२४ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

विदेशबाट फर्किएका युवा लागे फलफूल खेतीमा

वैदेशिक रोजगारीका सिलसिलामा प्रवासमा बसेर घर फर्किएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका युवाले फलफूल खेती सुरु गरेका छन्। रोजगारीका सिलसिलामा १०/१२ वर्षसम्म विदेशमा बसेर फर्किएका स्थानीय मवेन्द्र राई र केसीराज राईले कागती, लिची, आँप र रुख कटहरको खेती लगाएका हुन्।

मलेसियामा दशकसम्म दुःख गरेर फर्किएका राईद्वयले कतिपय बाँझो जग्गा र कतिपय खेतीपाती हुँदै आएको खेत र बारीमा फलफूलका विरुवा लगाएका हुन्।  

डिभिजन वन कार्यालय खोटाङले निःशुल्क बेर्ना उपलव्ध गराएपछि मवेन्द्रले जेठो दाजु प्रताप, माईली भाउजु भगवती राईसँग मिलेर तीन वर्षदेखि बाँझिएको करिब १७ रोपनी बारीमा कागतीका विरुवा लगाएका छन्। केसीराजले भने धान रोपाई हुँदै आएको खेतमै कागती लगाएका छन्। फलफूल खेतीबाट आफूले आम्दानी गर्ने र अरुलाई पनि आम्दानीका लागि फलफूल खेतीतर्फ आकर्षित गर्नका लागि खेती सुरु गरिएको केसीराजले बताए।  

डिभिजन वन कार्यालयले गाउँका सबै ३५ घर परिवारलाई फलफूलका बेर्ना उपलव्ध गराएको छ। त्यसमध्ये मवेन्द्र र केसीराजले भने व्यवसायिक रुपमै फलफूल खेती लगाएका हुन्। भौगोलिक हिसावले च्यास्मीटार दाल्फु कागती, लिची, आँप, रुखकटहरका लागि उपयुक्त मानिन्छ। यद्यपि, सो क्षेत्रका किसान हालसम्म व्यवसायिक रुपमा फलफूल खेती गर्न अघि सरेका छैनन्। व्यवसायिक रुपमा फलफूल खेती गर्न सके सो स्थानमा बसोबास गरिरहेका स्थानीयको आर्थिक स्तर उकास्न सकिने सम्भावना रहेको स्थानीय खबीराज राईले बताए।

चालू आर्थिक वर्ष वडा कार्यालयले समेत इच्छुक किसानलाई फलफूलको बेर्ना उपलव्ध गराउने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: २४ असार २०७८ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App