१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनकोसी पुल निर्माणमा चरम ढिलासुस्ती, दोश्रो म्याद गुज्रिँदा ५२ प्रतिशत भौतिक प्रगति बाँकी

सुनकोसीको फोक्सिङटारमा निर्माणाधिन ‘आर्क’ डिलाईनको पुल । फाइल तस्बिर : नागरिक

दोश्रोपल्ट थप भएको म्याद नाघ्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र पुरा भएको छ । निर्माण कम्पनी कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुलको भौतिक प्रगति अझै ५२ प्रतिशत बाँकी देखिएको हो । 

१२० मिटर लम्बाई हुने ‘आर्क’ डिजाईन पुलको हालसम्म वित्तिय प्रगती ४५ प्रतिशत र भौतिक प्रगति ४८ प्रतिशत मात्र सम्पन्न भएको सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साईड इन्जिनियर रबि शाहले बताए । फोक्स्ङिटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सांसद रामकुमार राई, पुर्वसभासद अर्जुन राई लगायतको टोली असार २२ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बशन्त नेम्वाङलाई भेट्न पुगेपछि भएको छलफलमा पनि पुल निर्माणको सोही प्रगति विवरण सुनाइएको थियो । पुल निर्माणका लागि दोश्रोपल्ट थप भएको म्याद गत असार १२ गर्ने सकिएको छ । हालसम्म भ्याट र पिएस समेतगरी १० करोड ३३ लाख १४ हजार भुक्तानी भएको पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १, धरानले जनाएको छ ।  

खोटाङलाई पुर्वी शहरसँग जोड्ने पुलको हालसम्म दुई किनारको चार वटा फाउण्डेसन, चार वटा सव–स्ट्रक्चर, दुवैतर्फको २०/२० मिटरको स्टेण्ड लगायतका संरचना निर्माणको काम मात्र पुरा भएको छ । नदीबीचमा रहने ८० मिटरको ‘आर्क’ राख्ने काम बाँकी रहेको इन्जिनियर शाहले बताए । मन्त्री नेम्वाङसँगको छलफलमा सो आर्क आगामी पुस ११ गतेसम्ममा ढलान गर्ने कार्ययोजना बनाइएको छ । नवौं संशोधन अनुसार पुल निर्माणका लागि २०७७ साल पुस १३ गतेसम्मको पहिलो म्याद सकिएपछि पुन: कोभिड–१९ को महामारी अनुसार २०७८ साल असार १२ गतेसम्मका लागि दोश्रो पटक म्याद थप भएको थियो । २०७३ साल चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ साल चैत्र २३ गते सम्झौता भएको पुलको २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर काम अघि बढाइएको थियो । तर, २०७३ साल चैत २२ गतेसम्ममा पुलको काम नभएपछि पुन: २०७५ साल चैत ३० गतेसम्मका लागि सम्झौता अवधिलाई लम्व्याइएको थियो ।  

सुरुमा फोक्सिङटारमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो, तर त्यसको सट्टा ‘आर्क’ डिजाईनको पुल निर्माण गर्ने भन्दै २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाई हुने भएकाले डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण सुरु गरिएको थियो । दोश्रो पटक डिजाईन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । हाल ढिलासुस्तीको कारण त्यही डिजाईन परिवर्तन र डिजाईन स्वीकृतिमा भएको ढिलाईलाई देखाउने गरिएको छ । तर, पुलको नयाँ डिजाईन स्वीकृत भए यताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बताउँछन् । २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित)मा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति अत्यान्तै सुस्त देखिएको छ ।  

ढिलासुस्तीको चौतर्फी बिरोध  

खोटाङको पुर्वी नाकामा पर्ने पुल निर्माणको काममा चरम ढिलासुस्ती भएकामा जिल्लाबासी असन्तुष्ट छन् । मुग्लिनको ‘आर्क’ पुलको शैलीमा निर्माण सुरु गरिएको पुलमा भएको ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको आलोचना हुने गरेको छ । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य भट्टराईले गृहमन्त्री समक्ष २०७५ साल कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए । फोक्सिङटार खोटाङ र पुर्वी शहर शहर जोड्ने प्रमुख नाका हो । तर, जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने जयरामपछिको अर्को महत्वपूर्ण फोक्सिङटार पुलको कामको गति अत्यान्तै सुस्त देखिएको केही समयअघि निर्माणस्थल पुगेका दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । बाढीका कारण पुलको काम हरेक वर्षा याममा ठप्प हुने गरेको छ ।  

ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् । ढिलासुस्तीका विरुद्ध २०७२ साल माघ २४ गते सडक बिभागमा धर्ना दिएका जिल्लावासीले चैत्र २३ गते घेराउ गरेका थिए । सडक बिभाग घेराउकाक्रममा सांसद, नेता र जिल्लाबासीमाथि प्रहरी हस्तक्षेप भएको थियो । २०७२ चैत्र २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा बिरोध र्‍याली निकालेको थियो ।  

आफ्नै प्रतिवद्धता पूरा गर्दैन ठेकेदार  

सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैले गरेको प्रतिवद्धता कुल्चदैआएको छ । गत माघ २६ गते काठ्माण्डौंमा भएको छलफलकाक्रममा खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राई र सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलास शाहको अगाडि निर्माण व्यवसायी रामकुमार थापाले फागुन १० गतेभित्र खोटाङतर्फको पिलर बिम र त्यसमाथि स्ल्याव ढलान गर्ने प्रतिवद्धता जनाए । तर, निर्माण व्यवसायी थापाले आफ्नो प्रतिवद्धता अनुसार पुलको कामको प्रगति देखाउन सकेन । ठेकेदार र उसका प्रतिनिधिले २०७४ असारसम्ममा उदयपुरतर्फको जगको काम सक्ने आफ्नै लक्ष्य समेत पूरा गर्न चुकेको थियो ।  

यस्तै, गत २०७४ साउन १९ गते सडक बिभागमा बसेको बैठकमा निर्माण व्यवसायीले २०७५ असार मसान्तसम्ममा पुलको सव–स्ट्रक्चर, दुई वटा टी–ग्रिडर ब्रीज स्ल्याव र आर्कका लागि आवश्यक अस्थायी फ्रेमवर्क जडान गरिसक्ने प्रतिवद्धता जनाए तर काम गरेर देखाउन सकेन । सोही पुल निर्माणमा भएको ढिलासुस्तीका विषयमा सडक विभागमा २०७४ माघ १२ गते बोलाइएको बैठकमा पनि ठेकेदारले महिना दिनभित्र ‘देखिने’ प्रगती देखाउने प्रतिवद्धता जनाएको थियो । पुल निर्माणमा ढिलासुस्ती भएपछि बोलाइएको बैठकमा पुल निर्माणको भौतिक प्रगति ‘शून्य’ देखिएको भन्दै २०७५ साल चैत्र मसान्तसम्ममा पुल निर्माणको काम पूरा गर्नेगरी हप्ता दिनभित्र वर्क सेड्युल (कार्य तालिका) तयार पारेर पेश गर्न ठेकेदारलाई निर्देशन नै दिइएको थियो ।

ढिलासुस्तीमा अख्तियारको चासो  

फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको वर्षौँसम्म पुल निर्माणको प्रगती ‘शून्य’ देखिएपछि अख्तियारले चासो देखाएको थियो । पुल निर्माणमा ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्नेगरी कामलाई अघि बढाउनका लागि अख्तियारले २०७४ माघ २ गते पत्राचार गरेको थियो ।

प्रकाशित: २५ असार २०७८ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App