१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘खोप लगाएर व्यवसाय खोल्न देउ’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डे र सिटी रेवान पोखराका अध्यक्ष दीपकप्रसाद तिमिल्सिना । तस्बिर : सन्देश श्रेष्ठ/नागरिक

पर्यटनसँग सम्बद्ध यहाँका दुई संस्थाले कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बद्ध पृथ्वी होटल व्यवसायी समिति र सिटी रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (सिटी रेवान), पोखराले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै कोरोना विरुद्धको खोपको माग गरेका हुन् ।  

कोरोनाका कारण लगाइएको लकडाउन तथा निषेधाज्ञाले पर्यटनसँग सम्बद्ध होटल तथा रेष्टुरेण्ट थला परेकाले यसको पुर्नरुत्थान गर्ने एउटा मात्र विकल्प कोरोना विरुद्ध खोप भएको उनीहरुको भनाई छ । ‘कोरोनाबाट बच्दै पर्यटन व्यवसाय सञ्चालन गर्ने एउटै उपाय भनेको खोप हो, यो बिना व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन, त्यसैले हामीलाई प्राथमिकतामा राखेर खोपको ब्यबस्था गरियोस,’ज्ञापनपत्रमा भनिएको छ ।

पृथ्वी होटल व्यवसायी समिति र सिटी रेवान पोखराले सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम गरेर व्यवसाय सञ्चालन गर्न दिनपनि माग गरेको छ । उनीहरुले असार २५ गते सम्ममा कर चुक्ता गर्न दिएको समयसीमा एकदमै न्यून भएको भन्दै त्यसलाई तीनमहिना लम्ब्याउन आग्रह गरेका छन् । त्यस्तै, सरकारी भवनमा सरकारले भाडामा ५० प्रतिशत छुट दिएकाले नीजि क्षेत्रसँग सम्बद्ध व्यवसायीहरुलाई पनि सोहि बमोजिम छुट गर्न गराउन समन्वय गरिदिन आग्रह गरेका छन् । संस्थाहरुले बैंकको कर्जा भुक्तानीको समयावधी थप गर्न तथा व्यवसायीहरुले तिर्ने घरबहाल कर छुट गर्न र बैंकको ब्याज तथा अन्य करहरुमा समेत सहुलियत प्रदान गर्न माग गरेका छन् । 

उनीहरुले विद्युत महशुल डिमान्ड शुल्कमा दिइएको छुट सकारात्मक भएपनि घरबेटीकै मिटर बक्सबाट विद्युत उपभोग गर्ने व्यवसायीले छुट नपाएकाले त्यस्ताको पहिचान गरि छुट दिनुका साथै पानीको महशुल कम्तिमा एकवर्षसम्मको र टेलिफोन र इन्टरनेटलगायतका महशुलमा समेत विशेष सहुलियत व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

संस्थाहरुले घरभाडा वृद्धि दुईवर्ष पछि मात्र गर्ने व्यवस्था मिलाउन, व्यवसायीहरुले लिएको बैंक कर्जाको ब्याज र किस्ता तिर्ने समयअवधी यसअघी तोकिएको भन्दा दुईवर्ष बढाउन र ब्याजमा सहुलियत प्रदान गर्न, लकडाउन र निषेधाज्ञाको समयमा तिर्नुपर्ने बैंक ब्याज सावाँमा गाभेर पछि तिर्ने व्यवस्था मिलाउन, जीवन रक्षा कोषमार्फत कर्जा लिँदा व्यवसायको सम्पत्ति देखाएर ऋण लिन पाउने व्यवस्था गर्न माग गरेका छन् ।

व्यवसायीहरुले सरकारले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिने घोषणा गरेकाले त्यसलाई यथाशिघ्र लागु गर्न आग्रह गरेका छन् । उनीहरुले राज्यले जहिलेपनि पोखराको पर्यटन क्षेत्रमा फेवाताल किनार र लेकसाइडलाई मात्रै प्राथमिकतामा राखेकोप्रति असन्तुष्टी जनाउँदै आगामी कार्यक्रम तथा निर्णयहरुमा पोखराका पर्यटनसँग सम्बद्ध सबै व्यवसाय संघ–संस्थाहरुलाई समावेश गराउन माग गरेका छन् ।

दुई संस्थाको प्रतिनिधित्व गरेर गएका पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डे र सिटी रेवान पोखराका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ११ बुँदे ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले यथाशीघ्र खोपको व्यवस्था गर्न प्रदेश सरकार लागिरहेको बताए । तर खोप ल्याउने अधिकार प्रदेशमा नभई संघ सरकारमा भएकाले कठिन भएको उनको भनाई थियो । यद्दपी संघ सरकारले बाधा अवरोध फुकुवा गरिदिए प्रदेश आफैले खोप ल्याउन सक्ने भन्दै खोप दिनका लागि केही देशहरु तयार समेत भएको उनले बताए ।

प्रकाशित: २४ असार २०७८ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App