२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खोप र राहत नपाए सरकारलाई तालाचाँबी बुझाउँछौः पोखरेली पर्यटन व्यवसायी

खोप नपाएसम्म व्यवसाय खुल्दैन

पर्यटन क्षेत्रको अवस्थाबारे विहीबार जानकारी दिँदै पोखराका पर्यटन व्यवसायी । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाईरस संक्रमणको दुईवटा लहरको मार खेपिसकेका पर्यटन व्यवसायीले खोपमा प्राथमिकता नपाउने र पर्यटन क्षेत्र लक्षित राहत कार्यक्रम नल्याउने हो भने आन्दोलन गर्ने चेतावनि दिएका छन् । व्यवसाय टिकाउन हम्मेहम्मे परेको भन्दै व्यवसायीले व्यवसायको तालाचाँबी नै सरकारलाई बुझाउनेसम्मको चेतावनि दिएका हुन् ।

कोरोना भाइरस संक्रमणको दुईपटकसम्मको मार खेपेको भन्दै अब पनि सरकारले पर्यटन लक्षित कार्यक्रम नल्याउने र खोपमा प्राथमिकता नदिने हो भने आन्दोलन गर्न बाध्य हुने विहीबार पत्रकार भेटघाट गरेर जानकारी दिए । ‘व्यवसाय टिकाउन सकस भयो । अब पनि सरकारले सहयोग नगर्ने हो भने तालाचाँबी नै लगेर सरकारलाई बुझाउँछौ,’ पत्रकार भेटघाटमा पोखरा पर्यटन परिषद् (पिटिसी) का उपाध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘यत्तिको अप्ठेरो अवस्थासम्म आउँदा पनि सरकारले वास्ता गरेन । अब आन्दोलनको विकल्प छैन । हामी सडकमा टायर बाल्न निस्कने होईन, तर, व्यवसायको तालाचाँबी लगेर बुझाउँछौ ।’

व्यवसायीले सबैभन्दा बढी सकस कोरोनाविरुद्धको खोप नपाउँदा भएको बताए । खोप बिना पर्यटन क्षेत्र चलायमान हुनै नसक्ने भन्दै अग्रपंक्तिमा पर्ने पर्यटन क्षेत्रलाई बेवास्ता गरेको उनीहरुको आरोप छ । ‘न त पर्यटन क्षेत्रमा अग्रपंक्तिमा खटिने मजदुरलाई खोपमा प्राथमिकता दिइएको छ । न व्यवसायी जोगाउने राहतका कार्यक्रम ल्याइएको छ । यस्तो अप्ठेरोमा हामी टिक्न सक्ने अवस्थामा छैनौ,’ श्रेष्ठले भने, ‘ताला बुझाएपछि सरकारले त्यसको जिम्मेवारी लिनुपर्छ ।’

पिटिसीका अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना विरुद्धको खोप बिना पर्यटन व्यवसाय अघि नबढाउने चेतावनि दिए । ‘अब खोप नपाएसम्म पर्यटन व्यवसाय खुल्न सक्दैन । हामी सेवा दिन पनि समर्थन छैनौ,’ उनले भने, ‘खोप बिना पर्यटन सम्भव छैन भन्ने सरकारले बुझेको पनि छ । तर पनि खोपमा प्राथमिकता दिएको छैन ।’ उनका अनुसार कोरोनाका दुईवटा लहरका कारण अहिलेसम्म करिब २५ प्रतिशत व्यवसायी बिस्थापित भईसकेका छन । खोप नपाए बिस्थापित व्यवसायीको संख्या बढेर ५० प्रतिशत हाराहारीमा पुग्ने उनको भनाई थियो । अधिक साना व्यवसायी बिस्थापित भईसकेको उनले बताए ।

‘खोपको विकल्प नै छैन । किनभने कामदार र व्यवसायीले खोप नपाउँदा जोखिम हुन्छ । लकडाउन खुलाए पनि पोखराको पर्यटन क्षेत्रले खोप नपाएको भन्दै पाहुना आउँदैनन,’उनले भने, ‘अग्रपंक्तिमा खटिने कर्मचारीलाई खोपमा प्राथमिकता दिनुपर्छ । अब त खोप लगाएका नागरिक हिडडुल गर्ने अवस्था रहन सक्छ । तर, खोप नपाउँदा पोखराले पाहुना पाउने सम्भावना रहन्न ।’ उनका अनुसार यतिबेला केही आन्तरिक पाहुना पोखरा आउन खोजेपछि खोप नलगाएको भनेपछि उनीहरु हच्केका छन । ‘जबसम्म खोप पाउँदैनौ, तबसम्म पर्यटन खुलाउन सकिन्न,’ उनले भने ।  

अर्का पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पनि खोप लगाएर सुरक्षित भएका गन्तव्यमा मात्र अबका पर्यटक जाने भएकोले पोखरालाई प्राथमिकता दिनुपर्ने बताए । ‘खोप लगाएको ठाउँ मात्र अब आन्तरिक र बाह्य पर्यटनका लागि सुरक्षित हुनेछ, त्यसैले पर्यटन क्षेत्रबाट लाभ पाउने हो भने पोखराको पर्यटनलाई खोपमा प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘नेपाल सुरक्षित हुन खोप अनिवार्य छ । खोप लगाएपछि बल्ल नेपाल अन्तर्राष्ट्रिय पर्यटनमा पनि सुरक्षित गन्तव्य बन्नेछ भने आन्तरिक पर्यटकले पनि सुरक्षित ठान्नेछन ।’ मानवीय आउजाउ नभएसम्म पर्यटन क्षेत्र चलायमान बन्न नसक्ने भएकोले पनि खोप आवश्यक परेको उनले बताए ।  

पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेलले पनि खोप बिना अब पर्यटन धान्न नसकिने बताए । ‘पर्यटन व्यवसाय धान्ने मात्र नभई खोप नपाएसम्म खोल्न पनि सकिन्न,’ उनले भने, ‘पाहुना र कामदार सबै असुरक्षित हुने अवस्थामा पर्यटन क्षेत्र चलायमान बनाउन सकिन्न । अब घुम्न निस्कने पाहुना पनि खोप लगाएका हुनेछन भने उनीहरुले खोप लगाएकै गन्तव्य रुचाउनेछन ।’

व्यवसायीले खोपसँगै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न नसकिने अवस्था रहेको पनि बताए । पर्यटन क्षेत्र सहज नभएसम्म किस्ता र ब्याज तिर्न नसक्ने भन्दै व्यवसायीले बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिदिनुपर्ने र सरकारले लागु गरेको लकडाउन अवधिको बैंकको ब्याज र घरभाडा सरकारले नै बेहोनुपर्ने पनि व्यवसायीले माग राखेका छन । परिषद अध्यक्ष भट्टराईले भने, ‘सरकारले नै हाम्रो व्यवसाय बन्द गराएको हो । त्यसैलै  लकडाउन अवधिको किस्ताको ब्याज र घरभाडा सरकारले व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘पर्यटन शीर्षकमा ऋण लिएका व्यवसायीको व्याज सरकारले बेहोर्नुपर्छ । व्यक्तिगत रुपमा लिएको ऋणको सम्भव हूँदैन ।’  

बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले पनि सरकारले निषेधाज्ञा जारी गरेर व्यवसाय बन्द गराएकोले अब तत्काल केही राहतका कार्यक्रम ल्याउनुपर्ने बताए । ‘खोप नलगाएका व्यक्ति पनि घुम्न निसक्दैनन । त्यसबाहेक खोप नलगाएको ठाउँमा पनि पाहुना जाने छैनन,’ त्रिपाठीले भने, ‘खोपसँगै आर्थिक रुपमा पनि राहतका प्याकेज अनिवार्य छ ।’ पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान गरेको भएपनि त्यो नदेख्दा केही समस्या भएको र अबको अवस्था असहज भएकोले सरकारले केही सहयोग गर्नैपर्ने त्रिपाठीले बताए ।

प्रकाशित: २४ असार २०७८ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App