६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्लाबाट ३१ करोडको कृषिवस्तु निर्यात

जिल्ला कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ३१ करोड रुपैयाँ बराबरको कृषिजन्य वस्तु जिल्लाबाहिर निर्यात भएको जनाएको छ। यहाँको उत्पादन काठमाडौं, सुर्खेत,नेपालगन्ज लगायत सहरमा निर्यात भएको हो।  

जुम्लामा उत्पादित कृषिवस्तुको माग बढ्दो अवस्थामा रहेको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। उनका अनुसार स्याउ,ओखर,आलु,प्याज,जुम्ली मार्सी धान,मार्सी चामल,सिमी र जौ जिल्लाबाहिर निर्यात भएको हो।  

जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ बेचेका थिए। जुम्ला स्याउको राजधानी हो। ‘यहाँ स्याउको सम्भावना निकै राम्रो छ। स्याउ नै आर्थिक समृद्धिको आधार हो,’कृषि प्रमुख देवकोटाले भने,‘स्याउखेतीमा किसान आकर्षित भएका छन्।स्याउलाई जीवन ठानेर संरक्षण गरिरहेका छन्। यो समृद्ध जुम्ला बनाउने एउटा आधार नै हो।’

ओखर ५९० मेट्रिक टन उत्पादन भएकोमा ३२१ मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ। ओखरबाट एक करोड रुपैयाँ भित्रिएको छ। ओखर खेतीले यहाँका किसानको जीविकोपार्जनमा सहयोग पुगेको छ। कृषि प्रमुख देवकोटाले भने, ‘ओखर खेती पनि जुम्लामा राम्रो सम्भावना बोकेको क्षेत्र हो।’

आलु २७ हजार मेट्रिकटन उत्पादन भएको थियो। ११ हजार मेट्रिक टन जिल्लाबाहिर निर्यात भयो। ४ करोड ९५ लाख रुपैयाँ भित्रियो। प्रतिकेजी आलु ४५ रुपैयाँमा बिक्री भएको थियो।  

प्याजबाट यो आर्थिक वर्षमा जुम्लामा एक करोड ५० हजार रुपैयाँ आम्दानी भएको छ। ३५५ मेट्रिक टन प्याज उत्पादन भएकोमा २०० मेट्रिक टन प्याज जिल्लाबाहिर निर्यात भएको थियो। संकटको समयमा यहाँको प्याजले राम्रै बजार पाएको किसान बताउँछन्। प्याज खरिद गर्न व्यापारी जुम्लाको गाउँगाउँमा पुगेका थिए।

जुम्ली मार्सी धान ३ हजार ३ सय मेट्रिक टन उत्पादन भएकोमा २ सय मेट्रिक टन निर्यात भएको छ। धानबाट २ करोड रुपैयाँ जुम्ला भित्रिएको कृषि कार्यालय बताउँछ। प्रतिकेजी एक सय रुपैयाँमा मार्सी धान बिक्री भएको थियो। मार्सी धान जुम्लाको पहिचान हो। जुम्ली चामल ९० मेट्रिक टन निर्यात भई १ करोड ६२ लाख रुपैयाँ भित्रिएको छ। प्रतिकेजी जुम्ली चामल १ सय ८० रुपैयाँ पर्छ।  

देवकोटाका अनुसार सिमी ४ हजार मेट्रिक टन उत्पादन भएकोमध्ये १२ सय टन जिल्लाबाहिर निर्यात भएको छ। सिमीबाट एक करोड ८ लाख रुपैयाँ भित्रिएको छ। प्रतिकेजी ९० रुपैयाँमा सिमी बिक्री भएको थियो। जौबाट ६२ लाख रुपैयाँ आम्दानी भएको छ। प्रतिकेजी ४० रुपैयाँमा १ सय ५५ मेट्रिक टन जौ जिल्लाबाहिर गएको हो। जिल्लामा ५४ सय मेट्रिक टन जौ उत्पादन भएको थियो।  

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले स्थानीय उत्पादन बेचेर कर्णाली पाल्न सक्नै हैसियत जुम्लाले राख्ने बताए। उनले भने,‘त्यसका लागि कृषिमा आधुनिकीकरण र किसानमा व्यवसायीकरण हुनुपर्छ। जब किसान व्यावसायिक रुपमा अघि बढ्छन्, त्यहाँ समृद्धि आउने गर्छ।’ उनले आगामी वर्ष जुम्लाले दोब्बर उत्पादन निर्यात गर्नुपर्ने बताए। उनले भने,‘जुम्ला कृषिको सम्भावना बोकेको क्षेत्र हो। यही सम्भावनामा रहेर किसानले खेती प्रणालीको व्यवसायीकरण गर्दै लैजानुपर्छ।’ 

प्रकाशित: ३० असार २०७८ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App