४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु

जिल्ला प्रशासन कार्यालय खोटाङले ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति (अधिग्रहण)को काम थालेको छ।  

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा बन्ने आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गामध्ये खोटाङको रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाभित्र पर्ने जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको हो।  

यो आयोजनाबाट डुवानमा पर्ने रावाबेँसी गाउँपालिकाको ५ हजार ३०४ कित्ता र ऐसेलुखर्क गाउँपालिकाको ५२२ कित्ता जग्गा प्राप्तिका लागि प्रशासनले सूचना जारी गरेको छ। समुद्री सतहबाट ६५० मिटर उचाइसम्मका करिब १२ हजार रोपनी व्यक्तिगत र ११–१२ सय रोपनी सरकारी जग्गा, गोठ, टहरा तथा रुखबिरुवा पूर्ण वा आंशिक प्राप्तिको प्रक्रिया थालिएको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताए।  

जिल्ला प्रशासन कार्यालयले आयोजना प्रभावित क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको ५८६ कित्ता, रावाबेँसी गाउँपालिका–२ खार्पाको १ हजार ८९ कित्ता, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको १७४ कित्ता, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको २ हजार ३३० कित्ता, रावाबेँसी गाउँपालिका–५ दुबेकोलको ३०४ कित्ता र रावाबेँसी गाउँपालिका–६ हौंचुरको ८२१ कित्ता जग्गा प्राप्तिका लागि सूचना जारी गरेको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ९९ कित्ता, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ८४ कित्ता र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३३९ कित्ता जग्गा पूर्ण वा आंशिक प्राप्तिको प्रक्रिया अघि बढाइएको छ। प्रशासनले जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै असार २३ गतेदेखि ती जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न/नगराउन भनेको छ ।  

सो क्षेत्रको जग्गा रोक्काका लागि प्रशासनले जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरिसकेको आयोजनाका उपनिर्देशक प्रखाछेँले बताए । प्राप्ति गरिने जग्गाको कित्ता नम्बर कित्ताकाट भएको वा उक्त कित्ताको जग्गाधनीको नाम फरक पर्न गएमा आफूसँग भएको जग्गाको प्रमाण पेस गरेको खण्डमा सोही बमोजिमको कित्ता जग्गा यकिन हुने प्रशासनले जनाएको छ।  

आयोजनाका लागि जग्गा रोक्का गरिएसँगै प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मूल्यांकन समितिले जग्गा अधिग्रहणका लागि मूल्यांकन गर्ने, मूल्य निर्धारण गर्ने र मुआव्जा वितरणको काम गर्ने छ। आयोजनाबाट प्रभावित हुने ओखलढुंगाको चिसंखुगढी गाउँपालिका र सोलुखुम्बुभित्रका जग्गा प्राप्तिको काम पनि क्रमशः हुने जनाइएको छ ।  

यो आयोजनाको बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ वर्गमिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ वर्गमिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घरधुरी डुवानमा पर्ने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा उल्लेख छ।  

पूर्णप्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरूपमा डुवानमा पर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाका लागि ड्याम बनाउदा दूधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय सिर्जना हुने प्रतिवेदनमा भनिएको छ । इआइए प्रतिवेदनमा तीन जिल्लाका १ हजार १५० घर धुरी डुवानमा पर्ने उल्लेख भए पनि आयोजनाबाट २४–२५ सय घरधुरी प्रभावित हुने देखिएको आयोजनाले जनाएको छ।  

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने योजना छ। भ्याटसहित करिब २.२ बिलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ । सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाका रूपमा पहिचान गरेको तथा २०१३ सालमा जाइकाले नै दोस्रोपटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ। 

प्रकाशित: २५ असार २०७८ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App