१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शुक्रबारदेखि लामो दुरीका गाडी चलाउने चेतावनी

फाइल तस्बिर

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँछन्। ‘बजारलगायत सबै क्षेत्र खुलिसक्यो। तर सार्वजनिक यातायात मात्रै रोकेर हुँदैन,’ उनले भने, ‘असार १८ गतेदेखि सडकमा उत्रिन्छौं। सरकारले जे गर्न मन लाग्छ गर्छ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै यातायात मजदुर संगठनले गत असार १४ गते नै संयुक्त विज्ञप्ति जारी गरेर आगामी असार १८ गते अर्थात शुक्रबारसम्म देशभरका सम्पूर्ण सार्वजनिक यातायातका साधन आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने चेतावनी दिएका छन्।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत असार १४ गते गरेको २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोरबिजोरका आधारमा चल्न दिने गरी गरेको अव्यवहारिक निर्णय सच्याउन माग गर्दै आइरहेको बताए। ‘तीनवटै जिल्लाका सिडियो सापले अव्यवहारिक निर्णय गर्नुभएको छ। त्यसैले तत्कालै सच्याउनुको विकल्प छैन,’ उनले भने, ‘निर्णय नसच्याए यही असार १८ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक सवारीका साधन सञ्चालन गरिने हाम्रो साझा धारणा सिडिओ सापलाई जानकारी गराइसकेका छौं।’  

अध्यक्ष राईले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघको तर्फबाट बारम्बार ध्यानाकर्षण गराउँदै आइरहेको बताए। ‘हाम्रा साझा विषयहरू स्वाभाविक भएको प्रशासनले स्वीकारेको छ। स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै सम्पूर्ण सार्वजनिक सवारी साधन (छोटो, मध्यम, लामो दुरी र स्थानीय दुरीका) सञ्चालन विधि र स्वास्थ्य मापदण्ड निर्माण र कार्यान्वयनका लागि १७ गते सरोकारवाला सहितको बैठक तय भएको छ,’ उनले भने, ‘लामो बन्दाबन्दीपछि क्रमशः निषेधाज्ञा खुकुलो हुँदै गएको छ। व्यापार, व्यवसाय र बजार क्रमशः खुल्दै गएको छ। १७ गतेदेखि आन्तरिक हवाई यातायात सञ्चालन हुँदैछ। त्यसैले अर्थतन्त्रलाई चलायमान गराउन पनि निषेधाज्ञा खोलेर सार्वजनिक सवारी साधन चलाउनुको विकल्प छैन।’  

यातायात व्यवसायीले निषेधाज्ञा खुलाएसँगै यातायात मजदुरलाई प्रथामिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा समेत प्रथामिकतामा राख्न सरकारसँग अनुरोध गरेका छन्। ‘कोभिड–१९ को उच्च जोखिममा यातायात मजदुर छन्,’ अध्यक्ष राईले भने, ‘सरकारले यातायात मजदुरलाई प्रथामिकतामा राखेर खोप लगाउन आवश्यक भइसक्यो।’  

यातायात व्यवसायीले अर्थतन्त्रलाई गतिशील बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने सार्वजनिक यातायात समेत पूर्ण सञ्चालन गर्न माग गरेका छन्। यातायात व्यवसायीले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर कायम गर्न समेत माग गरेका छन्। कोरोनाबाट ज्यान गुमाएका श्रमिक परिवारलाई राहत र संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ भन्ने माग सहितको आन्दोलन जारी नै रहने महासंघले जनायो।

प्रकाशित: १७ असार २०७८ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App