६ वैशाख २०८१ बिहीबार
अर्थ

पोखरालाई नयाँ ब्राण्ड ‘पोखरा, प्योर एज प्याराडाइज’

पोखरालाई नयाँ नाममा ब्राण्डिङ गरिँदै

पुम्दीभु्म्दीबाट देखिएको पोखरा सहर । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि पर्यटन बोर्डले पोखरालाई नयाँ नाममा ब्राण्डिङ गर्ने तयारी गरेको छ । त्यसका लागि ‘पोखरा, प्योर एज प्याराडाइज’ भनेर नयाँ नाममा ब्राण्डिङ गर्न थालिएको हो । बोर्डले यसअघि पोखरालाई ‘प्याराडाइज पोखरा’ भनेर ब्राण्डिङ गर्दै आएकोमा अब नयाँ नाममा ब्राण्डिङ गर्ने तयारी गरेको हो ।

बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीका अनुुसार यसअघि पनि पोखराको ब्राण्डिङ भईरहेको थियो । प्याराडाइज पोखरा, पोखरा प्योर एण्ड परफेक्ट, ‘ग्लोरियस पोखरा’ लगायतका नामबाट पोखराको ब्राण्डिङ भईरहेकोमा अब भने ‘पोखरा, प्योर एज प्याराडाइज’ भनेर ब्राण्डिङ गर्ने तयारी भईरहेको भण्डारीले जानकारी दिए ।  

‘अहिलेसम्म प्याराडाइज पोखरा भनेर पोखराको पर्यटन बजारमा ब्राण्डिङ भईरहेको थियो । होटल व्यवसायीले ‘पोखरा प्योर एण्ड परफेक्ट’ भनेर ब्राण्डिङ गरिरहेका थिए,’ ब्राण्डिङ बारे जानकारी दिन आयोजित छलफलमा उनले भने, ‘अब भने ‘पोखरा, प्योर एज प्याराडाइज’ भनेर ब्राण्डिङ गरिनेछ ।’ नयाँ नाममा ब्राण्डिङ गर्दै पोखराको पहिचानलाई देशभित्र र बाहिर पनि बेच्न खोजेको उनले बताए ।  

‘यसले पोखराको पहिचान अझै फराकिलो बनाउनेछ, पोखरालाई सबैले चिन्ने गरेर ब्राण्डिङ गर्नेछौ,’ उनले भने, ‘पोखरालाई पर्यटकीय प्रडक्टको आइकनमार्फत ब्राण्डिङ गर्न थालिएको छ । यसले पक्कै पनि आन्तरिक र बाह्य पर्यटनमाझ सकारात्मक प्रभाव पार्नेछ ।’ माउन्टेनियरिङ गतिविधि, अर्किड, हस्पिटालिटी, प्याराग्लाइडिङ, ताल, झरना लगायतका पहिचान सहितको आइकनमार्फत प्रवद्र्धन गर्न खोजिएको उनले बताए ।  

सातवटा आइकन मार्फत पोखरालाई पर्यटन बजारमा चिनाउन खोजिएको पनि भण्डारीले बताए । ‘पोखरालाई प्रतिनिधित्व गर्ने पर्यटकीय आइकन राखेर ब्राण्डिङको पहल गरेका छौ । यसले पक्कै पनि पोखरालाई नयाँ रुपमा बुझाउनेछ,’ उनले भने । पोखरा, प्योर एज प्याराडाइज युवापुस्ताको पर्यटकका लागि आकर्षक ब्राण्ड हुनसक्ने पनि उनले बताए ।  

पोखरामा प्राकृतिकसँगै मानवनिर्मित पूर्वाधार पर्याप्त छन । तिनै पूर्वाधारको प्रवद्र्धनको क्रममा व्यवसायीले यो ब्राण्डलाई पर्यटनको बजारीकरणमा उपयोग गर्न सक्ने पनि उनले बताए । ‘पदयात्राका व्यवसायीले हिमाललाई बढी महत्व दिएर प्रवद्र्धन गर्न सक्छन, हवाई खेलकुदका व्यवसायीले एयर स्पोर्टसलाई बढि जोड दिन सक्छन,’ उनले भने, ‘फरक प्रकृतिका व्यवसायीले फरक रुपमा ब्राण्डिङ गर्न सक्छन । जो कोही व्यवसायीले पनि पर्यटनको यो ब्राण्डलाई उपयोग गर्न सक्नुपर्छ । आगामि दिनमा पोखरा क्षेत्रको ब्राण्डिङ गर्न जाँदा नयाँ रुपमा जानुपर्ने उनले बताए ।  

विज्ञ सहितको प्राविधिक सहयोगमा ब्राण्ड तयार पारेको बोर्डका गण्डकी प्रदेश प्रमुख भण्डारीले जानकारी दिए । ‘कोभिड–१९ ले अत्यन्त प्रभावित पर्यटनलाई अहिलेको अप्ठेरो कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्य पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवद्र्धन गरिनेछ,’ उनले भने ।  

बोर्डले पर्यटन प्रवद्र्धनात्मक सामाग्री बनाउने क्रममा पनि यही ब्राण्डलाई उपयोग गर्ने उनले जानकारी दिए । बोर्डले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको पर्यटन बजारमा बजारीकरण गर्न जाने क्रममा नयाँ ब्राण्डिङ सहितका प्रचार सामाग्री उपयोग गर्ने पनि उनले बताए । ‘कप, झोला, डायरी, पर्चा, पम्प्लेट, स्ट्याण्ड बनाएर प्रवद्र्धन गर्न सकिन्छ । ती प्रचार सामाग्रीमा पोखराको परिचय बढाउन खोजिएको हो । बजारको आवश्यकता हेरेर नयाँ ब्राण्डिङ सहितका प्रचार सामाग्री बनाउने उनले बताए ।

पर्यटन बजारमा पोखरालाई नयाँ रुपमा ब्राण्डिङ गर्दा पोखराको महत्व बढ्ने पनि उनले बताए । त्यसको समग्र लाभ नेपालकै पर्यटन क्षेत्रले लिने उनको भनाई छ । पोखराको नयाँ रुपमा ब्राण्डिङ गर्दा संसारले पोखरालाई चिन्न सघाउने भण्डारीले बताए । पोखरालाई नयाँ रुपमा ब्राण्डिङ गर्नका लागि बोर्डले यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरेको थियो । उनका अनुसार पर्यटन क्षेत्रलाई बेलाबेला नयाँ रुपमा ब्राण्डिङ गर्ने चलन छ । विकसित मुलुकले पनि पर्यटकीय गन्तव्यको बजारीकरण गर्ने क्रममा नयाँ ब्राण्ड सिर्जना गर्ने गरेका छन ।  

‘यसअघि पनि पर्यटनको बजारीकरण फरक ब्राण्डमा भएको थियो । लामो समयसम्म एकै नाममा ब्राण्डिङ गर्नुभन्दा बेलाबेला पहिचान बदल्दा नयाँ रुप दिलाउन सकिन्छ,’ भण्डारीले भने, ‘नेपाललाई बाहिर चिनाउने प्रयास गरेका हौ । अहिलेको भन्दा केही फरक रुपमा पहिचान फराकिलो बनाउने प्रयास मात्र हो ।’ उनले फरक फरक बजारमा बजारीकरणमा जाँदा त्यहिँको भाषा अनुसार अनुवाद गर्न सकिने पनि बताए ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराईले नयाँ रुपमा ब्राण्डिङ गर्दा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए । पोखरालाई सामुहिक ब्राण्डको खाँचो रहेको पनि उनले बताए । ‘अहिलेसम्म सबैले आ–आफ्नै नारामा पोखराको पहिचान दिलाउने प्रयास गरिएको थियो । तर, अब सबैले यसलाई सामुहिक रुपमा उपयोग गर्न सक्नुपर्छ,’ भट्टराइले भने, ‘पोखराको फ्लेवर झल्किएको छ । यसले पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिलाउन सघाउने विश्वास छ ।’ विकसित मुलुकले पनि पर्यटन क्षेत्रको ब्राण्डिङ विशेष पहिचान दिलाउने गरि गर्दै आएकोमा पोखराका लागि यो आवश्यक रहेको उनले बताए ।

नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए । उनले गन्तव्यलाई सरल र स्पष्ट रुपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यकता महशुस गरी सुरुवात गरिएको बताए । ‘कुनै पनि पर्यटकीय गन्तव्यको आफ्नै पहिचान र विशेषता हुन्छ । ती विशेषतालाई  समेट्दै ब्राण्डिङ गर्दा पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा चिनाउन थप सहयोग पुग्नेछ’ रेग्मीले भने, ‘पोखरासँगै अन्य गन्तव्यको पनि ब्राण्डिङ गर्दै लगिनेछ ।’ बोर्डले यसको शुरुवात लुम्बिनीबाट गरेको उनले बताए ।

प्रकाशित: ३० असार २०७८ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App