२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायी भन्छन्ः व्यवसाय टिकाउन सकस भयो

खोप बिना पर्यटन सम्भव छैन

पोखरामा सोमबार बिहान दवावमुलक कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायी । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको चपेटामा परेका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र निकै नै अप्ठेरो अवस्थाबाट गुज्रेको भन्दै सरकारको साथ नपाए व्यवसाय टिकाउन नसकिने बताएका छन् । पर्यटन क्षेत्र अस्तव्यस्त हुन थालेको भन्दै उनीहरुले चिन्ता जनाएका छन् ।  

कोरोनाको पहिलो लहरमा झन्डै ६ महिना बन्द रहेको पर्यटन क्षेत्रले त्यसपछि केही गति लिन थालेको थियो । तर, दोश्रो लहरले पुन संकट निम्त्याएको व्यवसायीको निष्कर्ष छ । सबैभन्दा बढी अप्ठेरो कोरोना विरुद्धको खोप नपाउँदा भएको व्यवसायीको बुझाई छ । पर्यटन क्षेत्र निकै नै अप्ठेरो अवस्थाबाट गुज्रेको  भन्दै व्यवसायीले तत्कालै कोरोना विरुद्धको खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन नसके समग्र पर्यटन क्षेत्र ध्वस्त हुने बताए ।

सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरुको भनाई छ । सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दवाव दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दवावमुलक कार्यक्रम पनि गरेका छन् । स्थानीय प्रशासनलाई दवाव दिनका लागि उनीहरुले प्रशासन अगाडि झन्डै दुई घण्टा प्रदर्शन गरेका थिए । कास्की प्रशासन, गण्डकी प्रदेशका मुख्यमन्त्री र राष्ट्रबैंकको पोखरा कार्यालयमा समेत उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।  

पोखरा पर्यटन परिषद्(पिटिसी)का अध्यक्ष गोपि भट्टराई कोरोनाविरुद्धका खोप पाउनुपर्ने अधिकार भएपनि सरकारले ढिलासुस्ती गर्दा अन्योल थपिँदै गएको बताए । उनका अनुसार कोरोना विरुद्धको खोप नपाएसम्म नेपालमा अब पर्यटनको आश गर्न सक्ने ठाउँ छैन । किनभने विदेशी पर्यटक खोप नलगाएको ठाउँमा घुमघामका लागि आउने छैनन् भने आन्तरिक पाहुना पनि घुमघाममा निस्कन हच्किनेछन् । खोप नलगाएको ठाउँमा घुमघाम असुरक्षित हुने पाहुनाको चिन्ता रहेको उनीहरुको भनाई छ ।

‘विदेशीको त आशै छैन, आन्तरिक पाहुना पनि अब घुम्न निस्कदैनन । किनभने पोखराको पर्यटन क्षेत्र कोरोनाविरुद्धको खोप भन्दा निकै नै पर छ,’ भट्टराईले भने, ‘अहिलेसम्म व्यवसायी वा कामदार कसैले खोप पाएका छैनन् । खोप नलगाएको ठाउँमा पाहु्ना घुमघामका लागि आउने छैनन् ।’ पछिल्लो समय कोरोनाविरुद्धको खोप नै संक्रमणबाट जोगाउने मुख्य हतियार भएको उनले बताए । ‘कोरोना विरुद्धको खोप लगाएका ठाउँमा पर्यटक आउजाउ बढ्नेछ । तर, पोखराले त्यो अवसर अझै आएको छैन,’ उनले भने । पर्यटन क्षेत्रले खोप नपाएसम्म व्यवसाय नखोल्ने पनि उनले बताए ।  

त्यसबाहेक अब आउने मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको कुल लगानीको केही हिस्सा पर्यटन क्षेत्रमा अनिवार्य हुनुपर्ने उनीहरुको माग रहेको छ । त्यस्तै ५ प्रतिशत कर्जा सहुलियतमा पर्यटन व्यवसायीले ऋण पाउनुपर्ने पनि व्यवसायीको भनाई छ । ‘अब ‘एकल अंकमा’ ब्याजदर हुनुपर्छ । त्यो अंक बढीमा ५ प्रतिशत हुनुपर्ने हाम्रो माग हो,’ उनले भने । त्यसबाहेक व्यवसायीले अहिले ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै  ऋणको पुर्नतालिकीकरण गरिदिनुपर्ने उनले बताए ।  

‘पर्यटन क्षेत्र बचाउने हो भने भने सस्तो ब्याजदर र ऋणको पुर्नतालिकीकरण हुनुपर्छ,’ उनले भने, ‘नत्र हामी टिक्न सक्दैनौ । सबै क्षेत्र आक्रान्त हुँदाहुँदै पनि पर्यटन क्षेत्रलाई सरकारले ध्यान दिएको छैन । व्यवसायी मात्र नभई व्यवसायमा निर्भर ठूलो आकारको मजदुर क्षेत्र पनि बचाउनुपर्छ ।’ पर्यटन डुब्दा समग्र अर्थतन्त्रमा असर पर्ने उनले बताए । उनले व्यवसायीको अप्ठेरोबारे जानकार गराउने गरि सरकारलाई नैतिक दवाव दिएको पनि बताए ।  

‘सरकारले भनेरै व्यवसाय बन्द गर्‍यौ, खोल भन्दा खोल्यौ । अब यो भन्दा बढी केही गर्न सकिन्न । किस्ता कहाँबाट पैसा खोजेर तिर्ने ?’ उनले भने, ‘सरकारको नियम कानुन मानेकोले हाम्रो पीडा सरकारले बुझ्नुपर्छ ।’ पर्यटन क्षेत्रको माग पुरा नभएमा थप आन्दोलन गर्न बाध्य हुने उनले बताए । ‘अबको विकल्प भनेको व्यवसायको चाँबी लगेर सरकारलाई बुझाउने हो,’ उनले भने, ‘घाटा बेहोरेर सधैं व्यवसाय टिकाउन सकिन्न । सरकारले कर तिर्न ताकेता गर्ने, तर, राहत दिन आनाकानी गर्न भएन ।’  

अग्रज पर्यटन व्यवासायी गणेशबहादुर भट्टराई पनि पर्यटन व्यवसाय निकै नै अप्ठेरो अवस्थामा ओर्लिएको बताउँछन् । उनका अनुसार कोरोना विरुद्धको खोप नपाउँदा आन्तरिक पर्यटक पनि पोखरा घुम्न आउन डराउने छन् । ‘काठमाडौंको ठूलो जमातले खोप लगाईसकेको छ । काठमाडौंका धेरै व्यवसायीले खोप लगाएका छन । तर, पोखराको पर्यटन व्यवसायीले अहिलेसम्म खोप पाएनन,’ उनले भने, ‘खोप बिना अब पर्यटन सोच्न पनि सकिन्न ।’

उनले पनि पर्यटनमा अब सरकारले वास्ता नगर्ने हो भने लामो समय टिकाउन नसकिने बताए । ‘अब दुईवर्ष त केही गरि किस्ता र ब्याज तिर्न सकिन्न । सरकारले यो बारेमा सोच्न ढिलाई गरेमा पर्यटन क्षेत्र थप धरासायी हुनेछ,’ उनले भने, ‘पर्यटन क्षेत्र जोगाउने वा नजोगाउने भन्ने अब सरकारले सोच्नुपर्छ ।’ 

पर्यटन क्षेत्रलाई खोप र ऋणको किस्ता र ब्याजदरमा केही राहत दिने हो भने व्यवसायी जोगिने उनले बताए । ‘बाहिरबाट हेर्दा पर्यटन व्यवसायीलाई मात्र मार परेको देखिन्छ । तर, पर्यटन क्षेत्रको सञ्जाल विशाल छ । पर्यटन ठप्प हुँदा यसको चेन नै खतम हुन्छ । पर्यटनको चेन खेतबारीमा काम गर्ने किसानसम्म जोडिएको हुन्छ,’ उनले भने ।

पर्यटन बोर्डका पुर्व सदस्य टिकाराम सापकोटा अहिलेको अवस्थाले पर्यटन व्यवसायी र मजदुर दुखी भएको बताउँछन् । ‘पर्यटन क्षेत्रमै पनि सेवाप्रदायक र सेवाग्राहीबीच कोरोना विरुद्धको खोपको खोजि हुनेछ । त्यसैले पर्यटनलाई कमजोर मान्नु हुँदैन,’ सापकोटाले भने,‘खोपकै कारण यूरोपियन मुलुकमा केही राहत मिलेको छ । हामीले पनि खोप पायौं भने केही राहतको सास फेर्न सकिन्छ । नत्र अवस्था अझै दयनीय हुँदै जानेछ ।’

उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी निजी क्षेत्रको आवाज अहिले सरकारले नसुन्दा सबैतिर अप्ठेरो परेको बताउँछन् । उनले पर्यटन क्षेत्रले अझै आवाज बुलन्द पार्नुपर्ने पनि बताए । ‘यस्तै अवस्था रहेमा पर्यटन क्षेत्रले आगामि दिनमा अझै अप्ठेरो भोग्नुपर्ने अवस्था आउनेछ,’ मुल्मीले भने, ‘पर्यटन क्षेत्रका माग धेरै भएपनि पुरा हुन सकेनन् । अपेक्षा अनुसार सरकारले पर्यटन क्षेत्रमा सघाएको देखिन्न ।’

प्रकाशित: २१ असार २०७८ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App