१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

६ महिना पनि टिक्दैनन् धनगढीका सडक

भर्खरै निर्माण भएको धनगढी उपमहानगरका सडकहरू ६ महिना नपुग्दै भत्किन थालेका छन् । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा निर्माण गरेका कालोपत्रे सडक ६ महिना नपुग्दै भत्किन थालेका हुन्।  

कमसल सामग्री प्रयोगका साथै निर्माण कम्पनी र साइट हेर्ने प्राविधिकको मिलेमतोमा झारा टार्ने गरी निर्माण गरिएका सडक ६ महिना नपुग्दै भत्किने गरेको स्थानीयको आरोप छ। धनगढीमा निर्माण गरिएका सडकहरू कमसल सामग्री राखेर फिलिङ गरेका कारण ६ महिना पनि टिक्न नसकेको स्थानीय पुष्पराज कौशिक बताउँछन्। ‘यहाँ प्राविधिक, कर्मचारी र ठेकेदारको मिलेमतोमा कमसल सामान राखेर सडक निर्माण गरिन्छ,’ उनले भने, ‘निर्माण सामग्रीको गुणस्तर जाँच गर्ने निकायले वास्ता नगर्ने र उपभोक्ताले पनि खबरदारी नगरिदिँदा सडक टिक्दैनन्।’  

धनगढी उपमहानगरपालिका–२ को लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिर जाने ६ सय ९ मिटर कालोपत्रे सडक निर्माण भएको ६ महिनामै भत्किएको छ। उपमहानगरपालिकाको ९७ लाख ३१ हजार ८ सय ६९ रूपैयाँको लागतमा अन्जु निर्माण सेवाले कालोपत्रे गरेको थियो। 

गत माघमा निर्माण सकिएको सडक ६ महिना पनि नटिकेको स्थानीय लालसिंह कठरिया बताउँछन्। ‘हाम्रो टोलमा निर्माण भएको यो सडक ६ महिना पनि टिकेन,’ उनले भने, ‘कमसल सामग्री प्रयोग भएका कारणले त नहोला टिकेको ?’ पहिले सडकको दुवै किनारमा नाली निर्माण गरेको बताउँदै उनी थप्छन्, ‘बनाइएको सडकको नाली पनि भत्कियो, कालोपत्रे पनि उप्कियो।’ सडकमा मोटरसाइकल चलाउँदा पनि उफार्ने गरेको बताउँदै अर्का स्थानीय विन्तिराम चौधरीले भने, ‘दबाएर सडक नबनाएका कारण मोटरसाइकल चलाउँदा पनि उफार्छ।’  

सडक निर्माण गर्दा स्थानीयले राम्रो बनाउन दबाब दिए पनि निर्माण कम्पनीले नटेरेको उनीहरू बताउँछन्। बनाएको ६ महिना नपुग्दै सडक र नाली भत्किन थालेपछि पत्र काटेर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई भनेको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्ट बताउँछन्।

 ‘लोकतान्त्रिक चौकदेखि विश्वनाथ मन्दिरसम्मको नवनिर्मित कालोपत्रे सडक भत्किन थालेपछि निर्माण कम्पनीलाई पुनः बनाउन पत्राचार गरेका छौं,’ उनले भने। ग्रामीण सडक निर्माणमा कतै कतै कमजोरी हुन सक्ने बताउँदै उनी भन्छन्, ‘तर त्यस्तो जानी जानी गल्ती भएको भने छैन।’ निर्माण कम्पनीसँग प्राविधिकको मिलेमतोमा कमसल सामग्री प्रयोग हुने गरेको भन्ने मिथ्या आरोप भएको उनले बताए। ‘आम सर्वसाधारणले लगाउने आरोप हो,’ उनले भने, ‘हामीले जानी जानी त्यस्तो गर्दैनौं ।’ 

प्रकाशित: २८ असार २०७८ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App