२४ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

पदयात्रा मजदुरलाई नगद राहत

पदयात्रा मजदुरलाई राहत रकम वितरण गर्दै टानका पदधिकारी । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणका दुईवटा लहरका कारण पर्यटन क्षेत्र आक्रान्त छ । पर्यटन व्यवसायीसँगै आश्रित महजुर झनै बढी मर्कामा परेका छन् । एकवर्ष भन्दा बढी समयदेखि कामविहीन हुनुपर्दा मजदुरलाई हातमुख जोर्न पनि समस्या हुन थालेको व्यवसायीले बताएका छन । मजदुरहरु पनि काम नपाउँदा अवस्था दयनीय हुँदै गएको बताउँछन् ।  

लामो समय काम नपाएका मजदुरलाई केही सहयोग होस भने पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले नगद राहत वितरण गरेको छ । टानका अध्यक्ष सुशीलराज पौडेलका अनुसार पर्यटकीय सिजनमा पर्यटकको गाह्रौं झोला बोकेर उच्च हिमाली भेगसम्म उक्लेर जिविका चलाएका मजदुर अहिले काम नपाउँदा मारमा परेकोले उनीहरुलाई सहयोग गरिएको हो ।  

पौडेलका अनुसार अति विपन्न ७७ जना पदयात्रा मजदुरलाई विहीबार जनही पाँचहजार रुपैयाँका दरले राहत वितरण गरिएको थियो । ‘पर्यटनको शुन्य गतिविधिले काम नपाउँदा मजदुरले आम्दानी गुमाएका थिए । अहिलेको निषेधाज्ञाको बेला घरबाहिर निस्कन जोखिम हुँदा विकल्पमा अरु पनि काम गर्न पाएनन,’ पौडेलले भने, ‘सबैतिरबाट अप्ठेरोमा परेका मजदुरलाई आर्थिक सहयोग गरिएको हो ।’  

टानले यसअघि मजदुरलाई राहत स्वरुप खाद्यान्न नै उपलब्ध गराउँदै आएको भएपनि यो पटक भने नगद नै सहयोग गरेको उनले बताए । ‘मिठोमसिनो खाएर जसोतसो गुजारा चलाएका होलान, तर, साथमा पैसा नहुँदा छोराछोरीको पठनपाठन, लत्ताकपडा, औषधिमुलो गर्न पनि सकस भएको थाहा पायौं,’ उनले भने, ‘त्यही भएर नगद नै सहयोग गरेका हौ ।’  

टान पोखराको आयोजनामा टान केन्द्रीय अध्यक्ष खुमबहादुर सुवेदीको समन्वय र हङकङ स्थित मिक्स एन्ड म्याच कम्युनिटीका अध्यक्ष दिननाथ बगालेको आर्थिक सहयोगमा यो राहत वितरण वितरण गरिएको उनले बताए । ‘विभिन्न जिल्लाबाट आएर पोखरा क्षेत्रलाई कर्मथलो बनाई परिवारको साथ घरभाडामा बसिरहेका पदयात्रा मजदुरहरुको लागि यो तत्कालको अत्यावश्यक राहत मात्र हो,’ उनले भने । पदयात्रा पर्यटनले गति लिएर लयमा नफर्कदासम्मको लागि श्रमिकहरुका लागि अल्पकालिन र दीर्घकालिन रोजगार सिर्जनाका कार्यक्रम ल्याएर यथाशिघ्र कार्यान्वयन गराउनुपर्ने अध्यक्ष पौडेलले बताए । 

प्रकाशित: १७ असार २०७८ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App