१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वमा पेट्रोलियम पदार्थ अभाव

आयल निगमले पेट्रोल नदिएपछि बन्द रहेको धरान–८ स्थित हिमालय पेट्रोल पम्प। तस्बिर: नागरिक

नेपाल आयल निगमको विराटनगरस्थित कार्यालयले माग बमोजिम पेट्रोलियम पदार्थ नदिँदा प्रदेश १ मा अभाव देखिन थालेको छ। निगमले माग बमोजिम पेट्रोल दिन नसकेको व्यवसायीको भनाइ छ। एक सातादेखि निगमले मागभन्दा ज्यादै थोरै मात्रामा पेट्रोल दिएपछि अभाव हुन थालेको हो। व्यवसायीका अनुसार एक सातादेखि नै समस्या देखिन थालेको हो। 

समस्या बढ्दै गएपछि असार ३० गते लिखित रूपमै आपूर्ति सहज बनाउन आग्रह गरिएको पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका महासचिव महेन्द्र अग्रवालले बताए। आइतबार प्रशासनलाई पनि जानकारी गराउने उनले बताए। उनले भने, ‘निगमले माग बमोजिम तेल दिन सकेको छैन, हामीले ३० गते नै माग अनुसार पेट्रोल दिनुपर्‍यो भनेर पत्र दिएका छौ। कोसिस गर्दैछौं मात्र भन्छन्। हामी आइतबार प्रशासनलाई पनि जानकारी गराउँछौं।’  

व्यवसायीका अनुसार पेट्रोल कम भएको भन्दै निगमको विराटनगर क्षेत्रीय कार्यालयले पम्प छानेर मात्र पठाउने गरेको छ। कार्यालय प्रमुख नकुल भण्डारीले आफूखुसी पम्प छानेर पेट्रोल पठाउँदा समस्या भएको धरान भोटेपुलस्थित हिमालय पेट्रोल पम्पकी सञ्चालक सुनिता केसीले जानकारी दिइन्। उनले भनिन्, ‘बिहीबार तेल दिने भनेर हाम्रो पम्पको नाम टिपाइसकेको थियो, पछि नाम काटिएछ। नदिनुको कारण केही छैन। हाम्रो पम्प त बन्दै छ।’

बिहीबार निगमको विराटनगर डिपोबाट १ लाख ४० हजार लिटर पेट्रोल वितरण भएको थियो। यो परिमाणको तेल मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनकुटा लगायत पहाडी जिल्लामा पनि गएको थियो। तर बिहीबार पेट्रोलको माग ६ लाख लिटर रहेको पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका महासचिव अग्रवालले बताए। ‘ पेट्रोल लिन सिलगडी गएको ढुवानी गाडी क्युमै छन्, तेल लोड भएको छैन,’ महासचिव अग्रवालले भने, ‘भारतको बरौनी डिपो छोडेर सिलगुडीबाट निगमले तेल ल्याउन थालेपछि समस्या सुरु भएको हो, निगमको लापरवाही नै भन्न त सक्दैनौं। तर मिस क्याल्कुलेसन भएको छ।’

महासचिव अग्रवालका अनुसार निगमले भाडा कम हुने भन्दै असार १८ देखि बरौनीबाट तेल ल्याउन छोडेर सिलगुडीबाट मात्र ल्याउन थालेको हो। सिलगुडीले विराटनगरको मात्र होइन, मेची डिपोको माग समेत थेग्न सक्दैन। मेचीले पनि विराटनगर डिपोबाट पेट्रोल लैजाने गरेको छ। यसको असर अहिले पूर्वी नेपालको बजारमा देखिएको छ। ‘अहिले बर्खा र कोभिडले गर्दा मानिसको हिँडडुल कम छ, सहज स्थिति हुने हो भने के होला अवस्था ?’ उनले भने।  

पूर्वाञ्चल पेट्रोल ढुवानी व्यवसायी संघको उपाध्यक्ष गोपाल श्रेष्ठ पेट्रोल लिन सिलगडी गएका ट्यांकरहरू १८–१९ दिनदेखि क्युमा छन्। ‘सिलगडीले पेट्रोल दिनै सक्दैन,’ उनले भने। बिहीबार निगमले थोरै मात्र तेल दिएको थियो। शुक्रबार नयाँ सफ्टवेयर सुरु गर्ने भनेर निगमले तेल दिएन। शनिबार सार्वजनिक बिदा हुने र आइतबार भारतमा बिदा हुने भएकोले अब पूर्वमा पेट्रोल चरम अभाव देखिने व्यवसायी बताउँछन्।  

यो विषयमा बुझ्न पटकपटक सम्पर्क गर्दा निगमको विराटनगर कार्यालय प्रमुख नकुल भण्डारीले फोन उठाएनन्। निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले सिलगडीबाट तेल ल्याउन आफूहरूले नै निर्देशन दिए पनि पेट्रोल आपूर्ति र वितरणमा समस्या भएकोबारे जानकारी नभएको बताए। ‘सिलगडी हामीले नै जाउ भनेको हो, तर पेट्रोल दिन सकेन भन्ने जानकारी छैन,’ उनले भने, ‘आपूर्ति असहज नहुनु पर्ने हो। के भएको हो, म बुझ्छु। पेट्रोल अभाव हुन दिँदैनौं।’

प्रकाशित: ३ श्रावण २०७८ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App