिनदिन भनी डिटेल डिजाइन रिर्पोटको साथमा पत्राचार गरिएको थियो। अहिले बजेट पनि व्यवस्था भै सकेको र यही आर्थिक वर्षमा निर्माण कार्य सुरु हुन लागेको कार्यालयले जनाएको छ।  

यस आयोजनाको अनुमानित लागत ६ करोड ४९ लाख रहेको छ। निर्माण पश्चात ५५ हेक्टर क्षेत्रमा वर्षभरि सिंचाइ सुविधा पुग्नेछ। साथै निर्माण पछि उक्त क्षेत्रमा बसोबास गर्ने २ सय ५० घरधुरीका १ हजार २ सय ५० जनसंख्याले लाभ लिने सव–डिभिजन प्रमुख पाण्डेले बताए।  

‘पाटीर्खकमा लिफ्टिङ सिंचाइ योजना निर्माण गर्दा हाल सञ्चालनमा रहेका र निर्माणाधीन बाँकी तीनवटा आयोजनालाई असर गर्दैन’, उनले भने, ‘हाल निर्माण भइरहेको जलविद्युत् आयोजनाबाट पानी लिफ्टिङ गरिन्छ।’

घिचेतबाट पार्टीखर्कसम्म सिंचाइ पुर्‍याउन ३ सय २० मिटर लिफ्टिङ गर्न पर्छ। यसमा दुईवटा स्वीच निर्माण हुने छन्। सोलार प्यानल राखेर योजना सञ्चालन गरिने भएपनि सोलारले काम नगरेको खण्डमा विद्युतबाट सञ्चालन गर्नका लागि डबल स्वीच राख्न लागिएको हो।  

यस क्षेत्रमा सिंचाइको अभावमा किसानले एक बाली मात्र लगाउँदै आएका छन्। अन्नबाली तथा नगदेबाली लगाउनका लागि यहाँ खेतीयोग्य जमिन धेरै छ। तर सिंचाइको अभावमा किसानले उत्पादनमा वृद्धि गर्न सकेका छैनन्। सिंचाइ योजना निर्माण भएपछि एक वर्षमा तीन बालीसम्म लगाउन सकिने, तरकारी उत्पादनमा वृद्धि हुने, किसानको व्यस्थता बढ्ने, आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ।  

प्रकाशित: ४ श्रावण २०७८ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App