१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तेलको भाउ बढ्दा अर्थतन्त्र बिग्रिने चिन्ता

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल सुरेन्द्रकुमार पौडेल।<br>

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागेपछि त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने भएको छ। ६ महिनाकै अवधिमा कच्चा तेलको भाउ करिब ४५ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ को जनवरी १ मा प्रतिब्यारेल ५१.८ डलरमा कारोबार भएको कच्चा तेलको मूल्य ६ महिनामा बढेर गत बिहीवार ७६ डलर पुगेको थियो। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१८ अक्टोबर यता सन् २०२१ को जुलाईमा उच्च रेकर्ड कायम भएको छ। यो बिहीबार भने डब्लुटिआई क्रुड आयलको मूल्य केही घटेर प्रतिब्यारेल ७२.५२ डलर कायम भएको छ। पेट्रोलियम पदार्थमा नेपालको आफ्नो स्रोत नभएकाले पूर्ण रूपमा परनिर्भर छ।  

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय डलर पुग्न सक्ने अनुमान गरिएको बताउँछन्। ‘क्रुड आयलको मूल्य प्रतिब्यारेल ८० देखि एक सय डलरसम्म पुग्ने प्रक्षेपण आइरहेका छन्,’ पौडेलले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए स्वतः नेपालमा पनि मूल्य बढ्छ।’ क्रुड आयलको मूल्य बढेपछि आयल निगमले पनि निरन्तर मूल्य बढाउँदै लगेको छ। 

ओपेक तथा गैरओपेक सदस्यहरूको ऊर्जा संगठन ओपेक प्लसका सदस्यहरूले तेलको उत्पादनमा भारी कटौती गरेकाले मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उत्पादन भएको तेलको मौज्दात घटेको र उत्पादन वृद्धि नभएकाले पनि मूल्य बढेको हो। बिहीबार भएको वार्तामा ओपेक प्लसले तेलको आपूर्ति बढाउने विषयमा तत्काल कुनै निर्णय नगर्ने जनाएको छ।

नेपालमा वार्षिक करिब दुई खर्ब रूपैयाँको इन्धन आयात हुन्छ। कच्चा तेलको भाउ अझै बढे त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्। नेपाल तेलमा सतप्रतिशत परनिर्भर रहेकाले क्रुड आयलको भाउ बढ्दै जाँदा त्यसको प्रभाव नेपाली उपभोक्तामा पर्ने ओझाले बताए। ‘क्रुड आयलको मूल्य बढेपछि नेपालमा स्वतः मूल्य बढ्छ,’ ओझाले भने, ‘यसले नेपालको अर्थतन्त्रमा पनि असर पार्छ।’  

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि निगमले यसै साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले बुधबारबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रूपैयाँ मूल्य वृद्धि गरेको थियो। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ १९ डलर प्रतिकिलोलिटर मूल्य बढाएको थियो। त्यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँ मूल्य बढाएको थिथो। मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल लिटरको एक सय २९ रूपैयाँ, डिजेल र मट्टीतेल लिटरको एक सय १२ रूपैयाँ पुगेको छ।  

आन्तरिक हवाई इन्धन लिटरको ८४ रूपैयाँ र बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सात सय ५४ डलर पुगेको छ। त्यसैगरी खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रूपैयाँ पुगेको छ। क्रुड आयलको मूल्य वृद्धि हुँदै जाँदा निगमले पनि अझै मूल्य बढाउनेछ। इन्धनमा मूल्य वृद्धि हुँदा अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुने पूर्व वाणिज्य सचिव ओझा बताउँछन्। तेलको भाउ बढ्दा ढुवानी भाडा, उत्पादन लागत वृद्धि हुने भएकाले त्यसको प्रभाव बजारमा पर्ने उनको तर्क छ।

‘इन्धनको मूल्य वृद्धिले बजारलाई नै प्रभावित पार्छ,’ उनले भने, ‘मूल्यलाई सन्तुलित राख्न सरकारले ध्यान दिनुपर्छ।’ अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सरकारले इन्धनमा लगाएका कर समायोजन गरेर मूल्य सन्तुलित राख्न प्रयास गर्नुपर्ने पूर्वसचिव ओझा बताउँछन्। उनले भने, ‘मूल्य स्थिर बनाउने विषयमा सोच्नु आवश्यक छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला कर लगाउन सकिन्छ,’ ओझाले भने, ‘अहिलेको अवस्थामा सरकारले कर घटाउनुपर्छ।’

सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ। निगमका प्रबन्ध निर्देशक पौडेल मूल्य बढाउनु रहर नभई बाध्यता भएको बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमा बढेपछि आइओसीबाट मूल्य बढेर आउँछ,’ पौडेलले भने, ‘कर समायोजन नगरे मूल्य वृद्धि गर्नुको विकल्प छैन।’निगमले मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, पूर्वाधार कर, वातावरण शुल्क, सडक मर्मत सम्भार शुल्क भन्सार विन्दुमा नै तिर्ने गरेको छ। यसका अतिरिक्त निगमले बिमा तथा प्रशासनिक खर्च, ढुवानी खर्च, विक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोष लगायत मूल्य जोडेर भाउ निर्धारण गर्छ।

सरकारले राजस्व संकलनका लागि पेट्रोलियम पदार्थलाई मुख्य माध्यम बनाउँदै आएको छ। गत वर्षसम्म पेट्रोलमा प्रतिलिटर भन्सार शुल्क २५ रूपैयाँ २० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर २० रूपैयाँ लिँदै आएको छ। पूर्वाधार कर लिटरमा १० रूपैयाँ रहेको छ। सडक मर्मतसम्भार शुल्क लिटरमा चार रूपैयाँ, प्रदूषण शुल्क दुई रूपैयाँ ५० पैसा, मूल्य स्थिरीकरण कोषमा लिटरमा एक रूपैयाँ १० पैसा र भ्याट १३ प्रतिशत रहेको छ।

प्रकाशित: २५ असार २०७८ ०५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App